शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

निलु आज जति खुशी छिन् त्यतिकै दुखि पनि । खुशी यस मानेमा छिन् कि वर्षौको प्रयासपछि उनको बैदेशिक रोजगार यात्रा तय भएको छ र सपनाको देश जापान उड्दैछिन् । दुखी यस मानेमा छिन् कि आफुलाई जन्माउने हुर्काउने र सबैभन्दा माया गर्ने बाबुआमा र घरपरिवारसंग बिछोडिएर पराईको अज्ञात अज्ञात देशमा जाँदैछिन् ।

नचाहँदा नचाहँदै पनि समयले बिदाबादीको घन्टी हानिसकेको हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याउन आएका आफन्तहरुसंग बिदाईको हात हल्लाउँदै अमिलो मन बनाएर निलु अध्यागमन भित्र प्रवेश गर्छिन् । भित्र आवश्यक सबै चेकजाँच सकेपछि बोर्डिङ पास लिएर उनी प्रतीक्षालय कक्षमा टुसुक्क बस्न पुग्छिन् । पहिलो बिदेश यात्रा त्यसमाथि एक्लै भएकोले मनमा केही डर, केही चिन्ता, अनि केही ग्लानी र अन्यौलता त छँदै थियो । केही समय बाँकी रहेकोले सम्झनैपर्ने २, ४ जना साथीसंगीनीहरुलाई फोन गरिन् र फोनबाटै बिदाबादी भईन् । यात्रुहरु चलमलाउन थालेपछि जहाज चढ्ने बेला भएको बुझ्न उनलाई गाह्रो परेन । अरु यात्रुहरु जस्तै उनी पनि जहाजतर्फ लागिन् । मनभरि अनेकौ तर्कना र सपनाका हाँगाबिगाहरु बुन्दै जहाजको भर्‍याङ उक्लेको उनले चालै पाईनन् । हवाईपरिचारिकाको सहयोगले उनी आफ्नो सिटमा पुगेर बसिन् । उनले साथीसंगीबाट सुनेकी थिईन् कि बिदेशतिरको हवाईयात्रामा केही थाहा भएन भने संगैको यात्रुले जे जसो गर्छन् त्यसै त्यसै गरेपछि समस्याको हल हुन्छ । उनले पनि ठिक त्यसै गरिन् । जहाज बैंककतर्फ उड्दै थियो । बैंककसम्मको यात्राभरि उनको मनको फुलबारीमा अनेकौ रंगका रंगीचंगी फूलहरु फुलिरहेका थिए । जापान पुगेपछि वर्षौदेखि छुट्टिएको उसंग भेट हुने छ । म अचानक उसलाई भेट्न पुग्दा आहा उ कति खुशी होला ? कल्पनामै हराउँदै भित्रभित्रै उनी पुलंकित हुन्थिन् । किनभने निलुले आफ्नो उ लाई आफु जापान आउँदै गरेको कुरो भनेकी थिईनन् । नभन्नुको कारण अरु केही नभएर ’सर्पराइज्ड’ दिनु त छँदैथियो अरु केही भित्री कुराहरु पनि थिए ।

निलु र बिनय ६ वर्ष अगाडि अन्तर्जातीय बिहे गरेका दम्पती हुन् । मध्यपश्चिमकी निलु र सुदुरपूर्वको बिनय फेसबुकमार्फत बनेका साथी हुन् । पारस्परिक संवाद बाक्लिदै गएपछि उनीहरुबीच मायाप्रीति झांगिन पुगेको थियो । केही वर्षको अन्तरालमा उनीहरुबिच धेरै बिषयमा मन मिल्दै गएपछि दुवैजनाको परिवारको सहमतिमा यी दुईको परम्परागत सामाजिक सँस्कार अनुसार पोखराको बिन्ध्यबासिनीमा बिहे भएको थियो । बिहे भएको २ महिनामै बिनय अध्ययनका लागि जापान उडेको थियो । नवबिबाहित जोडी छुट्टिन परेपछि पीडा त हुने नै भयो ।

