मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

नेदरल्याण्डस – सेप्टेम्बर २ तारिखका दिन नेदरल्याण्डसमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय मेलामा नेपाल पनि सहभागि हुने भएको छ ।

एम्बेसी फेस्टिभल नामले परिचित उक्त मेलामा नेपाललाई आकर्षक ढंगले सहभागी गराउन नेपाली राजदूतावाससहित नेदरल्याण्डसका सबै नेपाली संघ संस्थाहरु तीव्र गतिमा जुटेका छन् । अन्तर्राष्ट्रिय मेलामा नेपालको सहभागितालाई ‘विविधतामा एकता, नेपालको विशेषता’ भन्ने अवधारणा दिइएको छ । सोही अनुसार मेलामा प्रस्तुत हुन लागेको आयोजक मध्येका एक नेदरल्याण्डसका व्यवसायी फणिन्द्र पन्तले जानकारी दिनुभयो ।

नेपाली राजदूतावास, नेदरल्याण्डसका लागि जनरल कन्सुटेल, नेदरल्याण्डसका लागि पर्यटन दूतहरु, एनआरएनए अन्तर्राष्ट्रिय परिषद अन्तर्गतको संस्कृति तथा सम्पदा प्रवर्द्धन समिति, एनआरएन नेदरल्यान्ड्स राष्ट्रिय समिति, नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मंच, नेपाल समाज नेदरल्याण्डस, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज लगायत नेदरल्याण्डसमा रहेका विभिन्न संघसंस्थाहरुको सामूहिक सहभागिता रहने मेलामा विशेषगरी नेपाललाई अन्तर्राष्ट्रियमा परिचित गराउदै नेपालको पर्यटन प्रवर्द्धन अभियानलाई सघाऊ पुर्याउन उच्च महत्व दिइने उहाँले बताउनुभयो ।

मेलामा नेपालको सहभागितालाई उत्कृष्ट र आकर्षक बनाउने विषयमा नेपाली राजदूतावासका पदाधिकारीसहित विभिन्न संघ संस्थाका प्रतिनिधीले सर्वपक्षीय छलफल गरेका छन् । छलफलबाट विभिन्न जिम्मेवारी समेत बाँडफाँड गरिएको छ । साथै छलफलले नेपाल झल्कने विभिन्न नृत्य तथा नेपाली बाजासहितको सांगीतिक प्रस्तुती, नेपाली खानाका परिकार, हस्तकलाक सामाग्री र नेपाली भेष भुषासहित मेलामा प्रतुस्त हुने निर्णय गरेको छ ।

विश्वका करिव ५० भन्दा बढि देशको सहभागितामा नेदरल्याण्डसको द हेग शहरमा हरेक वर्ष आयोजना हुदै आएको छ । अन्तर्राष्ट्रिय मेलामा नेपाललाई भने दोश्रो पटक सहभागि गराइन लागिएको हो ।

तपाईको प्रतिक्रिया