शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

नुवाकोट – नुवाकोटमा मा गर्ने श्रमिकको पारिश्रमिक १४ प्रतिशतले बढेको छ ।

निर्माण सामग्री ढुवानी, मेसिन तथा उपकरणको भाडा र कामदारको ज्यालादर निर्धारण समितिले श्रमिकको श्रेणी विभाजन गरी यसअघि कायम पारिश्रमिक शुल्कमा १४ प्रतिशतले बढाउने निर्णय गरेको हो ।

दैनिक पारिश्रमिक लिएर काम गर्ने सबैको शुल्क १४ प्रतिशतले बढाउने  निर्णय अनुसार नयाँ शुल्क निर्धारण गरी कार्यान्वयनमा ल्याएको समितिले जनाएको छ ।
दक्ष कामदारको आठ घण्टाको परिश्रमिक एक हजार ८० रुपैयाँ निर्धारण गरिएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले बताउनुभयो ।

निर्माण पक्षसँग सम्बन्धित अन्य श्रेणीका दक्ष कामदारको पारिश्रमिक बढएर आठ घण्टाको आठ सय ५० निर्धारण गरिएको छ । वर्गिकरण गरिएको ज्यामी, डकर्मी, सिकर्मी, अपरेटरलगायतका श्रमिकको पारिश्रमिक यसअघि आठ सय १५ रहेको थियो ।

समितिले अर्धदक्ष कामदारको आठ घण्टाको छ सय ६० रुपैयाँ निर्धारण गरेको छ । अर्धदक्ष कामदारलाई छ सय र हलुका श्रेणीमा सूचीकृत ज्यालादारी श्रमिकको ज्यालादर चार सय ६० निर्धारण गरिएको समितिका अध्यक्ष एवं प्रजिअ बरालले जानकारी दिनुभयो ।

समितिले सडकमा काम गर्ने ‘लेन्थ वर्कर’को ज्यालादर चार सय ३० रुपैयाँ, निर्माण सुपरभाइजरको  पाँच सय ३० रुपैयाँ, लाइट सवारी चालकको छ सय र सहयोगी कार्यकर्ताको चार सय ९५ निर्धारण गरिएको छ ।

समितिले निर्माण सामग्रीको मूल्य दर भने अहिले कायम रहेको शुल्क यथावत रहने निर्णय गरेको छ । निर्माण सामग्री खरिद, सामानको ढुवानी, फलाम तथा काठको पोल, भू–संरक्षणसम्बन्धी काम, बोटबिरुवा, काठ–दाउरा, इँटालगायतको मूल्य यथावत गरेको समितिले जनाएको छ ।

निर्माण सामग्रीको ढुवानी, मेसिन तथा उपकरणको भाडा र कामदारको ज्यालादर दर निर्धारणका लागि समितिले प्राविधिक कार्यालयका इञ्जिनियर उषेश श्रेष्ठ संयोजक कार्यदल बनाएको थियो ।

तीन महिनाको अध्ययन र नेपाल राष्ट्र बैंकबाट प्रकाशित राष्ट्रिय मूल्य सूची दरको विश्लेषणका आधारमा कार्यदलले प्रस्ताव गरेको शुल्क निर्धारणलाई सदर गरी कार्यान्वयनमा ल्याएको हो ।

तपाईको प्रतिक्रिया