बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – सरकार र नेपाल चिकित्सक संघबीच भएको सहमतिप्रति विरोध जनाउँदै आएका एघार चिकित्सक संगठनले आन्दोलन जारी राख्ने निर्णय गरेका छन् ।

सरकार र संघबीच भएको चार बुँदे सम्झौता प्रतिगामी भएको भन्दै उनीहरुले विरोधस्वरुप आजबाट कालोपट्टी बाँधेर हेल्मेट लगाई सेवा दिने बताएका छन् । सरकारी चिकित्सक संघ गोदान, डक्टर्स सोसाइटी अफ नेपाल लगायत ११ वटा चिकित्सक संगठनले जारी गरेको संयुक्त विज्ञप्तिमा माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने उल्लेख छ ।

उनीहरुले चिकित्सकमाथि हातपात दुव्र्यवहार गर्नेरगराउनेलाई गैर जमानती जेल अर्थात् जेल विथआउट बेल को स्पष्ट मर्म नसमेटिएको, चिकित्सकले पाउने पारिश्रमिक र सुविधा स्पष्ट खाका बिना सम्झौता गरिएको भन्दै आन्दोलन जारी राख्ने निर्णय गरेका हुन् ।

चिकित्सकको निवृत्ति उमेर ६५ वर्ष पुर्‍याउने निर्णय खारेज गरिनुपर्ने, चिकित्सक संघसँग भएका सम्झौता पालनाको क्रममा गठन हुने हरेक समितिमा सरकारी र गैरसरकारी चिकित्सकबाट एकरएक प्रतिनिधि अनिवार्य संलग्न गराउनुपर्ने उनीहरुको माग छ ।

सम्झौता कार्यान्वयनका लागि आवश्यक ऐन आगामी संसदबाट पास हुने व्यवस्था मिलाउन पनि उनीहरुले आग्रह गरेका छन् । माग पुरा नभए कडा आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया