म्यानमारका नागरिकलाई नेपाल प्रवेशमा कडाइ

काठमाडौं – नेपाली भूमि प्रयोग गरी म्यानमारविरुद्ध गतिविधि हुन सक्ने भन्दै नेपाल प्रवेशको पूर्वीद्वार काँकडभिट्टामा स्थानीय प्रशासनले सुरक्षा सतर्कता अपनाउन थालेको छ।
परिचय खुल्ने कुनै कागजात बिना विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने प्रहरीले जनाएको छ। म्यानमारमा गृहयुद्व चर्कन थालेपछि त्यसको प्रभावले विस्थापित भएर त्यहाँका नागरिक नेपाल आउने सम्भावना बढेको भन्दै झापा प्रहरीले नाकामा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। म्यानमारमा पछिल्लो चरणको हिंसा गत महिना रोहिंग्या लडाकुहरुले सेनामाथि आक्रमण गरेपछि भड्किएको थियो ।
नेपालको भूमिबाट लुकिछिपी रोहिंग्या समुदायले म्यानमारविरुद्ध गतिविधि गर्नसक्ने आशंकामा प्रहरीले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पछिल्लो चरणमा हत्या, आगजनी, बलात्कार र लखेटाइको सिकारमा परेका अल्पसंख्यक रोहिंग्या समुदाय विस्थापित भएपछि शरणार्थीका रूपमा कही कतै नेपाल प्रवेश गर्ने पो हुन् की भन्ने आशंकामा नाकामा कडाई गर्न थालिएको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णुकुमार केसीले बताए। ‘अन्य दिनको तुलनामा मंगलबारदेखि सुरक्षा व्यवस्था र चेकजाँचलाई कडाई पारिएको छ,’ उनले भने, ‘बेलैमा सजगता अपनाएका हौ।’
प्रहरी केसीका अनुसार अध्यागमन विभागको काकडभिट्टास्थित कार्यालय र नेपाल प्रहरीलगायतको सक्रियतामा नाकामा कडाई गरिएको हो।
अल्पसंख्यक रोहिंग्या समुदायका लडाकुमाथि त्यहाँका सरकारी सेनाले जवाफी कारबाही सुरू गरेपछि रोहिंग्या समुदायका मानिस बंगलादेशसम्म आईपुगेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन्। नेपाल र बंगलादेश बिचको सीमा ५२ किलोमिटरको दूरीमा छ। यो बिचमा भारतीय भूमी पर्छ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित