बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं – विश्व क्रिकेट लिग च्याम्पियनसिप डब्लुसीएलको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो अभ्यास खेलमा समेत जित निकालेको छ ।

नियमित कप्तान पारस खड्काबिनै मैदान उत्रिएको नेपालले चेन्नईको तमिलनाडु ए टोलीलाई १ सय ४७ रनले पराजित गरेको हो । ३ सय १२ रनको लक्ष्य पछ्याएको तमिलनाडु ए टोली ४५ दशमलव ३ ओभरमा १ सय ६४ रनमा समेटियो ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ११ रन बनाएको थियो । शरद भेषावकरको शतकीय इनिङ्सको मदतले नेपालले सो स्कोर खडा गरेको हो । शरदले दोस्रो विकेटका लागि सागर पुनसंग १ सय ४७ रनको साझेदारी गरेका थिए ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रिएको नेपालका लागि सागर पुनले ७७ र दिपेन्द्र सिंह ऐरीले ७३ रन बनाए । कप्तान मल्ल ३१ रनमा आउट भए । बिनोद भण्डारी ७ रनमा पवोलियन फर्किदा सोमपाल कामी १० रनमा नटआउट रहे । डब्लुसीएल अन्र्तगत हङकङविरुद्धको खेलको तयारीका लागि भारतमा रहेको नेपालले यसअघिका दुई अभ्यास खेलमा फराकिलो अन्तरको जित निकालेको थियो ।

नेपालले असोज २७ र २९ गते हङकङसंग उसकै घरेलु मैदानमा डब्लुसीएलको दुई म्याच खेल्दैछ ।

तपाईको प्रतिक्रिया