बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं – तपाईंहरू जोकोही पनि बच्चा जन्माउँदै हुनुहुन्छ भने पूर्वतयारी गर्नुपर्छ । पूर्वतयारीविना गर्भ बसेको खण्डमा केही समस्या उत्पन्न हुन सक्छ । त्यसैले सामान्य कुराहरूको जानकारी लिएर मात्रै बच्चा जन्माउने हो भने तपाईं र शिशुको स्वास्थ्य राम्रो हुन सक्छ । त्यसैले केही महत्वपूर्ण कुरा ख्याल गरेर मात्रै बच्चा जन्माउने निर्णय गरौँ ।

कलिलो उमेरमा बच्चा नजन्माऔँ
कलिलो उमेरमा गर्भधारण गर्नु राम्रो होइन । कलिलो उमेरमा गर्भधारण गरेको खण्डमा बेथा लामो हुने, शिशु जन्माउन गाह्रो हुने, शिशु पनि कम तौलको हुने एवं महिना नपुगी बेथा लाग्ने हुँदा आमा र शिशु दुवैको ज्यान जोखिममा हुन्छ ।


कहिले गर्ने अल्ट्रासाउन्ड ?
आर्थिक विपन्नता वा सेवाको अभावले पटक–पटक अल्ट्रासाउन्ड गराउन नसके पनि गर्भमा रहेको शिशुमा कुनै किसिमको शारीरिक समस्या छ या छैन थाहा पाउन गर्भावस्थाको करिब १६ देखि २२ हप्ताभित्र कम्तीमा एकपटक अल्ट्रासाउन्ड गराउनुपर्छ ।

 गर्भावस्थाको अन्त्यतिर देखिने चिह्न
गर्भावस्थाको अन्त्यतिर बेथा लाग्नुपूर्वका चिह्नहरू तल्लो पेट दुख्ने, हल्का रगत मिसिएको सिँगानजस्तो देखा पर्ने, पिसाबजस्तै पानी बग्ने आदि देखा पर्न सक्छ ।

 गर्भवतीले के–के जाँच गराउनुपर्छ ? 
प्रत्येक गर्भवती महिलाले हेमोग्लोबिन, रक्त समूह, यौनरोग ‘भिडिआरएल’, एचआइभी एवं हेपाटाइटिस बी, ब्लडसुगरसम्बन्धी रगत जाँच, पिसाब जाँच एवं भिडियो एक्स–रे गराउनुपर्छ । यसका अतिरिक्त कतिपय महिलामा देखा परेको स्वास्थ्य समस्याअनुसार थप जाँच गराउनुपर्छ । जाँचमा प्रत्येकपटक तौल लिने, रक्तचाप र नाडीको गति नाप्ने एवं रक्तअल्पता भए÷नभएको तथा खुट्टा सुन्निएको छ/छैन जाँच्नुपर्छ ।

कहिले–कहिले बढ्छ पेटको उचाइ ? 
गर्भावस्थाको १२ हप्तापछि मात्र बाहिरी पेट जाँच गरी पाठेघर छाम्न सकिन्छ । गर्भावस्थाको १२ हप्तामा पुठ्ठाको हड्डी अघिल्लो भागसम्म, २० हप्तामा नाइटोको तल्लो भागमा, २४ हप्तामा नाइटोको माथिल्लो भागमा र ३६ हप्तामा मध्यछातीको हड्डीमुनिसम्म पाठेघरको पेटको उचाइ बढ्छ ।

 पहिलो गर्भावस्थामा दुईपटक टिटी खोप लिने
पहिलो गर्भावस्थामा दुईपटक टिटि खोप लिनुपर्छ । त्यस्तैगरी, फोलिक एसिड र आइरन एवं क्याल्सियम क्रमशः पहिलो र दोस्रो त्रैमासिकदेखि खानुपर्छ । यसका साथै शक्ति प्राप्त हुने थप कार्बोहाइड्रेड तथा प्रोटिनयुक्त खाना खानुपर्छ ।

 जथाभावी औषधि सेवन नगरौँ
गर्भावस्थाको चौथो हप्तादेखि दशौँ हप्तासम्म शिशुको मुटु तथा स्नायु प्रणालीअन्तर्गतका महत्वपूर्ण अंग निर्माण हुने भएकाले अनावश्यक रूपमा जथाभावी औषधि सेवन तथा चुरोट एवं मद्यपान गरे गम्भीर प्रकारका शारीरिक समस्या भएका शिशु जन्मन सक्छ ।

तपाईको प्रतिक्रिया