बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं  – यो हप्ता दुई नेपाली चलचित्र र एउटा हिन्दी चलचित्रले प्रतिष्पर्धा गर्दैछन् ।  नेपाली चलचित्रहरु ‘जोनी जेन्टलम्यान’ र ‘लिला’ ले हिन्दी चलचित्र ‘सिमरन’ सँग भिड्ने भएका छन् ।

अघिल्लो हप्ता एउटा मात्रै चलचित्र ‘दुई रुपैयाँ’ रिलिज भएको थियो । सोलो रिलिज भएकाले यस चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको थियो तर चलचित्रको कथावस्तु र चलचित्रका बारेमा आएको रिभ्यूका कारण ‘दुई रुपैयाँ’ ले दर्शकलाई हलसम्म तान्न सकेन ।

शुक्रबारदेखि प्रदर्शनमा आएको जोनी जेन्टलम्यानलाई नितिन चन्दले निर्देशन गरेका हुन् भने निर्माण एन्ड्रयु पौडेलले गरेका हुन् । पल शाह र आँचल शर्माको मुख्य भूमिका रहेको यो चलत्रित्र एक्सनप्रधान चलचित्र हो । चलचित्रका नायक पल शाह एंग्रीम्यानको रुपमा प्रस्तुत भएका छन् ।

चलचित्रले एक जना युवाको जीवनमा आएको परिवर्तनलाई देखाउन खोजेको छ । निकै नै मन पराइएको पल शाह र आँचल शर्माको जोडीलाई दर्शकले ‘नाईँ नभन्नु ल ४’ पछि देख्न पाएका थिएनन् । ‘जोनी  जेन्टलम्यान’ मा  पल  र आँचल दोस्रो पल्ट सँगै देखिएका हुन् । चलचित्रमा पल र आँचलको अलावा विकाश जोशी, सन्तोष सिलवाल, जैना कुँवरलगायतका कलाकारको अभिनय रहेको छ ।

रुपेश थापा र रामशरण उप्रेतीको छायांकन रहेको यस चलचित्रमा अर्जुन पोख्रेल, हक्र्युलस बस्नेत, ब्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको छ । चलचित्रको ‘तिमी बिना मान्दैन यो मन’ दर्शक श्रोतामाझ लोकप्रिय भैसकेको छ ।

त्यस्तै शुक्रबार बाटै प्रदर्शनमा आएको चलचित्र ‘लीला’ लाई रमेश कोइरालाले निर्देशन गरेका हुन् भने यसलाई निमार्ण गरेका छन् सिपी पौडेलले । मलिना जोशी, राज कटुवाल, सञ्चिता लुइँटेल, ध्रुव कोइराला, देवीराम पराजुलीलगायतका कलाकारको अभिनय रहेको यो चलचित्रले जीवनको परिभाषालाई देखाउन खोजेको निर्देशकीय भनाई रहेको छ ।

चलचित्रमा बहिनीको हत्या भएपछि दिदीले लिएको बदलालाई देखाउन खोजिएको छ । डा. कृष्णहरि बरालका रचनामा रहेका गीत चलचित्रलाइ बलियो बनाउने एउटा पक्षका रुपमा हेर्न सकिन्छ  । बरालका रचनामा रहेका ‘साँच्चै विशेष छौ’, ‘मिसावट छ पिरतीमा’, लगायतका गीत लोकप्रिय भैसकेका छन् ।

चलचित्रको छायांकन नेपालका विचिन्न स्थान र सिक्किमको नाम्चीलगायतका ठाउँमा गरिएको छ ।

त्यस्तै, जोनी जेन्टलम्यान र लीलासँग प्रतिष्पर्धा गर्न आएको चलचित्र हो कंगना रनौत अभिनित ‘सिमरन’ । कमेडी जान्राको चलचित्र सिमरनमा एउटा एनआरआई युवाको कथा समेटिएको छ । एनआरआई सन्दिप कौर अमेरिकामा बसिरहेका हुन्छन् । उनलाई बैंक चोरीको चार वटा आरोप लागेको हुन्छ । यसैको सेरोफेरोमा चलचित्रको कथा घुमेको छ।

कंगना रनौत, मार्क जस्टिस, सोहम शाह, हितेन कुमार, इशा तिवारी पान्डेलगायतका कलाकारको अभिनय रहेको यस चलचित्रलाई निर्देशन गरेका हुन् हंसल मेहताले । चलचित्रको कथा अपूर्व अश्रानीले लेखेका हुन् भने संगीत सचिन–जिगरको रहेको छ । चलचित्रका ‘सिमरन’, ‘पिन्जडा तोड्के’, ‘मजा नि लाइफ’ र ‘सिंगल रेहने दे’ लगायतका गीत लोकप्रिय भैसकेका छन् ।

सबै चलचित्र बहुप्रतिक्षित बताए पनि कुनले कस्तो प्रदर्शन गर्छन् भन्ने हेर्न भने केही दिन कुनु पर्नेछ ।

तपाईको प्रतिक्रिया