शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ नेतृत्व चयनअन्तर्गत ४ पदका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । उपाध्यक्ष २, सचिव १, महिला सदस्य १ र केन्द्रीय सदस्य ५ गरी ४ पदका लागि आज भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको हो ।

निर्वाचनबाट २ उपाध्यक्ष, १ सचिव, १ महिला सदस्यमा र ५ जना केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक ओम गुरुङले जानकारी दिनुभयो । २ उपाध्यक्षका लागि ५ को उम्मेदवारी परेकोमा ४ हजार २ सय ७६ मतसहित शिवप्रसाद पौडेल र ३ हजार ९ सय ५८ मतसहित सरोजकुमार खत्री निर्वाचित हुनु भएको छ ।

यस्तै १ सचिवका लागि २ जनाको उम्मेदवारी परेकोमा ३ हजार ७ सय ७४ मतसहित जनकबिक्रम शाही निर्वाचित हुनु भएको छ । १ महिला सदस्यका लागि ३ जनाको उम्मेदवारी परेकोमा ३ हजार ३ सय ४० मतसहित सृजना पाण्डे निर्वाचिन हुनु भएको संयोजक गुरुङले जानकारी दिनुभयो । यस्तै ५ केन्द्रीय सदस्यका लागि २१ जनाको उम्मेदवारी परेकोमा हस्त लामा, बालकृष्ण कंडेल, लालबहादुर रावल, नारायण खड्का र राजनकुमार पौडेल निर्वाचित हुनु भएको छ ।

यसअघि अध्यक्षमा टासी वाङ्दी लामा, बरिष्ठ उपाध्यक्षमा देविलाल भण्डारी, महिला उपाध्यक्षमा अनिता गुरुङ (लामा), महासचिवमा बुद्धिराज घिमिरे, कोषाध्यक्षमा कालिकाथापा र सह-कोषाध्यक्षमा रामथापा (अनिल) सर्बसम्मत् चयन भइसक्नु भएको छ ।

निर्वाचन समितिले निर्धारण गरेको समयअनुसार आज बिहान १० बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेर २० मिनेटमा जाँदा सकिएको हो । अनलाइन भोटिङमार्फत गरिएको मतदानमा जम्मा ७२.६५ प्रतिशत मत खसेको निर्वाचन समितिले बताएको छ ।

१० हजार ३ सय २७ मतदाता रहेको एनआरएनए जापानको आइतबारसम्म निर्वाचनमा जम्मा ७ हजार ५०३ मत खसेको थियो ।मतदानका लागि एनआरएनए जापानको १३ वटा क्षेत्रमा मतदान केन्द्र तोकिएको थियो ।

तपाईको प्रतिक्रिया