शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – बाढी पीडितको सहयोगका लागि जापानमा नेपाली चलचित्र ‘छक्का पञ्जा-२’ को प्रदर्शन गरिने भएको छ । ओटु इभेन्ट्सले दशैको फूलपातीको दिन अर्थात सेप्टेम्बर २७ तारिख र अक्टोबर ८ तारिखका दिन चलचित्र प्रदर्शन गर्ने भएको हो ।

आयोजकका अनुसार सेप्टेम्बर २७ तारिख बुधबारका दिन नाकानो जिरो हलमा पहिलो प्रदर्शन गरिनेछ भने अक्टोबर ८ तारिख आइतबारका दिन सोही हलमा दोस्रो प्रदर्शन गरिनेछ । चलचित्र प्रदर्शनबाट उठेको रकम बाढी पीडितहरुको राहत र पुनःस्थापनामा खर्च गरिने आयोजकले जनाएको छ । नेपालमा बाढी र पहिरोका कारण धेरै नागरिक पीडित भएका बेला जापानमा रहेर सामाजिक कार्यमा संलग्न युवाहरुको समूह ओटु इभेन्ट्सले चलचित्र प्रदर्शन गर्न लागेको हो ।

उक्त प्रदर्शन साँझ ६ः३० बजे सुरु हुने आयोजकले जनाएको छ । नाकानो जिरो हलमा प्रदर्शनपछि जापानका अन्य शहरहरुमा पनि चलचित्र प्रदर्शन गरिनेछ । फुकुओका, नागोया, ओसाका लगायतका शहरहरुमा प्रदर्शनको तयारी रहेको आयोजकले जनाएको छ । चलचित्र प्रदर्शनको इभेन्ट म्यानेजमेन्ट भने सनराईज प्रोडक्सनले गर्ने भएको हो ।  इभेन्ट्सले गर्न लागेको सकारात्मक काममा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले सहयोग गर्ने प्रतिवद्वता जनाएको छ ।

इभेन्ट्सले आफूहरुले एनआरएनए मार्फत नै संकलन भएको सहयोग रकम नेपाल पठाउने जनाएको छ । चलचित्र प्रदर्शनको तयारीमा रहेको इभेन्ट्सले जापानमा क्रियाशिल संघ-संस्था र जापानमा रहेका नेपालीहरुलाई सहयोगका लागि आग्रह गरेको छ ।

दिपाश्री निरौलाको निर्देशनमा निर्मित चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, किरण केसी, प्रियंका कार्की, वर्षा राउतसँगै स्वस्तिमा खड्का र स्वरुप पुरुष ढकालको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया