शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – मनकामना सिर्जनशील महिला समूहले तीजको अवसरमा दर खान उठाएको रकम तराईका बाढी पीडितलाई दिने भएको छ ।
तीजमा हुने विकृतिलाई निर्मूल पार्दै सामाजिक र महिला उत्थानमा कृयाशील महिला समूहले यस पटक दर खाने कार्यक्रम नगरि तराईं क्षेत्रका महिला समूहहरुलाई सहयोग गर्न चाहेका हुन् । उनीहरुले प्रतिव्यक्ति उठाएको करीब २५ हजार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत दिन लागेको सिर्जनशील महिला समूहकी महासचिव शर्मिला श्रेष्ठले बताउनु भयो । समूहले हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा अनुकरणीय काम समेत गरेको छ । मनकामना क्षेत्रमै आयोजना गरिएको कार्यक्रम नाचगानमा भन्दा पनि महिला सचेतना र शसक्तीकरणमा केन्द्रित थियो । महासचिव श्रेष्ठ भन्नुहुन्छ – ‘हामी नाचगान भन्दा पनि सामाजिक काममा बढी केन्द्रित छौं ।’ सँस्कृतिको जगर्ना गर्ने र पुराना परम्परालाई निरन्तरता दिने नाममा भइरहेको विकृतिलाई हटाउनु आजको महिलाहरुको मुख्य चुनौति रहेको भन्दै देश तथा विदेशमा रहेका सबै नारीहरुमा यस्तो खालको सन्देश जाओस् भन्ने उद्देश्यले एक दिने महिला सचेतना एवं शसक्तीकरण कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित रहनु भएका डिक्नेटी फाउन्डेशन अफ् नेपालकी अध्यक्ष कृष्णेश्वरी हाडाले महिला सचेतना र शसक्तीकरण सम्बन्धि तालिम दिनु भएको थियो भने पद्धति विकासकी अध्यक्ष कमला लामिछानेले नेतृत्व विकास सम्बन्धि तालिम दिनु भएको थियो । उहाँहरुले महिलालाई कृयाशील बनाउने, नेतृत्व विकास गर्ने, अदालति प्रकृया, संविधानमा समेटिएको महिलाको भूमिका र अधिकार तथा त्यसको कार्यान्वयनलगायतका विषयमा तालिम दिनु भएको थियो ।
एक दिने कार्यक्रममा समूहकी अध्यक्ष निर्मला श्रेष्ठले संस्था स्थापना गर्नुको उद्देश्य, संस्थाले गर्दै आएका गतिविधि तथा आगामी दिनमा गर्ने कार्यक्रमका बारेमा स्पष्ट पार्नु भएको थियो । उहाँले तीजलाई भड्किलो नभइ सभ्य रुपमा मनाउने गरि हरितालिका तीजकै दिन एक विशेष कार्यक्रमको आयोजना गर्ने पनि बताउनु भयो । समूहकी कोषाध्यक्ष मिरा जोशीले आर्थिक अभावमा धेरै कार्यक्रमहरु चाहेर पनि गर्न नसकिएको भन्दै सहयोग गर्ने संस्थाहरु भए मनकामना मन्दिर र त्यस आसपासमा थुप्रै सामाजिक कामहरु गर्न सकिने बताउनु भयो ।
मनकामना सिर्जनशील महिला समूहले यस अघि एम्बुलेन्स खरिद गर्न सहयोग गरेको, भूकम्प प्रभावितहरुलाई सहयोग गरेको, शिक्षा, सरसफाइ, हिंसामा रहेका महिला, सँस्कृति जोगाउन तथा मनकामना मन्दिर निर्माणमा पनि प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग गरेको संस्थाकी सचिव उमा श्रेष्ठलेबताउनु भयो । कार्यक्रममा करीब ८० जना महिलाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया