म्यानमारकी नेतृ सू ची राष्ट्रसंघ नजाने

काठमाडौं – म्यानमारकी नेतृ आङ सान सू ची न्यू योर्कमा हुन लागेको संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने उनका एकजना प्रवक्ताले बताएका छन् ।

म्यानमारमा तीन लाख भन्दा बढी रोहिंज्याहरु देश छोडेर भाग्नुपर्ने गरी ठूलो हिंसा मच्चिइरहेका बेला सू चीको यो निर्णय आएको छ ।  सू चीले हिंसा विरुद्ध बोल्न नसकेको आरोप पश्चिममा रहेका उनका समर्थकहरुबाट बेहोरिरहेकी छन् ।

आलोचकहरुले सू चीलाई दिइएको नोबेल शान्ति पुरस्कार फिर्ता लिइनुपर्ने बताइरहेका छन् । सू ची आलोचनाबाट नडराएको तर उनीसँग शायद अरु नै महत्वपूर्ण काम रहेको उनका प्रवक्ताले बताए । उनले विस्तृत विवरण दिएनन् । सू चीले गत वर्ष राष्ट्र संघलाई सम्बोधन गरेकी थिइन् ।

राष्ट्र संघले म्यानमार सरकारले रखाइन राज्यमा जातीय सफाया गरिरहेको आरोप लगाएको छ । तर राष्ट्र संघका लागि म्यानमारका राजदूतले रखाइन राज्यको हिंसाका लागि रोहिंज्या विद्रोहीहरु जिम्मेवार रहेको आरोप लगाएका छन् । बौद्धमार्गी बहुल रखाइन राज्यमा रहेका राज्य बिहीन रोहिंज्या मुस्लिमहरुले लामो समयदेखि समस्या भोग्दै आएका छन् ।

म्यानमारले रोहिंज्याहरुलाई गैर कानुनी आप्रवासी भन्छ । बुधबार बस्ने राष्ट्र संघीय सुरक्षा परिषदको बैठकमा रोहिंज्याबारे छलफल हुने बताइएको छ । –बीबीसीबाट ..

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित