शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वाङमय शताब्दी पुरुष डा सत्यमोहन जोशीलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।

आज आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीतेन्द्रनारायण देवले उहाँलाई सम्मान गर्दै जोशीले नेपाली भाषा, साहित्य र संस्कृतिको अनुसन्धानमा जोशी सक्रिय भई सिर्जनात्मक लेखनको माध्यमबाट नेपाली साहित्य र संस्कृतिको अभिवृद्धि गरेको बताउनुभयो । संस्कृतिविद् जोशीले नेपाली कला संस्कृतिका विभिन्न विशिष्टता रहेको र त्यसलाई अन्तरराष्ट्रिय तहमा पुर्याउन सकेमा यसले नेपाल र नेपालीको गौरब बढाउने विचार व्यक्त गर्नुभयो ।

सोही मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले नेपाली संस्कृतिको गरिमालाई जोशीले उचाइमा पुर्याएकाले पहिलो पटक उहाँलाई सो उपाधिबाट सम्मान गरिएको बताउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मुलुकको इतिहास, भाषा, कला तथा संस्कृतिले मानव सभ्यताको विभिन्न चरणकाबारे अनुसन्धान गर्न सकिने हुँदा यिनको संरक्षण गर्न मन्त्रालयले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैबीच भाषा तथा साहित्य, संस्कृति, संगीत तथा नाट्य र ललितकला विधाको प्रबद्र्धनका लागि विगत २२ वर्षदेखि मन्त्रालयले उपलब्ध गराउँदै आएको उक्त पुरस्कार वितरण गरिएको छ । महाकवि देवकोटा पुरस्कार बानिरा गिरी, परशु प्रधान, कृष्ण गौतम, नगेन्द्रराज शर्मा र वासुदेव मुनाललाई प्रदान गरिएको छ । पुष्पलाल राष्ट्रिय पुरस्कार प्राडा राम खेलावन साह, प्रा हिरण्यलाल श्रेष्ठ र मोदनाथ प्रश्रितलाई प्रदान गरिएको छ ।

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार प्राप्त गर्नेमा रामेश्वर मण्डल खत्वे र मिठाइदेवी विश्वकर्मा हुनुहुन्छ । राष्ट्रिय प्रतिभा पुरस्कार हरिहर शर्मा, सुन्दरकृष्ण जोशी, गोविन्दलाल सिंह डङ्गोल र तारानन्द मिश्रलाई दिइएको छ । उहाँहरुलाई रु एक लाख पुरस्कारसहित सम्मान गरिएको हो ।  क्षेत्रीय प्रतिभा पुरस्कार संगीत तथा नाट्य विधामा परशुराम राई, तीर्थकुमारी थापा, मेनकाजी गुरुङ, कमलकुमार विश्वकर्मा र दीपेन्द्रप्रसाद दाहाललाई प्रदान गरिएको छ ।

क्षेत्रीय प्रतिभा पुरस्कार भाषा तथा साहित्य विधामा गंगा सुवेदी, रुकु कार्की, अविनाश श्रेष्ठ, सृजन लम्साल र हेमन्त जोशीलाई प्रदान गरिएको छ । क्षेत्रीय प्रतिभा पुरस्कार ललितकला विधामा विक्रम तिम्सिना, रतनकुमार राई, भीमप्रसाद शर्मा, धोर्चे गुरुङ्ग लामा र नन्दकली राना थारुलाई प्रदान गरिएको छ ।

क्षेत्रीय प्रतिभा पुरस्कार संस्कृति विधामा ताराबहादुर बुढाथोकी, विजय दत्त, ईन्द्रबहादुर गुरुङ, बमकुमारी बुढा र दिनानाथ बराललाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि ५० हजार रहेको छ ।

तपाईको प्रतिक्रिया