बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

दोस्रो महाधिवेशन सहित मोनाको बिश्व सम्मेलनको तयारी तिब्र  (रिपोर्ट)

टोकियो – प्रवासमा रहेका म्याग्देलीहरुको अन्तर्राष्ट्रिय सञ्जाल म्याग्दी प्रवासी नेपाली संघ (मोना) को दोस्रो महाधिवेशन सहितको बिश्व सम्मेलन अक्टुबर ८, ९ र १० तारिखमा पश्चिम म्याग्दीको दरबाङ बजारमा हुने भएको छ ।
पर्यटन, जलविद्युत, कृषि, शिक्षा, जडिबुटी लगायत म्याग्दीका अथाह संभावना बोकेका क्षेत्रमा सामुहिक लगानी भित्र्याई रोजगारीका अवसरहरु सिर्जना गर्ने र जिल्लालाई आर्थिकरुपमा समृद्ध बनाउने मुलभुत उद्देश्यका साथ सुरु भएको मोना अभियान अहिले दोस्रो महाधिवेशनको संघारमा छ ।
महाधिवेशनलाई सफल पार्न स्थानीयबासीहरु आफ्नै ढंगले तैयारीमा जुटेका छन् । राष्ट्रिय स्तरका कलाकारहरुको साँस्कृतिक कार्यक्रम, यानीमाया, सालैजो, दोहोरी गीत, कौडा, सोरठी जस्ता जिल्लाका साँस्कृतिक धरोहर लगायत बिभिन्न जनजातिय साँस्कृतिक झाँकी प्रदर्शन सहित तीन दिन सम्म महाधिवेशन चल्ने मोनाका महासचिव घनश्याम शाही बताउनुहुन्छ ।

आसन्न महाधिवेशनको तैयारी, यसले उठाउनुपर्ने मुद्दा, महाधिवेशनबाट गरिएको अपेक्षा, अबको नेतृत्व लगायतका बिषयमा महाधिवेशन मुल आयोजक समितिका जिम्मेवार पदाधिकारी तथा संबद्ध ब्यक्तिहरुको धारणा यसप्रकार छ ।

योगेन्द्रबहादुर क्षेत्री – (बेलायत) संयोजक – महाधिवेशन मुल आयोजक समिति

बिश्वका २४ राष्ट्रमा बिस्तारित मोना अभियानको पहिलो कार्यकालको समीक्षा गर्दै दोस्रो कार्यकालको कार्ययोजना, नीति कार्यक्रमसहितको नयाँ नेतत्व चयन गर्न दोस्रो महाधिवेशन केन्द्रीत रहने छ ।
महाधिवेशनको तैयारीलाई बिभिन्न ढंगले तिब्र पारिएको छ । महाधिवेशनको तैयारीकै लागि महासचिव घनश्याम शाहीजी एक महिनादेखि नेपालमा हुनुहुन्छ । महाधिवेशनलाई सफल पार्न स्थानिय निकायहरुको पनि उत्साहजनक सहयोग रहने भएको छ । बिशेषगरी मालिका गाउँपालिकाले ब्यवस्थापनको सम्पूर्ण जिम्मा लिई सहयोग गर्ने भएको छ । स्थानीय महिला, युवा, ब्यवसायी, शिक्षक, विद्यार्थी, प्रहरी प्रशासन सबैको ब्यापक परिचालन गरी महाधिवेशन सफल पार्न कुनै कमजोरी हुन नदिने उहाँहरुबाट वचनबद्धता प्राप्त भएको छ । महाधिवेशनको समुदघाटन समारोहमा एनआरएनका अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष जिवा लामिछाने, उपाध्यक्षद्वय भवन भट्ट, कुमार पन्त, सचिव अर्जुन श्रेष्ठ, सोनाम लामा लगायतका एनआरएनका केन्द्रीय तहका हस्तीहरुको उपस्थिति रहने कुराले हामीलाई अझ उत्साहित बनाएको छ । जसले गर्दा जिल्लामा लगानीका संभावित क्षेत्रहरुका बारेमा थप अध्ययन गरी एनआरएनसंग पनि सहकार्यका लागि छलफल गर्न सकिने भएको छ । आफ्नो गाउँठाउँको उत्पादन, कला, सँस्कृति र प्राकृतिक स्रोत साधनको पहिचान एवं प्रबर्द्धन गरी बिकासको मुल फुटाउने सन्दर्भमा आसन्न महाधिवेशन कोसेढुंगा साबित हुने अपेक्षा गरिएको छ । यस ऐतिहासिक महामेलामा प्रवासी म्याग्देलीहरु जो जहाँ हुनुहुन्छ जसरी भए पनि सहभागी भईदिन अपील गर्न चाहान्छु । यस पटकको महाधिवेशन हरेक हिसाबले बिशेष हुने भएकोले करिव १८ देशबाट २ सय भन्दा बढि डेलिगेट्सको सहभागिता रहने आंकलन गरिएको छ । उक्त महामेलामा आफु पनि नछुट्न बेलैमा समयको म्यानेज गर्नुहुन आह्वान गर्दछु ।

प्रकाश पुन (हङकङ), संरक्षक तथा संस्थापक अध्यक्ष मोना

जिल्लाको आर्थिक बिकास र समृद्धिसंग साझेदारी गर्ने मोनाको लक्षित अभिष्टअनुसार हामी अगाडि बढ्न नसक्दा हामीले परिकल्पना गरेको मोना र पब्लिकको अपेक्षा अनुसारको उचाई हासिल गर्न सकेनौ यस अर्थमा मोनाको एक संस्थापक भएर भन्नुपर्दा सन्तोष मान्न सकिने अवस्था बनिसकेको छैन । संस्थागत बिधि, पद्धती बसाल्न र लक्षित कार्यक्रमहरुमा उपलब्धि हासिल गर्न मोनाले निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । मोनाको मर्म र भावनालाई नेतृत्वले आत्मसाथ गर्न नसक्दा अपेक्षित फड्को मार्न नसकिएको अवस्था छ । मोना हङकङले दिएको सुझाव सल्लाह र प्रस्ताव पनि सम्बोधन हुन सकेका छैनन् । हामी बीच केही बहसहरु अवश्य थाँती छन् तथापि हामी सबै एक भएर महाधिवेशन सफल बनाउनुको विकल्प छैन । महाधिवेशनलाई नयाँ नेतृत्व चयन गर्ने म्याण्डेट पनि प्राप्त भएको हुनाले मेरो बिचारमा वरिष्ठ उपाध्यक्ष अध्यक्षमा, महासचिव उपाध्यक्षमा, सचिव वा कोषाध्यक्ष महासचिवको जिम्मेवारी लिनेगरी एक-एक तह अपग्रेड गरी सहमति कायम हुन सके धेरै राम्रो हुने थियो । यदि काम गर्नका लागि राम्रो टिम बन्ने भयो र आवश्यक परेमा आफै पनि नेतृत्व लिन तयार रहेको जानकारी गराउन चाहान्छु । तर सकभर अभिभावकीय भूमिकामा रहेर मिलेर मिलाएर काम गर्न चाहान्छु तर कतिपय अवस्थामा नेतृत्व बिना चाहेअनुसारको काम गर्न नसकिने रहेछ ।

 

बिनोद कुँवर, (दक्षिण कोरिया)  वरिष्ठ उपाध्यक्ष, मोना

यस अवधिमा मोनाको संरचनागत ऐक्यबद्धतालाई बिश्वब्यापीकरण गर्नमा हामीले अपेक्षित सफलता हासिल गरेका छौं । म्याग्दीको बिकासको मुलप्रबाहमा हाम्रो लगानीसहितको सहभागिताको सुरुवात सन्तोषप्रद छ । धौलागिरी हाईड्रोमा मोनाको लगानी, एनआरएन संगको सहकार्यमा इ लाईब्रेरीको स्थापना, पर्यटन क्षेत्रमा रिसर्च, फ्रि वाईफाइ प्रोजेक्टमा आंशिक सफलता लगायतका कार्ययोजना यस कार्यकालका मुख्य उपलब्धिहरु हुन् । मोना अभियान प्रारम्भिक चरणमा छ, पहिलो महाधिवेशनद्वारा पारित एजेण्डा धेरै भए पनि मुलभूतरुपमा प्राथमिकतामा परेका कार्ययोजनाहरु अगाडि बढेका छन् । बिगतबाट सिक्दै जिल्लाको आर्थिक बिकासका लागि कृषि, जलस्रोत, पर्यटन जस्ता लगानीका संभावित क्षेत्रहरुको पहिचान गरी ठोस योजनाहरु बनाउन आसन्न अधिवेशन सफल हुने अपेक्षा गरिएको छ । महाधिवेशनबाट नयाँ नेतृत्वको चयन पनि गर्नुपर्ने भएकोले वरिष्ठ उपाध्यक्षको हैसियतले र एनआरएन कोरियाको दुई पटकसम्म अध्यक्ष भएर काम गरेको अनुभवका आधारमा अब नेतृत्व लिने समय आईसकेको जस्तो लागेको छ । यद्यपि अध्यक्षज्यूको विचार बुझ्न बाँकी नै छ । सक्षमता, भूगोल, क्षेत्र, समावेशीता सबै हेरेर सहमतिमै एउटा सशक्त कार्यसमिति निर्माण गरिनुपर्छ भन्ने मेरो मान्यता हो । मोनाको यात्रा अझै बामेसर्दो अवस्थामा भएकोले पुराना र अनुभवी साथीहरुको साथ र सहयोग अझै खाँचो छ । बिश्वभर छरिएर रहेका म्याग्देलीहरुलाई मोनाको एउटै छानामुनि गोलबन्द गराउने काम अझै बाँकी छ, अबको नेतृत्वले अझ थप प्रभावकारी कार्यक्रमसहित संगठित गर्दै जानुपर्दछ । यसपटक म्याग्दीको दरबाङ बजारमा महाधिवेशन हुन गईरहेको छ, गाउँठाउँको कला, सँस्कृति भेषभूषा, प्राकृतिक स्रोत साधन र जनअपेक्षालाई मोनाले नजिकबाट बुझ्ने र चिन्ने अवसरकोरुपमा आसन्न महाधिवेशनलाई लिईएको छ । संसारभरिबाट उत्साहजनक सभागिता रहने अपेक्षा गरिएको आसन्न महाधिवेशनमा दक्षिण कोरियाबाट १५ देखि २० जनासम्म सहभागिता रहने आंकलन गरिएको छ ।

 

घनश्याम शाही (बेल्जियम), महासचिव, मोना

महाधिवेशनको तैयारी तिब्ररुपमा अगाडि बढिरहेको छ । यसकै लागि म बिगत एक महिनादिनदेखि जिल्लामा खटिरहेको छु । राजधानी काठमाडौं, जिल्ला सदरमुकाम र दरबाङ बजारमा चरणबद्धरुपमा महाधिवेशन तैयारी सम्बन्धि बैठकहरु भईरहेका छन् । स्थानीय पत्रपत्रिका, एफएम, टेलिभिजन लगायतका मिडियाहरुमा ब्यापक प्रचारप्रसार भईरहेको छ । बिभिन्न उपसमितिहरुमार्फत कार्यबिभाजन गरी स्थानीय जनस्तरबाट महाधिवेशनको तयारीमा उत्साहजनक सहयोग भईरहेको छ । जिल्लाका सबै स्थानीय निकायलाई महाधिवेशनमा प्रत्यक्ष सहभागी गराउन बिभिन्न जिम्मेवारीहरु दिईएको छ । जिल्लाको बिकासमा साझेदारी भूमिका निर्बाह गर्न खोजिरहेको मोनाको यस दोस्रो महाधिवेशनले एउटा स्पष्ट मार्गचित्र कोर्ने अपेक्षा गरिएको छ । सदरमुकामभन्दा बाहिरको बस्तीमा पहिलोचोटी हुन गईरहेको महाधिवेशन आफैमा नयाँ प्रयोग हो । स्थानीय जनताहरुसंग मोनाको सहकार्यलाई थप सुदृढ बनाउन यस महाधिवेशन फलदायी हुनेमा बिश्वस्त छौं । आगामी दुई वर्षका लागि अर्को नयाँ टिम निर्माण गर्ने कार्यभार पनि यस महाधिवेशनको भएकोले सहमतिमै नयाँ नेतृत्व र टिम बन्न सक्नुपर्दछ त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोगी भूमिका निर्बाह गर्ने नै छु । हाम्रा बीचमा केही मत भिन्नताहरु पक्कै छन् त्यसलाई महाधिवेशनबाट हल खोजिनुपर्दछ र समृद्ध म्याग्दी निर्माण अभियानमा घरदेशदेखि परदेशसम्मका म्याग्देलीहरु एकढिक्का भएर लाग्नैपर्दछ । आसन्न महाधिवेशनले प्रवासी म्याग्देलीहरुमा नयाँ तरंग पैदा गरेको छ, जसअनुरुप संसारभरिबाट करिव २ सय प्रतिनिधि महाधिवेशनमा भाग लिन आउने आंकलन गरिएको छ । बेल्जियमबाट १५ देखि २० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।

चक्रबहादुर थापा (न्यूजिल्याण्ड) कोषाध्यक्ष, मोना

म्याग्दीको दोस्रो ब्यापारिक केन्द्र दरबाङ बजारमा हुन गईरहेको मोनाको दोस्रो महाधिवेशन सहितको बिश्व सम्मेलन नजिकिदैं गर्दा देश बिदेशमा रहेका म्याग्देलीहरुबाट अत्यन्त चासो र उत्साहका साथ हेरिन थालिएको छ । जिल्लाको समृद्धिलाई केन्द्रमा राखेर बिगतको गम्भीर समीक्षा र आगतको ठोस कार्ययोजना निर्माण गर्नु महाधिवेशनको मुख्य कार्यभार हो । सामुहिक लगानीलाई प्रोत्साहित गर्दै स्थानीय स्रोत साधन र संभाब्यतालाई उपयोग गरी पर्यटन प्रबर्द्धन, रोजगारी सिर्जना लगायतका मुद्दामा महाधिवेशनले महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ । यसबाहेक बिभिन्न राष्ट्रमा रहेका म्याग्देलीहरुको गतिबिधिलाई ब्यवस्थित गरी मोनाको एकद्वार प्रणालीमार्फत जिल्लासंग जोड्दै लैजान आवश्यक छ । महाधिवेशन तैयारीलाई बिभिन्न ढंगले तिब्र पारिएको छ । महाधिवेशनमा करिव १८ देशबाट झण्डै २ सय जति डेलिगेट्सहरुको सहभागिता रहने प्रारम्भिक अनुमान गरिएको छ । महाधिवेशन सम्पन्न गर्न करिव २० लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ । मोनाको बिभिन्न देशका राष्ट्रिय कमिटीबाट संकलन गरिने सहयोग राशी र महाधिवेशन प्रतिनिधिहरुबाट उठाईने दर्ता शुल्क, प्रायोजन आदिबाट महाधिवेशनको खर्च जुटाउने लक्ष लिईएको छ । यस कार्यमा स्थानीय निकायहरुले पनि न्युनतम आर्थिक सहयोग उपलब्ध गराउने ऐक्यबद्धता जनाएका छन् ।

तुल्माराज राम्जाली (हङकङ), सचिव, मोना

मोनाको दोस्रो महाधिवेशनको तयारीहरु चल्दै गर्दा देखावटी तडकभडक भन्दा घरभित्रका महत्वपूर्ण कुराहरु पहिले मिलाउनुपर्छ भन्ने मलाई लागेको छ। भित्रीरुपमा तैयारी राम्रो भयो भने मात्र घर बलियो हुन्छ । जुन उत्साह र भरोसाका साथ प्रथम महाधिवेशन बेनीमा सम्पन्न भएको थियो सोहीअनुरुप हामीले उपलब्धि हासिल गर्न नसक्दा मोनाको बिश्वसनियता माथि टिकाटिप्पणी हुन थालेको छ । हामीले आफ्नो कार्यक्षमता अनुसार घोषणा पत्र बनाईनुपर्नेमा आश्वासन धेरै देखायौं जसले गर्दा स्थानीय जनताहरुमा नकरात्मक प्रभाव पर्न जानु स्वभाविकै हो । यसबाट पाठ सिकेर यसपालीको महाधिवेशनमा फेरि गल्ती दोहोर्‍याउनु हुँदैन । वर्तमान कार्यसमितिले पाएको प्रमुख कार्यभार संस्थालाई संस्थागत गर्ने, बिधि र पद्धतीमा हिडाउने र ग्लोबलाईनेशन गर्ने सन्दर्भमा नेतृत्व अलमलिएको जस्तो देखियो । मोना संस्थागत हिसाबले चल्न नसक्दा धेरै कार्यहरु अधुरा रहन पुगे । टिम वर्कमा समन्वयको अभाव रह्यो । प्रथम महाधिवेशनदेखि टुंगो लगाउन नसकिएको बिधानले पूर्णता पाउन सकेको छैन । बिधान संस्थालाई सहि ट्रयाकमा डोर्‍याउने दस्तावेज भएकोले यो आफ्नै मौलिक खालको हुनुपर्दछ । आवश्यक र राम्रा अन्तर्वस्तु आयातित पनि राख्न सकिन्छ तर कसैको हुबहु नक्कल गरिनुहुँदैन । बिधान जस्तो संबेदनशील बिषयलाई बिना अध्ययन हलुकारुपमा हतारमा पारित गर्ने गल्ती गरिनुहुँदैन । बिधानको बारेमा प्रशस्त छलफल हुनु जरुरी छ जुन अहिलेसम्म हुन सकेको छैन । मुल नेतृत्वबीच देखिएको अन्तर्संघर्षका कारण हरेक बिषयमा दुई धार देखिने गरेको छ । आसन्न महाधिवेशनले यसलाई निर्मुल गर्न सक्नुपर्दछ । आगामी नेतृत्वको सवालमा आन्तरिक बिषयहरुमा क्लियर गर्दै बिश्वभर छरिएर रहेका म्याग्देलीहरुलाई एकजुट बनाएर लैजान सक्ने सक्षम ब्यक्ति मोनाको नेतृत्वमा आउनुपर्दछ भन्ने हाम्रो मान्यता हो।


महेन्द्र खड्का (जापान), उपाध्यक्ष एशिया प्यासिफिक, मोना

मोनाको दोस्रो महाधिवेशन सहितको बिश्व सम्मेलन म्याग्दीको दरबाङ बजारमा हुने चर्चा-परिचर्चाले माहौल तात्दै गएको छ । संसारका बिभिन्न मुलुकमा छरिएर रहेका म्याग्देलीहरु दरबाङ बजारमा भेला भएर जिल्लाको बिकास र समृद्धिका मुद्दाहरुमा बहस गर्न आतुर छन् । स्थानीयबासीको समेत सक्रिय सहकार्यमा हुन गईरहेको यस महाधिवेशनले विगतको समीक्षा गर्दै आगामी कार्यकालका लागि स्पष्ट प्रारुपसहितको कार्ययोजना तय गर्ने छ भने नयाँ नेतृत्वसहितको अर्को टिम निर्माण गर्ने छ । परिवर्तित सन्दर्भमा मोनाको बिश्वब्यापीकरण र नयाँ चुनौतीहरुलाई आत्मसाथ गर्दै सबैलाई मिलाएर लैजान सक्ने सर्बसम्मत सक्षम नेतृत्वको पक्षमा मोना जापान रहेको छ । जिल्लाका स्थानीय स्रोत, साधन र संभावित लगानीका अवसरहरु बारेमा पनि महाधिवेशनबाट ठोस निर्णयहरु आउने छन् । महाधिवेशनका अवसरमा मोना जापानको पहलमा वरिष्ठ जापानी चिकित्सकहरुबाट स्थानीय निकायका जनप्रतिनिधीहरुलाई बिपद ब्यवस्थापन तथा उद्वार कार्य सम्बन्धि प्रशिक्षण प्रदान गरिने कार्यक्रम पनि रहेको छ । महाधिवेशनमा जापानबाट करिव १५ जना प्रतिनिधिहरुको सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रकाश कार्की, अध्यक्ष – मोना युएई

मोनाको दोस्रो महाधिवेशनको यत्रो हल्लीखल्ली छ तर बिभिन्न देशमा भएका मोनाका राष्ट्रिय कमिटी र केन्द्रबीच समन्वयको अभाव छ । महाधिवेशनको मिति नजिकिदै गर्दा आवश्यक जानकारीहरु सर्कुलेशन हुन सकिरहेका छैनन् । तयारी के भईरहेको छ, कुन कुन दिनमा के कस्ता बिषयमा कार्यक्रमहरु हुने हुन् कुनै जानकारी छैन । महाधिवेशन खर्चका लागि तोकिएको रकम र दर्ता शुल्कका बारेमा मात्र जानकारी गराएर जिम्मेवारी तहमा रहनुभएका पदाधिकारीहरुको कर्त्तब्य पुरा हुँदैन । महाधिवेशनका लागि सहयोग स्वरुप एक राष्ट्रबाट ५० हजार रुपैंया ठिकै भए पनि प्रति डेलिगेट्स १० हजार रुपैंया सबैका लागि त्यति न्यायोचित देखिदैंन यसमा पुनर्विचार गरियोस् भन्ने हाम्रो भनाई हो ।
बिभिन्न राष्ट्रबाट महाधिवेशनमा भाग लिन गएका प्रतिनिधीहरुलाई आ-आफ्नो राष्ट्रको गतिबिधि, समस्या र कार्यप्रगति प्रतिबेदन प्रस्तुत गर्ने अवसर दिईनुपर्दछ । एउटा कुनामा बसेर ताली मात्र पड्काएर फर्कन पर्ने यस अघिको जस्तो स्थिति यो पटक दोहोरिनु हुँदैन । यो सिंगो मध्यपूर्व राष्ट्रहरुबाट प्रतिनिधित्व गर्ने मोनाको आवाज हो । महाधिवेशनबाट सबैलाई समेटेर लैजान सक्ने कुशल र सक्षम नेतृत्व आउनुपर्छ भन्ने हाम्रो चाहना हो । महाधिवेशनमा युएइबाट हामी करिव १५ जनाको सहभागिता रहने भएको छ ।

 

 

 

रमेश पौडेल, अध्यक्ष – मोना, कतार

मोनाको दोस्रो महाधिवेशन हर्षोल्लासका साथ दरबाङमा हुन गईरहेको छ । यो हामी सबै म्याग्देलीका लागि गर्वको कुरो हो । यसलाई हरेक हिसाबले उपलब्धीमुलक ढंगले सफल बनाउन कतारले पाएको जिम्मेवारी पुरा गर्न हामी तयार छौं र उत्साहित पनि । महाधिवेशन भनेको विगतको समीक्षा र आगतको कार्ययोजना तय गर्ने बैधानिक थलो पनि हो । मोनालाई ग्लोबलाईजेशन गर्ने सवालमा वर्तमान कार्यसमिति केही हद सफल देखिए पनि बिधि बिधानमा टेकेर अगाडि बढ्ने कुरामा र आर्थिक, सामाजिक एवं साँगठानिक पाटोमा केही कमी कमजोरीहरु रहे । यसलाई सुधारेर अगाडि बढ्नु अबको नेतृत्वको चुनौती हुने छ । महाधिवेशनमा भाग लिन जाने डेलिगेट्सहरुको दर्ता शुल्कका बारेमा हाम्रो फरक धारणा रहँदै आएको छ, त्यसबारेमा नेतृत्वले उचित निर्णय लिने बिश्वास लिएका छौं । महाधिवेशनका लागि कतारबाट करिव १५ जनाको सहभागिता रहने देखिएको छ ।

श्रीप्रसाद रोका – मालिका गाउँपालिका प्रमुख

मोनाको दोस्रो महाधिवेशन दरबाङ बजारमा हुने कुराले स्थानीयबासीमा उत्साहको सञ्चार गरेको छ । मोना र एनआरएन भनेको के हो भन्ने जनतामा रहेको जिज्ञासालाई यस सम्मेलनले सम्बोधन गर्ने अपेक्षा स्थानीय जनतामा देखिएको छ । यति ठूलो कार्यक्रमको ब्यवस्थापन गर्न पाउनु हाम्रो लागि पनि एउटा ठूलो अवसर हो भने अर्कोतिर चुनौती पनि हो । महाधिवेशनलाई सफल पार्न हामी स्थानीय जनताको तर्फबाट कुनै पनि कसुर बाँकी नरहने गरी तयारीलाई तिव्र पारिएको छ । जसअनुसार बिभिन्न उपसमितिहरु गठन गरी कार्यबिभाजन गरिएको छ । समग्रमा भन्नुपर्दा आफ्नै घरआँगनमा मोनाको महाधिवेशन सम्पन्न गर्ने ऐतिहासिक अवसरलाई स्थानीयबासीहरुले अत्यन्त स्वागतयोग्य बिषयकारुपमा ग्रहण गरेका छन् र सोहीअनुरुप आफ्नो तैयारीमा जुटेका छन् ।***

तपाईको प्रतिक्रिया