बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – अमेरिकाको एक अदालतले क्यान्सरपीडित एक महिलालाई जोन्सन एन्ड जोन्सन कम्पनीले ४१ करोड ७ लाख अमेरिकी डलर अर्थात् करिब ४२ अर्ब ७५ करोड ९६ लाख ४७ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएको छ ।

लस एन्जेलसस्थित अदालतका न्यायाधीशको इजलासले क्यालिफोर्नियाली एक महिलाले कम्पनीको बेबी पाउडर प्रयोग गर्दा डिम्बाशयको क्यान्सर भएको दाबी गर्दै दायर गरेको मुद्दाको फैसलामा उक्त आदेश दिएको हो । जोन्सन एन्ड जोन्सन कम्पनीको टेलकम पाउडर प्रयोगका कारण महिलाको गर्भाशयमा क्यान्सर भएपछि क्षतिपूर्ति दिन अदालतले आदेश दिएको हो ।

अदालतले ६३ वर्षीया इभा इचेभर्रियालाई उक्त रकम उपलब्ध गराउन आदेश दिएको बताइएको छ । ती महिलाले ११ वर्षको उमेरदेखि जोन्सन एन्ड जोन्सन कम्पनीको पाउडर प्रयोग गर्दै आएको बताएकी छन् । तिघ्राको काछ वरपर उनी नियमित रुपमा कम्पनीको बेबी पाउडर प्रयोग गर्थिन् । अमेरिकाका विभिन्न अदालतमा कम्पनीविरुद्ध शृङ्खलाबद्ध सुनुवाई हुँदै आएको छ ।

तर हालसम्मकै सबैभन्दा ठूलो रकम क्षतिपूर्ति पाउन पाउने इचेभर्रिया पहिलो बनेकी छन् । पाउडर प्रयोग गरेकै कारण आफूलाई डिम्बासयको क्यान्सर भएको भन्दै अन्य महिलालाई जोन्सन एन्ड जोन्सनको टेलकम पाउडर प्रयोग नगर्न सल्लाह दिएकी छन् ।

तर कम्पनीका प्रवक्ता कैरोल गुडरिचले भने अमेरिकी अदालतको यो फैसला गलत भन्दै अपील गर्ने बताएका छन् । वैज्ञानिक हिसाबले पनि सो पाउडरमा खराबी नहुने भन्दै उनले अमेरिकी अदालतको फैसला गलत भएको बताएका छन् । –एजेन्सी

तपाईको प्रतिक्रिया