शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – हामी धेरै समय चिन्तामा गुज्रिरहेका हुन्छौँ । हामीलाई सधैँ खुसी रहन विभिन्न खालका चुनौतीले बाधा पुर्याइरहेको हुन्छ ।

सोही कारण चाहेर पनि खुसी हुन सकिँदैन । यसले गर्दा शारीरिक, मानसिक र भावनात्मक रूपमा अस्वस्थ भइरहेका हुन्छौँ ।

त्यसो भए निरन्तर खुसी रहन के गर्ने त ? अथवा मुड फ्रेस गराउन के गर्ने त ? आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यका लागि तनावलाई व्यवस्थापन गर्दै यसरी आफ्नो मुड फ्रेस गराउन सक्नुहुन्छ :

सकेसम्म हाँस्ने प्रयास गर्नुहोस्

मनलाई खुसी बनाउन हाँसो सबैभन्दा राम्रो औषधि हो । यसले मुडलाई परिवर्तन गरेर खुसी बनाउन सहयोग गर्छ । हाँसोले शरीरमा रोगप्रतिरोधात्मक शक्ति पनि बढाउँछ ।

त्यसैले दैनिक केही समय चुट्किला पढ्ने, रमाइलो भिडियो हेर्ने बानी गर्नु राम्रो हुन्छ । आफू पनि हाँस्ने र अरूलाई पनि हँसाउने बानीले मुड फ्रेस बनाउन मद्दत गर्छ ।

राम्रो कामको सुरुवात

मानिस सामाजिक संस्थाहरूमा संलग्न भएर सेवा गर्दा स्वस्थ र खुसी हुन सक्छ । सेवाभावले एक किसिमको अपूर्व सन्तुष्टि प्राप्त हुन सक्छ । सेवाभावले हामीमा करुणा, दया, प्रेम भाव विकास गर्छ । यसले पनि मुडलाई फ्रेस बनाउन सहयोग गर्छ ।

संगीत सुन्नुस्

संगीतले मानिसको मुड तुरुन्त परिवर्तन गर्न सक्छ । यसले तनावलाई सहज रूपमा हटाउने हुनाले अमेरिकातिर दुखाइ व्यवस्थापनका लागि म्युजिक थेरापी पनि गर्ने गरिन्छ ।

अनुसन्धानकर्ताहरूले संगीतसँग खुसीको सम्बन्ध रहेको पनि बताउँछन् । त्यसैले तनाव हुन थालेपछि तुरुन्त मधुर संगीत, सुफी संगीत र शास्त्रीय संगीत सुन्दा मुड फ्रेस बनाउन सहयोग गर्छ ।

खुसीको स्मरण

हामी सधैँ खुसी हुन प्रयास गर्छौं । आफूलाई जे गर्दा खुसी महसुस हुन्छ, सोही कार्यलाई दोहो¥याउनुपर्छ । बिहान उठेदेखि नै खुसी भएर दिनको सुरुवात गर्नुपर्छ ।

हरेक दिन खुसी हुने कम्तीमा तीनवटा कुरा स्मरण गरौँ । जसले हाम्रो शरीर, मन, भावनामा खुुसीको ऊर्जा सञ्चारित हुन्छ । दिनभरको मुडलाई ताजा बनाउन सहयोग गर्छ ।

धारणा परिवर्तन गर्नुहोस्

हामी हरेक समय आफूलाई अरूसँग तुलना गर्ने गर्छौं र दुःखी हुन्छौँ । तर, यसरी तुलना गर्ने बानी परिवर्तन गरेमा तुरुन्त फ्रेस भइन्छ । मसँग के छैनभन्दा पनि के छ भनेर सतुष्टि लिने बानी गर्नुपर्छ । प्रत्येक पललाई उत्तम मानेर सकारात्मक बाटोमा हिँड्न सक्नुपर्छ ।

ध्यान गर्नुस्

व्यस्त एवं तनावपूर्ण समयमा ध्यानको महत्व धेरै छ । नियमित ध्यानको अभ्यासले तनावलाई व्यवस्थापन गरी आनन्द बढाउँछ । ध्यानका धेरै विधिमध्ये आफूलाई सजिलो लाग्ने विधिको अभ्यास गर्न सकिन्छ ।

जब मुड अति नै बिग्रन्छ, त्यतिवेला गहिरो लामो श्वास लिने र छाड्ने गर्न सकिन्छ । यसले मुडलाई तुरुन्त बदल्न सहयोग गर्छ ।

रमाइला साथीभाइसँग संगत

तपाईंका कतिपय साथीभाइ रमाइला खालका पनि हुन सक्छन् । तपाईं निराश भएका वेलामा उनीहरूका रमाइला कुराले तपाईंलाई निराशाबाट बाहिर धकेल्न सहयोग गर्न सक्छ । सकेसम्म मुड अफ भएका वेला यस्ता साथीहरूको संगत गर्दा राम्रो हुन्छ ।

तपाईको प्रतिक्रिया