म्यानमारः विद्रोहीको युद्धविराम अस्वीकार

काठमाडौं –  म्यानमार सरकारले रोहिंज्या मुस्लिम विद्रोहीद्वारा एकतर्फी रुपमा गरिएको युद्धविराम घोषणा अस्वीकार गरेको छ । नेतृ आङ सान सूचीका प्रवक्ताले म्यानमार सरकारले ‘आतंकवादीहरुसँग वार्ता नगर्ने’ ट्वीटरमार्फत बताएका छन् ।

यसअघि आइतवार आर्कन रोहिंज्या साल्भेशन आर्मी (आर्सा) ले मानवीय सहायता पुर्‍याउन दिन भन्दै एक महिनाका लागि युद्धविराम घोषणा गरेको थियो । आर्साले गत २५ अगस्टमा प्रहरीमाथि आक्रमण गरेपछि सेनाले सैनिक कारबाही शुरु गरेको थियो ।

सैनिक कारबाही शुरु भएयता तीन लाख रोहिंज्या मुस्लिमहरु छिमेकी बांग्लादेशतर्फ भागेका छन् । रोहिंज्याहरु बौद्धमार्गी बहुल म्यानमारका मुख्यतः मुस्लिम अल्पसंख्यक हुन् । राज्यविहीन रोहिंज्याहरुले रखाइन बौद्धमार्गी र सेनाले गाउँ जलाउँदै आफूहरुविरुद्ध क्रुर अभियान चलाएको बताउँछन् ।

म्यानमारले त्यसलाई अस्वीकार गर्दै आएको छ र सेना रोहिंज्या ‘आतंकवादी’सँग लडिरहेको बताउने गरेको छ । विद्रोही समूहले सुरक्षा फौजलाई उनीहरुको जस्तै युद्धविराम गर्न र मानवीय सहायताकर्मी संस्थाहरुलाई आफ्नो काम पुन: शुरु गर्न आग्रह गरेका थिए ।

संयुक्त राष्ट्रसंघले सहायता समूहलाई ७ करोड ७० लाख डलर आवश्यक पर्ने बताएको छ ।बीबीसीबाट..

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित