शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – साथीहरूबीचको सम्बन्ध जोडिन जति सहज छ, टिक्न उति नै गाह्रो छ । कहिलेकाहीँ सामान्य कुराले पनि वर्षौंदेखिको सम्बन्ध टुट्न सक्छ । साथीहरूबीच एकपटक गडबडी भए अर्कोपटक विश्वास गुम्न सक्छ ।

सम्बन्धमा धेरैजसो यो मेरो हो, त्यो तेरो हो जस्ता स–साना कुराले सम्बन्ध बिगारिरहेको हुन्छ । यदि आफ्ना नजिकका साथीहरूबीचको सम्बन्ध टिकाइराख्न धेरै ठूलो योगदान गरिराख्नु पर्दैन । सामान्य केही कुरा महत्वपूर्ण हुन्छन् र ती कुराको ख्याल गर्न जरुरी छ ।

आर्थिक कारोबार सफा गर्नुहोस्

एक–आपसमा हुने धनको लेनदेनले सम्बन्धमा दरार उत्पन्न हुने गरेको पाइन्छ । आफूहरूबीचमा जतिसुकै गहिरो सम्बन्ध भए पनि आर्थिक कारोबार बढ्यो भने खटपट सुरु हुन्छ । त्यसैले सकेसम्म नजिकका साथीहरूबीच गरिएको आर्थिक कारोबारलाई सधैँ सफा गराउने प्रयास गर्नुहोस् । आर्थिक कारोबार बिग्रँदै गयो भने हिजोसम्म नजिक ठानिएका साथीबीच दुस्मनी पनि सुरु हुन सक्छ ।

सानो काममा साथीको आशा नगरौँ
स–साना काम सकेसम्म आफैँ गर्ने बानीको विकास गर्नुहोस् । सकेसम्म कोसिस गर्नुहोस्, यस्ता काम सकेसम्म म आफैँ गर्नेछु । मुस्किलको घडीमा मात्रै साथीको सहयोगको आशा गरियो भने त्यो सम्बन्ध धेरै समयसम्म टिक्न सक्छ । हामी जस्तो काममा पनि साथीको आशा गर्छौं, तर त्यसो गर्नु हुँदैन ।

विश्वास गर्नुहोस्
हरेक व्यक्तिको सम्बन्ध टिक्नका लागि एकले अर्कालाई विश्वास गर्न जरुरी छ । यो कुरा ध्यानमा राख्नुहोस् कि कहिल्यै आफ्नो साथीप्रतिको विश्वासमा तुषारापात नगर्नुहोस् । एउटा सामान्य गल्तीले पनि सम्बन्धमा खटपट हुन सक्छ । त्यसकारण आफ्नो साथीप्रति अनावश्यक शंका गर्ने बानी कहिल्यै नगर्नुस् ।

साथीलाई बेवास्ता नगर्नुहोस्
कहिलेकाहीँ आफू व्यस्त भएको वेलामा साथीहरूलाई बेवास्ता नगर्नुहोस् । साथीहरूबीचको सम्बन्ध सधैँ राम्रो बनाउनका लागि साथीहरूका हरेक कुरालाई सुन्ने र बुझिदिने तथा आफ्ना समस्या सहज तरिकाले भन्न जरुरी हुन्छ । म व्यस्त छु भन्ने, फोन नउठाउने,महत्वपूर्ण कुरा भन्नु छ भनेर साथीले गरेको आग्रहलाई नसुन्ने हो भने तपाईंको साथी एकाएक गुम्न सक्छ अथवा तपाईंहरूबीचको सम्बन्ध टाढिँदै जान सक्छ ।

घमण्ड नगर्नुहोस्
जस्तोसुकै खालको साथी किन नहोस्, एक–आपसमा कहिल्यै केही कुराको घमण्ड नगर्नुहोस् । घमण्डले कहिलेकाहीँ आफू अर्काे साथीबाट टाढिँदै जान पनि सकिन्छ । सकेसम्म नम्र बोल्ने र हरेक समस्यामा सहज तरिकाले समाधानको बाटो पत्ता लगाउने साथीहरूबीचको सम्बन्ध सहज तरिकाले टिक्न सक्छ । आफ्नो तलब, घरपरिवार, गाडी, सम्पत्ति अथवा जेसुकै कुराको किन नहोस्, घमण्ड गर्नु हुँदैन ।

तपाईको प्रतिक्रिया