दसैंका लागि भारतबाट ५० करोडको खसीबोका ल्याइँदै

काठमाडौं – दसैंलाई लक्षित गर्दै व्यवसायीहरुले भारतबाट करीब ५० करोड बराबरको खसीबोका ल्याउने तयारी गरेका छन् । नेपालको उत्पादनले नथेगेपछि भारतबाट ३५ हजार खसीबोका ल्याउने तयारी गरिएको हो ।
उपत्यकामा दसैंतिहारमा करिब ५० हजार खसीबोका, भेडाच्यांग्रा खपत हुने अनुमान छ । ३५ हजार भारतबाट ल्याए पनि बाँकी १५ हजार भेडाच्यांग्रा, खसीबोका विभिन्न जिल्ला र तिब्बतबाट समेत ल्याइने छ । यहाँ उत्पादन नहुँदा मासुमा भारतीय भर पर्नुपर्ने अवस्था रहेको चौपाया खरिद–बिक्री सेवा संघले जनाएको छ । ‘सरकारले मासुमा आत्मनिर्भर हुने घोषणा गरे पनि भारतकै भर पर्नुपर्ने बाध्यता रहेको संघका अध्यक्ष गोविन्द पाठकले बताउनु भयो ।
खसी प्रतिगोटा करिब १४ हजार रुपैयाँका दरले बिक्री हुने संघले जनाएको छ । सरकारले मासुमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा नेपाली उपभोक्ताले दसैंमा भारत र चीनबाट आयात गरिएको मासु उपभोग गर्नुपर्ने छ । पहाड, तराईमा बाख्रापालन र हिमाली जिल्लामा भेडाच्यांग्रापालनलाई प्रोत्साहन गर्न वार्षिक अर्बौं रुपैयाँ लगानी गर्दै आए पनि हरेक वर्ष विदेशबाट अर्बौंको मासु आयात हुँदै आएको छ ।
दसैं, तिहारमा मांशाहारीले घरघरै खसी–बोका काट्ने परम्पराले मासुको माग उच्च हुने भएकाले भारतबाट करिब आधा अर्बको खसीबोका ल्याउनुपर्ने चौपाया खरिद–बिक्री सेवा संघले जनाएको छ । स्वदेशी उत्पादनले १०-१५ प्रतिशतमात्र थेग्ने संघले जनाएको छ । यो सिजनमा मात्र करिब आधा अर्ब रुपैयाँ भारत जाने भएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित