बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

जापान – हरितालिका तीजको अवसरमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको तीज बिशेष कार्यक्रम आइतवार टोकियोमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै जापानकी समाजसेवी अग्रज महिला इन्दिरा सुजुकीले तीज पर्वले नेपालीहरुबीच भाइचारा र एकता कायम गर्नुका साथै नेपाली नारीहरुलाई सामाजिक जिम्मेवारीप्रति सजग र प्रोत्साहित गर्दै आईरहेको बिचार ब्यक्त गर्नुभयो । एनआरएन जापानकी सल्लाहकारसमेत रहेकी सुजुकीले जापानमा तीज लगायतका सामाजिक तथा साँस्कृतिक पर्वहरुले आपसमा मिलेर बस्ने भावनाको बिकासमा मद्दत पुगेको धारणा राख्नुभयो ।

मोना जापानका अध्यक्ष महेन्द्र बानियाँको सभापतित्वमा भएको सो कार्यक्रममा आयोजक संस्थाको तर्फबाट कार्यक्रम संयोजक पबित्रा पुनले हरितालिका तीजको शुभकामना ब्यक्त गर्नुका साथै उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।
यसैगरी संस्थाका सल्लाहकार समेत रहेका पत्रकार तिलक मल्लले बिश्वभरिका म्याग्देलीहरुको सम्मेलनकारुपमा मोनाको दोस्रो केन्द्रीय अधिवेशन आगामी अक्टुबरको ८, ९ र १० मा म्याग्दीको दरबाङ बजारमा हुन गईरहेको जानकारी गराउँदै जापानबाट पनि सक्दो सहभागिता हुनुपर्ने बिचार ब्यक्त गर्नुभयो । उहाँले समृद्ध म्याग्दी निर्माण अभियानका लागि बिश्वब्यापी म्याग्देलीहरुको नेटवर्क बिश्वका २६ राष्ट्रमा बिस्तार भईसकेको सन्दर्भमा मोना जापानको भूमिका थप प्रभावकारी बनाउन जरुरी रहेको धारणा ब्यक्त गर्नुभयो ।

उत्साहजनक सहभागीहरुको उपस्थिति रहेको कार्यक्रममा राधिका सापकोटा, मीना लोहनी लगायतका कलाकारहरुले तीजको मौलिक भाका पस्केका थिए । तीज बिशेष साँगीतिक चरणमा मोना जापानका प्रवक्ता समेत रहेका डिजे जोन छन्त्याल, मोना जापानका सदस्य राम खड्काले संयोजनकारी भूमिका निर्बाह गरेका थिए । तीज बिशेष परिकार दर खाँदै सहभागीहरु मनोरञ्जनात्मक तीजे भाकामा झूमेका थिए ।

मोना जापानकी उपाध्यक्ष इन्दिरा गर्बुजाको सञ्चालन रहेको सो कार्यक्रममा मोनाका एशिया क्षेत्रीय उपाध्यक्ष महेन्द्र खड्का, सल्लाहकारहरु याम खड्का, गमप्रसाद जुग्जाली, ददिवल खड्का, गल्कोट समाज जापानका अध्यक्ष नरबहादुर थापा,  पुन क्लवका अध्यक्ष प्रीतम पुन, म्याग्दी टोड्के बिकास समितिका अध्यक्ष मोहन खत्री लगायतका बिशेष अतिथिहरु रहेका थिए ।

प्रमुख अतिथि र कार्यक्रमका सभापतिद्वारा दीप प्रज्वलनसंगै सामुहिक राष्ट्रिय गानबाट कार्यक्रमको उदघाटन गरिएको थियो । कार्यक्रम शिनओकुबोस्थित टोकियो रोधी क्लवको सभाकक्षमा भएको थियो ।***

तपाईको प्रतिक्रिया