‘शौचालय बनाइदिने ग्यारेन्टी गर्नुस्, भोट लिनुस्’

लहान – सिरहाको गोलबजार नगरपालिका–१० धोवियाझारस्थित मुसहर बस्तीमा भोट माग्न पुग्ने उम्मेदवारले त्यहाँको स्थानीय मतदाताबाट एउटै उत्तर पाउँछन् – शौचालय बनाइदिने ग्यारेन्टी गर्नुस्, भोट लिनुस् ।
आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मत माग्दै मुसहर बस्ती पुग्ने उम्मेदवार स्थानीयवासी मतदाताको यो जवाफ सुनेपछि केही क्षण अक्कमक्कमा पर्ने गरेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिकाको चोहर्वाबाट पाँच किलोमिटर उत्तर घुर्मी खोलाको पूर्वी किनारमा रहेका ४० घरको सदाय ९मुसहर० बस्ती शौचालयविहीन छ ।
पूरै बस्ती नै शौचालयविहीन हुँदा यहाँका सर्वसाधारण शौच गर्न बाँसघारी तथा नजिकैको नदीमा पुग्ने गरेका छन् । दैनिक मजदुरी र दाउरा बेचेर गुजारा चलाउँदै आएका यो बस्तीका मतदाता भन्छन्, “बस्तीमा सुरक्षित आवास र शौचालय बनाइदिने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्र हामीले भोट दिन्छौँ ।” अर्थाभावका कारण शौचालय बनाउन नसकेकी ४५ वर्षीया फूलकुमारी सदा शौचालय बनाउने वचन दिने उम्मेदवारलाई मात्र आफ्नो मत दिने सोचमा पुगेको बताउनुहुन्छ ।
सधैँभरि मजदुरी गरेर परिवार पाल्दै आउनुभएकी फुलकुमारी भन्नुहुन्छ, “नेताहरु भेट्न आउने भनेको चुनावकै बेला हो । अरुबेला उहाँहरुको अनुहारै देख्न पाइँदैन । यो चुनावमा राम्रो बास र शौचालयको व्यवस्था मिलाउने इमान्दार उम्मेदवारलाई भोट दिनेछु ।” पचास वर्षीय झौला सदाय पनि घर र शौचालय बनाइदिने उम्मेदवारलाई मात्र मत दिने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वर्षौंदेखि हामीले भोट हालेर मन्त्री बनाएकै छौँ तर, जितेर गएपछि नेताहरु पुनः आफूहरुको समस्या बुझ्नै आउँदैनन् । त्यसैले यही बेला हो नेताहरुसँग केही कुरा माग्ने ।” “पछिल्लोपटक २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि मत दिएर जितायौँ, तर हाम्रो अवस्था भने जस्ताको तस्तै रह्यो,” उहाँ अगाडि थप्नुहुन्छ, “अब जसले हाम्रो बस्ने घर र शौचालय बनाइदिन्छ उसैलाई मत दिन्छौँ ।”
करिब २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा मत हाल्न आतुर रहेका यहाँका मतदाता पहिला जोसुकैलाई मत दिए पनि यसपालिको चुनावमा उहाँहरुले उचित बास र शौचालय खोज्नुभएको छ । माटोको भित्ता र खरको छानोबाट बनेका स–साना झुुप्रा घर भएको उक्त बस्तीका मतदाता भन्छन्, “हामीलाई घाम पानी छेक्ने राम्रो घर र शौचालय चाहिएको छ । यसको ग्यारेन्टी गर्ने उम्मेदवारलाई भोट दिन्छौँ ।”
बस्तीमा शौचालय नभएकाले स्थानीयवासी २५ वर्षीया तारादेवी सदा र ४० वर्षीया रामवत्ती सदाले नागरिकता पनि बनाउन नपाएको गाउँलेको भनाइ छ । घरमा शौचालय नभएकालाई गाउँपालिकाले नागरिकताका लागि सिफारिस नगर्ने नियम बसालेका कारण उहाँहरुले नागरिकता बनाउन नपाएको सुखरीदेवी सदाको कथन छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित