एनआरएनको इ-भोटिङ बदर गर्न उपाध्यक्षका उम्मेदवार सिलवालको माग

टोकियो – आइतवार सम्पन्न एनआरएन जापानको इ-भोटिङ र यसको नतिजा बारे ब्यापक असन्तुष्टिहरु आईरहेकै बेला उपाध्यक्षका उम्मेदवार द्रोणप्रसाद सिलवालले इ-भोटिङका नाममा ब्यक्तिको मताधिकार हनन भएको आरोप लगाउँदै यसप्रकारको षडयन्त्रपूर्ण निर्वाचन बदर गरिनुपर्ने माग गरेका छन् ।

आइतवार भएको निर्वाचनमा उपाध्यक्ष पदमा पराजित सिलवालले एक बिज्ञप्ती प्रकाशित गर्दै निर्वाचन षडयन्त्रपूर्ण भएको भन्दै खेद प्रकट गरेका छन् ।

निर्वाचन समितिले ब्यापक अनियमितता गरी बदनियतपूर्वक आफुहरुलाई हराईएको भन्दै उक्त निर्वाचन बदर गरिपाउँ भनि निर्बाचन समिति र एनआरएन आइसीसीमा निबेदन दिएको सिलवालले बताए ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष लगायतका प्रमुख पदहरुमा यसअघिनै सहमति भईसकेको परिप्रेक्ष्यमा निर्बाचन समितिले ७२ प्रतिशत मत खसेको बताएको छ भने एक आईपीबाट ५ जना मतदाताले मात्र मतदान गर्न पाउने नियम सुनाएको सो समितिले पछि एउटै आइपीबाट सयौंले मतदान गर्न पाउने गरी खुल्ला गरेको भन्दै पराजित उम्मेदवार तथा मतदाताहरुले सामाजिक सञ्जालमा तिब्र आक्रोश पोखिरहेका छन् ।

अझ रमाईलो प्रसंग त कतिपय मतदाताले आफै भोट हाल्न पाएनन्, अगाडि नै कसैले मतदान गरिसकेको भेटियो, उम्मेदवारसमेत यो मारका भागिदार बन्न पुगे । एनआरएन जापानको इतिहासमा पहिलोचोटी उपयोग गरिएको इ-भोटिङ आफैमा समयको माग भएपनि निष्पक्ष र विवादरहित बन्न सकेन ।

सिलवालको विज्ञप्ती जस्ताको तस्तै :एनआरएन जापान निर्बाचन समिति तथा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद समक्ष
जापानमा भएको झुटमुठको निर्बाचन बदर गर्न निबेदन
जापानमा मिति २०१७ सेप्टेम्बर ३ तारिखमा भएको निर्बाचनमा उपाध्यक्षमा मैले पनि उमेद्वार दिएर निर्बाचनमा सहभागी भएको थिए । यसपल्टको निर्बाचन ई-भोटिंगबाट हुन्छ र स्वस्थरुपमा हुन्छ भन्ने विश्वास गरेर मैले पनि निर्बाचनमा सहभागी भई प्रबासमा भएको नेपालीको विकासको लागि, जापान एनआरएनमा सधै अपारदर्शीरुपमा रहिरहने बजेटको पारदर्शिता तथा सदस्यता वितरणको बिषयमा पारदर्शी र सामाजिक संस्थाकोरुपमा यो संस्थालाई लान काम गर्छु भन्ने प्रतिबद्ताका साथ सहभागी भएको थिए ।

हामी जापान जस्तो मुलुकमा बसेर कम्तिमा पनि प्रबिधिको पारदर्शी प्रयोग हुन्छ भन्ने बिश्वास मैले लिएको थिए तर आज निर्बाचनको सुरुवात देखि नै ई-भोटिंगलाई देखाउने दात मात्र बनाई सारा एनआरएन जगतलाई गुमराहमा पारि प्रबिधिको चरम दुरुपयोग गरि हामी निर्बाचनमा होमिएका सम्पूर्ण उमेद्वार मात्र नभई संसार भरिको एनआरएन नेपाली हरुलाई अचम्म लाग्ने गरि बास्तबिक भोटिंग नै नगरि केहि बर्ष पहिले नागोयामा एनआरएनको भोटिंग गर्दा बांडफांड गरि आफ्नो आफ्नो नजिकको मान्छेहरुलाई यति यति भोट भयो भनेर भित्रि सहमति गरि समाचार सुनाए जस्तो गरि गरिएको कुरा खुल्न आएको छ । सम्पूर्ण प्रबासी नेपाली यसले दुखि हुनुका साथै अचम्मित भएका छन ।
ई-भोटिंगको नाममा यसरी फट्याई गरि निर्बाचन समिति आफै लागेको र कुनै पनि उम्मेद्वारको प्रतिनिधि समेतलाई नराखी आफु आफै बसी आफु खुशीले गिध्दले मासु लुछाचुंड गरे जस्तो गरेर भोटको अंक बाडफाड गरि घोषणा गरिएको निर्बाचनको नतिजा बहिस्कार गर्छु । यस्तो अबैध तरिकाले ब्यक्तिको भुइँ तल्ला अफिसमा बसी रक्सि मासु पैसा गमनको भरमा गरिएको संसार हसाउने नाटकीय एनआरएनको सम्पूर्ण निर्बाचन प्रक्रिया र कथित महाभारतको लाक्क्ष गृह गन्ध आउने असामाजिक षडयन्त्रमुलक निर्बाचन प्रक्रियाको म घोर निन्दा र भत्सर्ना गर्दछु ।

यस प्रकारको प्रबिधिको नाममा गरिएको ठाडो धोकापूर्ण निर्बाचनबाट म लगायत सम्पूर्ण प्रबासी नेपाली स्तब्ध भएका छौ, यस्तो अपारदर्शी , सम्पूर्ण नेपालीहरुलाई झुक्याउने गरि गरिएको सम्पूर्ण निर्बाचन बदर गरि कानुनी र नैतिक जिम्मेवारी निर्बाचन मण्डलले लिनपर्छ । साथै एनआरएन अन्तर्राष्ट्रिय समितिले यस बिषयमा पारदर्शी ढंगले छानबिन गरि पुन: निर्बाचन गर्न म हार्दिक अपिल गर्दछु । यो सम्पूर्ण जापानबासी नेपाली माग हो ।
जापान जस्तो ठांउमा गरिएको यस्तो अवान्छित, भुत्ते, जग हसाउने नक्कली निर्बाचनलाई बदर गरि पुन: एउटा स्वस्थ निर्वाचन टोली बनाई प्रबासी नेपालीको हित हुने पारदर्शी प्रक्रियाबाट निर्बाचन गराउन हार्दिक अनुरोध गर्दछु । अघोर र अनैतिक कथित निर्बाचनको सबैले चारै तिरबाट बिरोध र पर्दाफास हुंदै गैरहेको जानकारी समेत गराउंदछु ।
जापानबासी सम्पूर्ण प्रबासी नेपालीहरुले पनि यस बिषयमा गहिरो ध्यान केन्द्रित गरि आफ्नो आफ्नो ठाउँबाट बुलन्द आवाज उठाउनुहुन हार्दिक अपिल गर्दछु । हामी प्रबासी नेपालीको विकास यस्तै अधिनायकबादीहरुको षडयन्त्रको क्रमिकताले नै रोकिरहेको छ अब हामीले यसको पर्दाफास गर्दै सत्य र तथ्य कुरा उजागर गर्न एक जुट हुनुपर्छ ।
प्रबासी नेपालीको जय होस्
द्रोण सिलवाल
उपाध्यक्षका उमेद्वार
एनआरएन जापान
मिति -२०१७ सेप्टेम्बर ३ तारेख

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित