शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

हा…हो… राजाको वारी, फलफूलैको घारी, पाकेको म्याओ–म्याओ 
करापुटारको मेला, हितैको मायासँग भेटभएको बेला
फलाम खायो खैले, बोलाउँ भनि के भनुँ र मेसै पाईन मैले
हा…हो… मदानीलाई तानी, भनि हाल्यो त्यै मुखैले मयाँ लाउँछु भनि, साँच्चै हो कि क्याहो क्याहो । 

अग्लो नाक, ख्याउटे अनुहार अनि तेजिलो आँखा । सुकिलो सेतो कास अनि कम्मरमा चाक्लो पल्टने पेटी । शिरमा ढाकाटोपी कहिल्यै नटु्टने न त शरीरमा इस्टकोट । मैले हरेक पटक जहाँजहाँ देखें यही गेटअपमा देखें । न्वारानको नाम दीर्घराज अधिकारी । यो पंक्तिकारलाई पनि धेरैपछि थाहा भयो – गाउँमा उनलाई सबैले भेडीखर्के साहिंला भन्थे । भेडीखर्के साँहिला उनको सबैले चिन्ने प्यारो नाम । लमजुङ्गे ठाडो भाका (दुरा भाका पनि भन्ने गरिन्छ) का मृत्युपश्चात जन शिरोमणि घोषित उनै साहिंला आज हाम्रो सामु रहेनन् ।

वि.सं. १९९० मा लम्जुङको तुर्लुङकोटमा बाबा बलभन्द्र अधिकारी र आमा नन्दकुमारी अधिकारीको कोखबाट जन्मिएका भेडीखर्केको ८४ वर्षको उमेरमा लमजुङको सुन्दरबजारमा हालै स्वर्गारोहण भएको छ । उनको निधनसँगै नेपाली लोक संगीतको एक नक्षत्र अस्ताएको छ । लमजुङको करापुटारमा लाग्ने शिवरात्री मेलामा कैयौं रात छर्लङ हुनेगरी ठाडो भाका गाएको किस्सा हामी सानै छँदा सुन्थ्यौं । गाउँमा घाटु, नाचको ‘खोइ’ (घाटु तथा नाचको भोज) खाँदा, आजापूजा, विवाहव्रत हरेक किसिमको रमझममा भेडीखर्के झुल्किहाल्थे । गाउँमा हुने हरेक रमरसीमा भेडीखर्के साहिंलाको ठाडो भाका खाल नजमेको विरलै पाइन्थ्यो । १०–१२ वर्षको कलिलो उमेरदेखि नै ठाडो भाका गाउन थालेका भेडीखर्के साहिंलाले जीवनभर नै ठाडो भाका गाएर हिडे । सिंदुरेमा हुँदा उनको बुवाको भेडीगोठ थियो । वाल्यकाल भेडीगोठमा नै विताएका उनी दाजुभाइ मध्ये साहिंला भएकै कारण भेडीखर्के साहिंला भए । लमजुङ ठूलोस्वाँराका देउवहादुर दुरा र पञ्चसुब्बा गुरुङले गाउन शुरु गरेको ठाडो भाकालाई भोडीखर्केले गोडमेल गरे, मलजल गरे अनि हुर्काए–बढाए । बाहुनले गीत गाउन हुँदैन भन्ने संस्कार रहेको तत्कालिन समयमा पनि भेडीखर्केले बाबा–आमाको आँखा कान छलेर गीत गाउँदै हिंडे । ‘कलाकारको जात हुँदैन’, सानैदेखि नाचगान भन्ने वित्तिकै हुरुक्कै हुने भेडीखर्केले प्रमाणित गरेरै छाडे । उनले बाँचुञ्जेल जति गरे दिल फुकाएर ठाडो भाकाकै लागि गरे । तत्कालिन समयमा भेडीखर्के साहिंलासँग गाउनेहरुमा भक्तिमाया दुरा, सुकुन्धरा दुरा, गौमाया दुराहरुको नाम अग्रपंक्तिमा आउँछ ।

देउवहादुर दुरापछि भेडीखर्के साहिंलाले मलजल गरेको ठाडो भाकालाई सम्हाल्न नयाँ पुस्ता तम्सिएका छन् । वुद्धिमान दुरा (धम्पु), हस्तमाया दुरा, नन्दमाया दुरा, उत्तम गुरुङ, शिवकुमारी दुरा, कृष्ण गुरुङ, हरिमाया गुरुङ्ग, यामवहादुर दुरा (देउवहादुर दुराको नाती), सीता दुरा, पदमदेवी दुरा लगायतका नयाँ पुस्ताले अब ठाडो भाकाको जगेर्ना गर्न काँध थापेका छन् ।  ठाडो भाका गाउन अप्ठेरो भएकोले जो कोहीले गाउन सक्दैनन् । त्यसो त यो भाका अन्य गीतहरु झैं धेरै रेकर्डिङ्ग पनि भएको छैन । २०३५ सालतिर रेडियो नेपालमा ठाडो भाका रेकर्ड गराउन गएका थिए भेडीखर्के साहिंला तर उनले अवसर पाएनन् । २०५३ सालमा अल्ट्रा साउण्ड प्रालिले ‘मेराे सेराेफेराे’ एल्वममा भेडीखर्के साहिंला र भक्तिमाया दुराको गीत समेट्यो । त्यसपछि रेडियो अन्नपूर्णका आरजू विष्ट सल्यानीले भेडीखर्केसँग रेकर्ड गराएर ठाडो भाकाको एल्वम निकाले । अति नै शालिन र भद्र शैलीमा गायकले व्यक्त गर्न चाहेको कुरा घुमाउरो शैलीमा गाइने यो भाका आफैमा गहकिलो छ । प्रायः देवीदेवताको नाम पुकारेर शुरु गरिने यस गीतमा झर्रो नेपाली शब्दहरुको सहयोगमा नवरसले भरिपूर्ण भावहरु व्यक्त हुन्छन् ।

हा… हाे… एकैर मुठी खरको घाँस ,भेडीको थुमेलाई 
पानी ठूलो तालमा माया, यो पञ्चै खालमा 
फलाम खायो खैले, पहिलाको चरण चढाईदिएँ मैले ,धरती भूमेलाई । 
……………………………….
हा… हाे… ऐसेलु नै पाक्यो हजुर, काफलैमा पाक्यो दुराडाँडा पाखैमा
पानपाते चौका, निधारैमा लेख्या रैछ, पाएँ भेटने मौका
हा…हो… सिमली छायाँ, माफ गर है माया, एकैछिनलाई भए पनि बसौं कि त काखैमा ।

जीवनभर ठाडो भाकाकै साधनामा लागिपरेका भेडीखर्के साहिंलाको आर्थिक समस्याका कारण राम्रो उपचार पाउन नसकेरै निधन भयो । ठाडो भाका लोक कला प्रतिष्ठानले सरकारसमक्ष सहयोगको लागि अनुरोध गरेपनि कुनै त्यस्तो सहयोग हुन सकेन । एउटा लोक संस्कृतिको धरोहर ढल्न लाग्दा सरकारले चासो नदेखाएकै हो । नेताको उपचारको लागि करोडौं खर्च गर्ने राज्यले सिंगो जीवन कलामा अर्पण गर्ने कलाकारप्रति उदासिनता देखाएको पक्कै हो । भेडीखर्केले भन्ने गरेका थिए – ‘म मरे पनि ठाडो भाका नमरोस्’ । सोही अनुरुप भेडीखर्के साहिंलाले यो उचाइसम्म ल्याइपुर्याएको ठाडो भाकालाई अब अर्को उचाइमा लैजाने जिम्मा नयाँ पिंढीको काँधमा आइपरेको छ । भेडीखर्के साहिंला मरेर गए पनि उनले गरेको ठाडो भाकाको उत्थान, संरक्षण अनि योगदान सँधैको लागि अटल, अजर र अमर रहिरहनेछ । उनै साहिंलाको १३ औं दिनको पुण्यतिथिमा सदासदाको सम्झना सहित सांगीतिक सलाम । अस्तु । ***

तपाईको प्रतिक्रिया