‘२ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा कुनै सुरक्षा चुनौती छैन’

काठमाडौं – असोज २ गते हुने २ नम्बर प्रदेशको स्थानीय चुनावमा सुरक्षा चुनौती नरहेको नेपाल प्रहरीले जनाएको छ । २ नम्बर प्रदेशको आठ वटै जिल्लाको सुरक्षा तयारी पूरा भइसकेको जनाउँदै प्रहरीले सुरक्षा चुनौती नरहेको बताएको हो ।

२ नम्बर प्रदेशमा अहिलेसम्म कुनै सुरक्षा थ्रेट नदेखिएको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले बताउनुभयो । भारतीय सीमा नाकामा पनि थप कडाई गर्दै सुरक्षा व्यवस्था मिलाइएकाले अहिले कुनै चुनौती नदेखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । २ नम्बर प्रदेशमा अघिल्ला चुनावमा जस्तो म्यादी प्रहरी परिचलान नभएपनि तीन वटै सुरक्षा निकाय परिचालन हुने छन् ।

अहिले आठ वटामा जिल्लामा मात्रै चुनाव हुन लागेका सुरक्षाकर्मी पर्याप्त भएकाले म्यादी प्रहरी परिचालन नगरिएको हो । पहिलो र दोस्रो चरणको चुनावमा भने ७५ हजार म्यादी प्रहरी परिचलान भएका थिए । दुई नम्बर प्रदेशका आठ वटा जिल्लामा गरेर झण्डै २६ हजार प्रहरी परिचालन हुनेछन् । त्यस्तै सशस्त्र प्रहरी बल र नेपाली सेना पनि चुनावमा खटिने छन् ।

अघिल्ला दुई चुनावको जस्तै यो पटक पनि तीन तहको सुरक्षा घेरा मिलाइएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहनेछ । दुई नम्बर प्रदेशमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तहमा असोज २ गते चुनाव हुँदैछ ।

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित