बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

अछाम – सांसद जानकी साउद रावलले दुर्गम गाउँका लागि नयाँ एम्बुलेन्स खरिद गर्नुभएको छ ।

रामारोशन गाउँपालिकास्थित भटाकाँटिया स्वास्थ्य चौकीका लागि एम्बुलेन्स खरिद गरिएको सांसद रावलले जानकारी दिनुभयो । अछामका दुर्गम ठाउँका बिरामीलाई स्वास्थ्य संस्थाले अन्यत्र उपचारका लागि सिफारिस गर्दा उपचार गर्न डोको तथा बोकेर लानुपर्ने समस्या समाधान होस् भन्ने उद्देश्यले एम्बुलेन्स ल्याइएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक वर्ष २०७३-७४ मा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत एम्बुलेन्स खरिद गरिएको हो, एम्बुलेन्स अछाम पुगिसकेको छ अब केही दिनमै एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने छ ।’ उहाँले आर्थिक वर्ष २०७१-७२ मा सांसद विकास कोषबाट स्वास्थ्य चौकी विनायकलाई एम्बुलेन्स उपलब्ध गराउनुभएको हो ।

अछामको पूर्वी क्षेत्रमा एम्बुलेन्स सेवा शुरु भएपछि त्यहाँका बिरामीले जिल्ला अस्पताल अछाम, बयालपाटा अस्पताल, धनगढी, सुर्खेत, नेपालगञ्ज, काठमाडौँ र भारतसम्म सजिलै जान पाएका छन् ।

अछाममा सबैभन्दा बढी महिलाले स्वास्थ्य समस्या भोग्नुपरेकाले सुत्केरी हुन नसकेर उपचारका लागि अन्यत्र सिफारिस भएका महिला तथा आपत्कालीन समस्यामा परेका जनतालाई एम्बुलेन्सबाट धेरै राहत पुग्नेछ । रामारोशन सांसद रावलको जन्म गाउँसमेत हो ।

तपाईको प्रतिक्रिया