बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – नेपाली काँग्रेसका सांसद मिठु मल्लले बिना आधार निर्वाचनमा असहयोग गरेको आरोप लगाउँदै पार्टीले आफूलाई कारबाही गरेको बताउनुभएको छ । आज राजधानीमा आयोजित पत्रकारसम्मेलनमा आफूमाथि पार्टीले गरेको कारबाही कपोलकल्पित र निराधार भएको उहाँले बताउनुभएको हो ।

“मैले आफ्नो जीवनको अधिकांश समय नेपाली काँग्रेस र प्रजातन्त्रका लागि खर्चेको छु तर मलाई आज पार्टीलाई असहयोग गरेको झुटो आरोपमा कारबाही गरेको छ,” सांसद मल्लले भन्नुभयो । आफूमाथि कारबाही गर्ने आधार पार्टीलाई नभएको स्पष्ट पार्दै उहाँले आफूले असहयोग गरेको आधार देखाउनसमेत जिल्ला कार्यसमितिलाई चुनौती दिनुभयो ।

वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई हराएर नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई जिताउन भूमिका निर्वाह गरेको आरोप लगाउँदै पार्टीको जिल्ला कार्यसमितिले सांसद मल्लसहित २१ जनालाई कारबाही गरेको थियो । पार्टीले आफूमाथि कारबाही गरे पनि निरन्तर काँग्रेसमा लागेर काम गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया