शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – उत्तर कोरियाले आफ्नो देश परमाणु विकासको लक्ष्यमा पुगेको दाबी गरेको छ । उत्तर कोरियाका नेता किम जोङ–उनले आफ्नो देश परमाणु हतियार विकासको लक्ष्यमा पुगेको बताउनुभएको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएले जनाएको छ ।

उत्तर कोरियाको परमाणु क्षमता अमेरिकाको सैन्य क्षमता जत्ति नै बनाउने लक्ष्य रहेकोमा त्यो पूरा भएको नेता किमले बताउनुभएको केसिएनएले उल्लेख गरेको छ । उत्तर कोरियाले शुक्रबार जापानको माथिबाट मिसाइल प्रहार गरेपछि नेता किमको यस्तो भनाई आएको हो । शुक्रबार परीक्षण गरिएको मिसाइल बढी दूरीमा मार हान्न सक्ने अहिलेसम्मकै प्रभावकारी मिसाइल रहेको दाबी गरिएको छ ।

उत्तर कोरियाले दुई हप्ताअघि पनि जापानको माथिबाट मिसाइल आक्रमण गरेको थियो । त्यसपछि उसले हाइड्रोजन बमसहितको परमाणु परीक्षण गरेको थियो । संयुक्त राष्ट्रसंघले त्यसको प्रतिक्रिया स्वरुप उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा पारेको थियो ।

तर प्रतिबन्ध कडा पार्ने निर्णय भएको केही दिनमा नै उत्तर कोरियाले फेरि अर्को मिसाइल परीक्षण गरेको हो । नेता किमले विश्वका ठूला देशले आफ्नो देशमाथि असिमित प्रतिबन्ध लगाउँदा पनि आफूहरुले परमाणु हतियारको लक्ष्य पूरा गरेको बताउनुभएको केसिएनएले उल्लेख गरेको छ ।

आफ्नो देशको लक्ष्य अमेरिकाको सैन्य शक्ति बराबरको परमाणु क्षमता बनाउने रहेको र त्यसमा आफूहरु सफल भएको नेता किमको दाबी छ ।

तपाईको प्रतिक्रिया