समय बित्दै गयो । यता बिनय जापानको रंगीचंगीमा साथीभाइसंग हराउन थाल्यो । शुरुशुरुमा दैनिक फोन सम्पर्क गर्ने, के छ कसो छ भनेर चिन्ता गर्ने बिनयमा बिस्तारै बिस्तारै परिबर्तन देखिन थाल्यो । उता निलुलाई भने सँधै एक्लो एक्लो महशुस हुन्थ्यो, कहीँ गएर पनि उनलाई रमाईलो लाग्दैनथ्यो । संगै जिउने, संगै मर्ने वाचा-कसम खाएर बिबाह गरेको श्रीमान बिदेशमा, आफु नेपालमा छुट्टिएर बस्नुको पीडा निलुले कसैसंग पोख्न सक्दिनथिई । कहिलेकाँही मुश्किलले निलुले आफ्नो पीडा ओकल्दा बिनयले अब छिट्टै निलुलाई पनि जापान झिकाउने र दुखसुख संगसंगै जिउने आश्वासन दिन्थ्यो । आश्वासनले मात्रै पनि निलुलाई कम्ती खुशी बनाउँदैनथ्यो, त्यही खुशीमा बुर्कुसी मार्दै उ भुंइमा न भाँडोमा हुन्थी । तर वषौं बित्यो बिनयले निलुलाई कहिलै जापान बोलाएन र बोलाउने पत्यार लाग्न छोड्यो । आफ्नी छोरीका लागि जापान झिकाउंदा लाग्ने खर्चपर्च भनेर निलुको बाबुले बिनयलाई करिव ६, ७ लाख रुपैंया पनि सहयोग गरेका थिए । उसो त बिनय जापान आउँदा पनि निलुको बाबुले केही आर्थिक सहयोग गरेकै थिए । तर बिनयको आश्वासनबाट निराश भएकी निलुले हरेस भने खाईनन् । आफै अगाडि सरेर जापान आउन सकिने बिभिन्न उपायहरु बारे बिभिन्न माध्यमबाट आफै बुझ्न थालिन् र दृढ संकल्प गरिन् अब जसरी पनि जापान पुगेरै देखाईदिने । यस साहसिक काममा निलुलाई उनको बाबुले पनि पुरै साथ दिए ।

बैंककमा केही घण्टाको ट्रान्जिट पछि थाई एअरवेजको जेट विमान जापानको आकाशमाथि आईसकेको थियो । निर्धारित समयमै विमान नारिता विमानस्थलमा अवतरण भयो । अध्यागमनको सबै चेकजाँचपछि बाहिर निस्कदै गर्दा निलुलाई कहिले संसारको अर्कै ग्रहमा आएजस्तो त कहिले सपनामा छु जस्तो महशुस हुन्थ्यो । निलुलाई रिसिभ गर्न निकै बेरदेखि बाहिर प्रतिक्षारत निलुको दाजु रविनसंग उनको भेट हुन्छ । दाजुबहिनीबीच केहीबेरको खुशी साटासाटपछि उनीहरु गन्तब्यतिर लाग्छन् । केही वर्षदेखि जापानमै अध्ययनरत निलुको दाजु रबिनको पढाई र बसाई योकोहामा भएकोले उनीहरु उतै लाग्छन् । एकदिनको आरामपछि तेस्रो दिन निलुले दाजुलाई लिएर बिनयलाई भेट्न जान्छिन् । बिनयले काम गर्ने ठाउँको ठेगानाको आधारमा बिनयलाई पत्ता लगाउन खासै गाह्रो पर्दैन । अचानक आफ्नो सामुन्ने निलुलाई देख्दा बिनय दंग पर्छ । उसलाई पत्याउन गाह्रो हुन्छ । केहीबेर दुखसुखको कुराकानी पछि आफु अहिले कम्पनीको कोठामा बसेको र परिवारसहित त्यहाँ बस्न नमिल्ने भएकोले छिट्टै एउटा कोठा लिएर संगै बस्ने र सक्दो छिटो निलुको लागि काम खोजिदिने आश्वासन दिएर बिनयले निलुलाई बिदा गर्छ । बिनयसंगको जम्काभेटमा निलुले अपेक्षा गरेजस्तो खुशीको गन्ध उसमा थिएन । बिनयको अनुहारमा चिन्ताको बादल मडारिएको जस्तो निलुलाई महशुस भयो । पहिलो कुरो त आफुले जापान झिकाउन नसकेकोमा बिनयको अनुहारमा लघुताभास झल्कन्थ्यो भने दोस्रो बिना जानकारी निलु अचानक जापान आईपुगेकोमा बिनयले खुशी प्रकट गरेन । सकेजति आफुलाई नियन्त्रण गर्दै सामान्य अवस्थामा प्रस्तुत हुन खोजे पनि उसको अनुहारमा सांकेतिकरुपमा असन्तुष्टी झल्कन्थ्यो ।

दिन बिते, हप्ता बिते, महिना बिते तर बिनयले आफ्नी श्रीमतीलाई संगै बस्ने बन्दोबस्त मिलाउन चाहेन । कहिलेकाँही निलुले निकै करबल गरेर भेट्न खोजे पनि आफु निकै ब्यस्त भएको अभिनय गर्ने, धेरै खुलेर प्रस्तुत नहुने र सकेसम्म टाढिन खोज्ने गर्दथ्यो । बिनय फोन सम्पर्कमा पनि आउन नचाहने र निलुको बारेमा बेवास्ता गर्न थालेपछि आफ्नै सम्पर्कसूत्रको माध्यमबाट सामान्य जिबिका चल्ने खालको काम कोठाको ब्यवस्था गरी निलुले जापानमा संघर्षको यात्रा शुरु गरिन् । उनलाई कहिलेकाँही मनभरि सजाएका आफ्नै सपनाहरुले जिस्काएझैं लाग्थ्यो । जिन्दगी नै पुरै औंशीको रात जस्तो हुन्थ्यो । आफुले त्यति धेरै माया गरेको, चाहेको र सर्बस्व सुम्पेको मान्छेको बिश्वास फिका फिका लाग्थ्यो । जसको सहारा र आडभरोसामा निलु जापान आएकीथिईन् उसैबाट यति ठूलो धोका भएपछि धर्ती भासिएको र आकाश खसेजस्तो हुन्थ्यो । उनलाई बेकारमा जापान आएकोजस्तो भयो । तर बाध्यताको जाँतोमा पिसिदैं बाँच्नका लागि मात्र भए पनि काम गर्नुको विकल्प थिएन उनलाई यो बिरानो रस्तीबस्तीमा ।

बिनय एक सामान्य परिवारको इमान्दार र मिहिनेती केटो थियो । जापान आएपछि जापानी भाषा कोर्स १ वर्ष पनि पुरा नपढीकन संगतका कारण उ शरणार्थीमा गएको थियो । कलेज जान नपर्ने भएपछि उसले हप्ताभरि काम गर्थ्यो, टन्न पैसा बुझ्थ्यो । केही समय त्यसरी कमाएको केही रकम उसले साझेदारी ब्यवसायमा लगानी गरेको थियो । उसले संगै पढ्ने बुटवलतिरकी एकजना केटी साथी जुनासंग मिलेर पार्टनरी गरेको थियो । जुना पनि बिबाहित नारी थिईन् । उनको श्रीमान पनि नेपालमा जुनाले कहिले जापान बोलाउलिन् भनि दिन गनेर बसिरहेका थिए । उनीहरुको सात बर्षकी एक छोरी पनि थिइन् ।

दिनहरु बित्दै गयो, बिनय र जुनाबिचको सम्बन्ध साझेदारी ब्यवसायमा मात्रै सीमित रहेन । भनिन्छ भावनाको दुरी नरहेपछि शारीरिक दुरीको अर्थ हुँदैन । दिनरात संगै काम गर्ने, संगै खाने, संगै बस्ने भएपछि उनीहरु घोषितरुपमा श्रीमान श्रीमती हुन मात्र बाँकी थिए । समाजको आँखामा बिजनेश पार्टनरी जस्तो देखिए पनि उनीहरु अब मानौ कहिलै नछुट्टिने गरी एकअर्कामा बाँधिएका थिए ।

जापान आईसकेपछि निलुले बिनयको बारेमा सबै बेलीबिस्तार पत्ता लगाईन् । यद्यपि उनले विनयलाई सम्झाउन अनेकौ प्रयास नगरेकी होईन । जतिनै गरे पनि ढुंगा जस्तो मन नपग्लेपछि अब बिनयसंग जिन्दगीको गाडी अगाडि नबढ्ने देखेपछि निलुले घरमा सरसल्लाह गरिन् । बाबुआमाले छोरीको भविष्य बारे सोचेर उचित निर्णय गर्न सल्लाह दिएपछि निलुले जीवनलाई नयाँ गोरेटोमा हिडाउने निर्णय गरिन् । परिणामस्वरुप निलु र बिनयबीच चिसिएको सम्बन्धमा पूर्ण विराम लाग्यो । उनीहरु सँधैका लागि छुट्टिए ।

समय बित्दै गयो, एक वर्ष अगाडिको कुरो हो । बिदा मनाउन नेपाल गएको बेला निलुले गतिलो घरकेटो हेरेर बिहे गरिन् । बाबुआमा सबैको सहमतिमा उनले स्वजातिय बिबाह गरेकी हुन् । आफुलाई धोका दिएको चोट सहन नसकेर बिनयलाई देखाउनैका लागि भए पनि निलुले अलि हतारमा बिबाह गरेर जापान आएकी थिईन् । उता बिनयको बिजनेश पार्टनर जुनाको पनि केही महिना अगाडि श्रीमान र छोरी नेपालबाट आएका छन् । जुनाको श्रीमान आईसकेपछि बिनय अहिले बिलखबन्दमा परेको छ । उसले एकातिर हुँदाखाँदाकी श्रीमती गुमाउनु परेको छ भने आफुले गरेको गल्तीको पश्चातापको रापले उसलाई भतभती पोल्न थालेको छ । त्यति मात्रै नभएर ब्यवसायमा आफुले गरेको लगानी पनि आफ्नो नाममा केही पनि नभएकोले जुनाको चलाखीपनका कारण सबै माया मारेर खाली हात बाहिरिनु परेको छ । अब भने बल्ल बिनयको घैंटोमा घाम लाग्न थालेको छ, उसले अचेल निलुलाई दिनदिनै फोन गरेर हैरान पार्ने गरेको छ। फोनमा सँधै उसको एउटै प्रश्न हुने गर्दछ – के हामी पहिलेकै अवस्थामा फर्कन सक्दैनौं ? समय धेरै बलवान छ, समयले नै कहिले कसलाई रुवाउँछ, कहिले कसलाई हसाउँछ, कहिले पछार्छ, कहिले उफार्छ । भनिन्छ समयमा चेत नआउनु र समय ढल्केपछि आउनु उस्तै उस्तै हो । समयले अहिले बिनयलाई न घरको ढिडों न गोठको खीर बनाएको छ । ती पुराना दिनहरु सम्झेर पश्चाताप गरिरहेको छ ।

(कथामा उल्लिखित घटना र पात्र सबै काल्पनिक हुन् कसैसंग मेल खान गएमा संयोग मात्र हुने छ)

तपाईको प्रतिक्रिया