मंगलबार, चैत्र ०६, २०८०
Tuesday, March 19, 2024

सुर्खेत – दुई वर्षभित्रमा हुम्लाको सदरमुकाम सिमिकोट सडक सञ्जालमा जोडिने भएको छ ।

कालिकोटबाट हुम्लाको सिमिकोट जोड्ने सडक निर्माणको काम तीब्र गतिमा भइरहेकोले आउँदो दुई वर्षभित्र सडक संजालमा जोडिने भएको हो । कर्णाली करिडोर अन्तर्गत अहिले सडक निर्माणको काम भैइरहेको छ ।

कर्णाली करिडोर निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ । सेनाले खनिरहेको सडकको स्थलगत निरीक्षण गरेपछि रक्षामन्त्री भीमसेनदास प्रधानले कर्णाली करिडोरको जिरो प्वाइन्टमा पक्की पुल नबन्दा सडक निर्माणमा केही ढिलाई भएको बताउनुभयो ।

आगामी दुई वर्षभित्रमा हुम्ला सदरमुकाम सिमिकोटमा सडक पुग्ने बताउदै उहाँले कर्णाली राजमार्ग र कर्णाली करिडोर जोड्ने ठाउँमा पक्कि पुल नबन्दा निर्माणमा ढिलाई भएको जानकारी दिनुभयो । अबको दुई महिनामा करिडोरको ४३ किलोमिटर सडक निर्माण हुने उहाँले बताउनुभयो ।

पुलको कारणले सडक बन्न ढिला भएको भन्दै पुल बनाउने जिम्मा पनि सेनालाई दिनुपर्ने स्थानीयले माग गरेका छन् । चार वर्ष अघि नै सडक विभागले ठेकेदारलाई पुल निर्माणको जिम्मा दिएपनि अहिलेसम्म पुल बन्न सकेको छैन । कर्णाली करिडोर निर्माणपछि कैलालीको जमुनाहबाट तिब्बतको मानसरोवरसम्म सडक संजाल पुग्नेछ ।

यो सडक ५ सय किलोमिटरको लामो रहेको छ । राष्ट्रिय गौरवको यो आयोजनाको सेनाले जिम्मा लिएको १ सय ९६ किलोमिटिर सडकमध्ये १ सय ४५ किलिमिटर सडकमा सेनाले तिव्रगतिमा काम गरिरहेको रक्षामन्त्री प्रधानले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया