शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – पहिचान हुन नसकेको रोगका कारण झापाको कनकाई नगरपालिका ४ टेक्रामा दुई जनाको मृत्यु भएको छ ।

अन्य ७ जना सिकिस्त बिरामी परेको कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा टेक्रास्थित मुसहर बस्तीका २४ वर्षीय बसन्ती ऋषिदेव र २३ वर्षीय नारायण ऋषिदेव रहेका छन् । नगर प्रमुख पोखरेलका अनुसार बसन्तीको गएराति तथा नारायणको सप्तमीको राती मृत्यु भएको हो ।

उनीहरु दुवैलाई टाउको दुख्ने, ज्वरो आउने, हातखुट्टा लुलिने र रगतसहितको वान्ता भएको थियो । ४ दिनमा दुई जनाको मृत्यु भएको तथा अन्य गाउँले बिरामी हुँदा मुसहर बस्ती त्रसित बनेको छ । उनीहरुलाई घरमै धामी झाक्री लगाई झारफुक गरिएको थियो । रोग फैलिएकोबारे थाहा पाएपछि आज नगरपालिकाका प्रमुख पोखरेलसहितको स्थानीयको टोलीले बिरामी सबैलाई उपचारका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल लगिएको छ ।

रोग लाग्ना साथ उपचार नपाएकाले बिरामी सबैको अवस्था गम्भीर बनेको नगर प्रमुख पोखरेलले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयका महामरी रोगका फोकल पर्सन कुलबहादुर पौडेलले रोग फैलिएकोबारे जानकारी लिने काम भइरहेको बताउनुभयो । उहाँले बिरामीहरुमा देखिएको लक्षणका आधारमा तत्कालै यही रोग लागेको हो भनेर यकिन गर्न नसकिएको बताउनुभयो ।

घटनाबारे अनुसन्धानका लागि तत्काललाई कनकाई प्राथमिक स्वास्थ्य केन्द्रका अहेब इन्द्र भट्टराई र नगरपालिकाका हेल्थ असिष्टेण्ड राजिव विष्टलाई खटाइएको जानकारी दिनुभयो । आफूहरुसहितको स्वास्थ्य टोली भोलि घटनास्थलमा पुग्ने पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया