शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग २-१ गोल अन्तरले पराजित भएको छ । जितसँगै भारत समूह ‘बि’ को विजेता बनेको छ ।

एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा २७ औँ मिनेटमा गोल गर्दै बिक्रम प्रताप सिंहले नेपाललाई अग्रता दिलाएका थिए । ४० औँ मिनेटमा पाएको पेनाल्टीमार्फत भारतका रोशनले बराबरी गोल फर्काए । खेलको ६४ औँ मिनेटमा रवि बहादुर रानाले गोल गर्दै भारतलाई २–१ को अग्रता दिलाए । त्यसपछि दुवै टिमबाट पाएका अवसर सदुपयोग हुन सकेन र भारत २-१ ले विजयी भयो ।

गएको सोमबार नेपालले माल्दिभ्सलाई ६-० गोल अन्तरले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । यस्तै भारतले माल्दिभ्सलाई ९-० गोल अन्तरले हराएको थियो । जसकारण गोल अन्तरका आधारमा भारतले बुधबार नेपालसँग बराबरी गरे मात्र पनि समूह विजेता बन्थ्यो । समूह ‘बि’ मा भारत, माल्दिभ्स र नेपाल छन् । माल्दिभ्स समूह चरणबाटै बाहिरिएको छ ।

समूह ‘बि’ उपविजेता बनेको नेपालले सेमिफाइनलमा आउँदो शुक्रबार समूह ‘ए’ को विजेता बंगलादेश र समूह ‘बि’ को विजेता बनेको भारतले समूह ‘ए’ को उपविजेता भुटानसँग खेल्नेछ । दक्षिण एसियाली फुटबल संघ साफको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु भएको प्रतियोगितामा समूह ‘ए’ मा बंगलादेश, श्रीलंका र भुटान छन् ।

प्रतियोगितामा पाकिस्तानले भने सहभागिता जनाएको छैन । गएको वर्ष पहिलो संस्करण यु–१६ च्याम्पियनसिप भएपछि एएफसीले यस पटकदेखि यु-१५ च्याम्पियनसिपको आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया