शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं –  मानव शरीरमा लाग्ने रोगजस्तै हामीले प्रयोग गर्ने मोबाइल, कम्प्युटरजस्ता सामानमा पनि विभिन्न रोग लाग्ने गर्दछ । हामी त्यसलाई भाइरस भनेर चिन्ने गर्दछौँ । त्यसैले भाइरस संक्रमणपछि त्यसको उपचार गर्नुभन्दा सकेसम्म कम्प्युटरमा भाइरस लाग्न नदिनेतर्फ सोच्नुपर्छ । कम्प्युटरमा भाइरस लाग्यो भने काममा बाधा उत्पन्न हुनुका साथै कम्प्युटरमा राखिएका फाइल पनि हराएर हैरान हुन्छ । हामीले केही सावधानी अपनाएर कम्प्युटरलाई भाइरस लाग्नबाट बचाउन सकिन्छ ।

कम्प्युटरमा भाइरस लाग्यो भने कम्प्युटर स्लो हुने, फाइलहरू हराउने, कम्प्युटर आफैँ बन्द हुने, अनावश्यक फाइलले मेमोरी फुल हुने, फाइलहरू नखुल्ने, कम्प्युटरमा अनावश्यक सर्टकट फाइलहरू बन्नेजस्ता समस्या देखा पर्न सक्छन् ।


कम्प्युटरमा रहेका ब्लुटुथ, फाइल सेयरिङ फिचर र वाइफाई आदिबाट भाइरस सर्न सक्छ । इन्टरनेटबाट अनावश्यक सफ्टवेयर डाउनलोड गर्दा, प्राइभेट सफ्टवेयरहरू कपी गर्दा नेटवर्कबाट डाटा एक्सचेन्ज गर्दा कम्प्युटरमा भाइरस लाग्ने सम्भावना बढी हुन्छ । कम्प्युटरमा भाइरस लाग्दा कम्प्युटर खुल्न बढी समय लिन्छ । कम्प्युटरमा इरर देखाउँछ ।

नचिनेका अनलाइन साइटहरू खोल्दा, नचिनेको इमेलबाट पनि भाइरस सर्ने सम्भावना हुन्छ । हामीले जोकोहीले पठाएको इमेल चेक गर्नु हुँदैन । बजारबाट किनेर ल्याएका गेमका सिडीबाट, इन्टरनेटबाट प्रोगाम डाउनलोड गर्दा, पेनड्राइभ, मेमोरी कार्ड, फ्लपी डिस्कबाट फाइल सार्दा भाइरस सर्ने सम्भावना बढी हुन्छ । एन्टिभाइरस सफ्टवेयरलाई समय–समयमा अपडेट गराइराख्नु पर्छ । पेनड्राइभ, सिडीमार्फत कम्प्युटरमा भाइरस लाग्ने भएकाले खोल्नुभन्दा पहिले स्क्यान गर्नुपर्छ ।

एन्टिभाइरस राख्यो भने केही हदसम्म भाइरसबाट कम्प्युटरलाई जोगाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया