बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – अविरल वर्षाका कारण अवरुद्ध बनेको सिन्धुपाल्चोकस्थित मेलम्ची सडकखण्ड अझै खुल्न सकेको छैन् । गएराति साढे दुई बजेतिर झरेको ढिस्कोले सडकखण्ड पुरेको थियो । पहिरोले ढलेको रुखले दुई वटा घरमा क्षति पुगेको छ ।

तीस मिटर वरिपरिसम्म फैलिएको पहिरोले प्रमुख सडकखण्डको यातायात ठप्प बनेको छ । एक्साभेटरको प्रयोग गरी अहिले पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । पहिरो धेरै झरेकाले पहिरो पन्छाउन दुई दिन लाग्न सक्ने प्रहरी निरीक्षक नवराज ढुंगानाले बताउनुभयो । प्रमुख सडक ठप्प भएपछि यात्रु र बिरामी बिच बाटोमै अलपत्र परेका छन् । यस्तै, मेलम्ची बजारमा खसेको पहिरोका कारण बस्ती जोखिममा परेको छ ।

व्यापारिक केन्द्रको रुपमा रहेको मेलम्ची बजारको माथिल्लो भेग पहिरोको उच्च जोखिममा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भूकम्पले कमजोर बनेको पहाडको ढिस्को जुनसुकै बेला खस्ने जोखिम रहेको भन्दै स्थानीय अन्यत्र सर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया