शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – गृह मन्त्रालयले प्रहरीभित्र ३० वर्षे सेवापछि अवकासको प्रावधान हटाउने प्रस्तावसहित नयाँ कानुनको मस्यौदा तयार गरेको छ । प्रस्तावित विधेयकमा उमेरको अधिकतम हद ५८ वर्ष मात्र कायम हुने उल्लेख छ । उक्त प्रस्ताव व्यवस्थापिका–संसदबाट पारित भए नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै महानिरिक्षकको सेवा अवधि स्वतस् थप हुने छ ।

प्रहरी महानिरिक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी महानिरिक्षक सिंहबहादुर श्रेष्ठ ३० वर्षे सेवा अवधिका कारण आउँदो चैत २९ गतेदेखि अनिवार्य अवकास पाउँदैछन् । नेपाल प्रहरीमा अर्याल र अन्य अतिरिक्त प्रहरी महानिरिक्षक पनि एकै दिन अवकास हुनेछन् । प्रहरी संगठनभीत्र अहिले अवकासको आधार ३० वर्षे सेवा अवधी र ५८ वर्ष उमेर हद कायम छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी दुवैका प्रस्तावित व्यवस्थामा अवकासका लागि उमेर हद र पदावधि दुई विकल्प तोकिएको छ । पहिलो विकल्पमा प्रहरी वरिष्ठ उपरिक्षकदेखि महानिरिक्षकसम्मलाई उमेर हद ५८ वर्ष तोकिएको छ । दोस्रो, प्रहरी महानिरिक्षक नियुक्ति भएको मितिले ३ वर्षसम्म पदमा रहन पाउने उल्लेख छ । उमेरको हद र पदावधि मध्ये जुन अवधिबाट पहिले अवकास हुने हो सोही आधारमा सेवाबाट अवकास हुने पनि उल्लेख छ ।

दुवै प्रहरीमा महानिरिक्षकसहित माथिल्ला तहका प्रहरीलाई प्रस्तावित कानुनले सेवा बढाउन मद्धत पुर्‍याउँछ । तर, निरिक्षक, उपरिक्षक तहका सयौं प्रहरीको स्वभाविक बढुवामा भने असर पुर्‍याउने भन्दै असन्तोष पनि सुरु भएको छ । प्रहरी महानिरिक्षक र अतिरिक्त प्रहरी महानिरिक्षकहरु नयाँ कानुनमा सेवा अवधि हटाउन मन्त्रालयमा दौडधुप गरिरहेको स्रोतले कान्तिपुरलाई बतायो ।

गृहमन्त्री जनार्दन शर्मा नयाँ प्रावधानसहित संघीय ढाँचाको नयाँ कानुन बनाउन सक्रिय छन् । उनले २ साता यता तिन वटै प्रहरी संगठनका प्रमुखहरुसँग यस विषयमा सघन छलफल गरिरहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘तल्ला तहबाट भने सेवा अवधि हटाउँदाको फाइदारबेफाइदा दुवैबारे सुझाव पुगेको थियो । अन्तिममा सेवा अवधि हटाई उमेर हद र पदावधि तोक्ने विषयमा आन्तरिक सहमति जुटेको छ,’ श्रोतले भन्यो । मन्त्रालयले यससम्बन्धी कानुनको मस्यौदा समेत तयार बनाइसकेको छ ।

कान्तिपुरलाई प्राप्त उक्त मस्यौदामा प्रहरी महानिरिक्षकको अवधि ३ र प्रहरी अतिरिक्त महानिरिक्षकको ४ वर्ष हुने उल्लेख छ । सुरु देखिकै सेवा अवधि ३० वर्षमा अवकास हुने भन्ने वर्तमान व्यवस्था भने प्रस्तावित मस्यौदामा छैन । यसअघिका प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालकै पालामा अवकासको मापदण्डबारे अध्ययन गर्न एक समिति बनेको थियो । वर्तमान महानिरिक्षक प्रकाश अर्यालको संयोजकत्वमा गठित समितिले ३० वर्षे सेवा अवधि तत्काल खारेज गर्न नहुने सुझावसहित प्रतिवेदन गृहलाई बुझाएको थियो ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरिक्षक मनोज न्यौपानेले प्रहरीसम्बन्धी नयाँ कानुन बन्दै गरेको र त्यो मूलतस् संघीय संरचनामा केन्द्रित भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया