बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – धेरैले चिल्लो-पिरो बढी भएको खानेकुरा मन पराउँछन् । कतिपयलाई खानामा माछा–मासु नभए रुच्दै नरुच्ने पनि हुन्छ । उपलब्ध हुँदा धेरै खाने र कहिले नखाई-नखाई दिन काट्ने पनि हुन्छन् । यी सबै बानी स्वास्थ्यका लागि हानिकारक हुन्छन् । भोक लाग्दा तत्काल खाना उपलब्ध नभए पानी भए पनि खाइरहनुपर्छ ।

वयस्क व्यक्तिलाई दैनिक डेढदेखि दुई लिटर पानी आवश्यक पर्छ । हामीले खाने कुराहरूमा पनि पानीको मात्रा हुन्छ । दैनिक दुई लिटरसम्म पानी शरीरले पाएन भने बेहोस हुने, पिँडुला फर्किने, थकाइ लाग्ने, टाउको दुख्ने, झुम्म पार्नेजस्ता समस्या देखिन्छन् । तौल र उचाइअनुसार खानेकुराको ब्यालेन्स मिलाउनुपर्छ । औसतमा महिलालाई १६ सयदेखि दुई हजारसम्म क्यालोरी आवश्यक पर्छ भने पुरुषलाई १८ सयदेखि २४ सयसम्म चाहिन्छ ।

दैनिक खानामा हरियो सागपात, गेडागुडी, फलफूल तथा पहेँलो र हरियो खानेकुरा बढी मात्रामा खानुपर्छ । बिहान खाली पेटमा मनतातो पानी हाम्रो शरीरलाई आवश्यक पर्छ । एकैपटक धेरै पानी खाँदा किड्नीमा असर गर्न सक्छ । ठोस खानेकुरा दिनमा तीन–चारपटक गरेर खानुपर्छ । एकपछि अर्को खाने समय धेरै खाली गर्नुहुँदैन । लामो समयसम्म नखाँदा ग्यास्ट्रिकको समस्या निम्तिन्छ ।

पेट टम्म हुने गरी पनि खानुहुँदैन । राति धेरै खाना खाँदा नपच्ने, मोटोपनको समस्या हुनेजस्ता समस्या देखिन्छन् । माछा–मासु खाँदा ३ देखि ५ टुक्रा मात्र खानु राम्रो हुन्छ । रातो मासु नखाएकै उत्तम हुन्छ । -एजेन्सी

तपाईको प्रतिक्रिया