शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो – बृद्धहरुको संख्यामा तिब्र बृद्धि भैरहेको जापानमा ९० बर्ष भन्दा बढि उमेर भएका बृद्धहरुको संख्याले कीर्तिमानी कायम गरेको छ । सो संख्या पहिलो पटक २० लाख नाघेको जापान टुडेले जनाएको छ । त्यसैगरी ६५ बर्ष माथिकाको संख्याले पनि कीर्तिमानी कायम गर्दै ७७ लाख पुगेको हालै सरकारद्वारा सार्बजनिक तथ्यांकमा उल्लेख गरिएको छ ।

गत सोमबार ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा सो तथ्याङ्क सार्बजनिक गरिएको हो । सन् १९८० मा ९० बर्ष माथिको जनसंख्या १ लाख २० हजार भएकोमा सन् २००४ मा सो संख्या १० लाख २० हजार पुगेको थियो । करिब १३ बर्षको अन्तरालमा सो संख्या दोब्बर भई २० लाख ६० हजार पुगेको छ । जुन अघिल्लो बर्षको तुलनामा पनि १ लाख ४० हजार बढि रहेको तथ्यांकबाट थाहा लागेको छ । यसरी हेर्दा जापानमा बृद्धहरुको संख्या तिब्र रुपमा बृद्धि भईरहेको स्पष्ट हुन्छ ।

यसैगरी, ६५ बर्ष माथिकाको संख्या अघिल्लो बर्षको तुलनामा ३ लाख ८० हजारले बृद्धि भई ७७ लाख पुगेको छ । जसमध्ये ११ दशमलव ९ प्रतिशतले अझैपनि काम गरिरहेका छन भने ३० लाख भन्दा बढि पार्टटाइम काम गरिरहेको आन्तरिक मामिला तथा सुचना मन्त्रालयले जनाएको छ । बृद्धहरुलाई दिईने पेन्सन लगायतका सामाजिक सुरक्षाको खर्चमा बृद्धि हुंदा त्यसको स्रोत जुटाउन जापान सरकारलाई कठिन परेको र त्यसको लागि कर बृद्धि गर्नुका साथै करको क्षेत्रमा कडाई गरिएको बिश्लेषकहरुको भनाई रहेको छ । पछिल्लो समयमा बृद्धहरुलाई काम दिने कम्पनीहरुलाई सरकारले पनि अनुदान तथा अन्य सुबिधा दिने नीति लिएको छ । बृद्धहरुको संख्या जापानको जनसंख्याको २७ दशमलव २७ प्रतिशत रहेको छ । बिकसित राष्ट्रहरुमै जापानको सो संख्या सबैभन्दा बढि हो । उक्त संख्या इटालीको २३ र जर्मनीको २१ दशमलव ५ प्रतिशत रहेको छ ।***

तपाईको प्रतिक्रिया