शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँचदिने राजकीय भ्रमणमा नयाँ दिल्ली जानुभएको छ ।  उहाँ नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली जानुभएको हो ।

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा श्रीमती आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लाग्नुभएको हो । नयाँदिल्लीमा बिहीबार द्विदेशीय उच्चस्तरीय वार्तासहित भेटघाट र अन्य कार्यक्रममा प्रधानमन्त्री देउवा बेलुकी अबेरसम्म अति व्यस्त हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतको बाह्य मामिला मन्त्रालयसँगको समन्वयमा परराष्ट्र मन्त्रालयले तयार पारेको प्रधानमन्त्रीको प्रस्तावित भ्रमण तालिकाअनुसार बुधबार दिउँसो नयाँदिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्रामपछि उहाँले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नुहुनेछ । आजै बेलुकी प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।

बिहीबार बिहान राष्ट्रपति भवनमा समकक्षी नरेन्द्र मोदीले औपचारिक समारोहबीच स्वागत उहाँलाई गर्नुहुनेछ । त्यसपछि महात्मा गान्धीको समाधिस्थलमा पुगेर उहाँले पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । भोलि नै प्रधानमन्त्री देउवासँग भारतका बाह्य मामिला मन्त्री सुस्मा स्वराजले शिष्टाचार भेट गर्नुहुनेछ भने त्यस लगत्तै हैदरवाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच सहयोगीरहित एक्लाएक्लै भेटवार्ता हुनेछ ।

दुई देशका सरकारप्रमुखबीचको भेटवार्तापछि हैदरावाद हाउसमा नै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्नुहुनेछ भने नेपाल–भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम छ ।

दुबै देशका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई सम्बोधन गरेपछि प्रधानमन्त्री मोदीले आफ्नो सम्मानमा हैदरावाद हाउसमा आयोजना गर्नुहुने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिह हुनुहुनेछ । त्यहि दिन दिउँसो राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नैडूसँग प्रधानमन्त्री देउवाले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ ।

त्यसैगरी, उहाँसँग गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।  प्रधानमन्त्री देउवा आउँदो आइतबार बेलुकी स्वदेश फर्किने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया