शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – देवेन्द्र पौडेलको नेतृत्वमा नयाँ शक्ति पार्टी नेपालका नेताहरुले वृहत ध्रुवीकरण संयोजन समिति गठन गरेका छन् । छिट्टै राष्ट्रिय भेला आयोजना गर्ने र राजनीतिक कार्यदिशासहितको प्रतिवेदन र घोषणापत्र जारी गर्ने उनीहरुले बताएका छन् ।

देवेन्द्र पौडेलको नेतृत्वमा १५ नेताले हालै ध्रुवीकरणका लागि आहृवान गरेका थिए । लगतै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले उनीहरुलाई स्पष्टिकरण सोधेका थिए । पौडेल समूहले छुट्टै भेला गरेर पार्टी वैचारिक कार्यदिशाको अलमल र अपष्टता रहेको भन्दै पूर्व माओवादी, मधेसवादी, जनजाति, थारु आन्दोलन समेतलाई ध्रुवीकरणका लागि विज्ञप्तिमार्फत फेरि आहृवान गरेको छ ।

साथै ध्रुविकरणको पहल गर्न भन्दै देवेन्द्र पौडेलको नेतृत्वमा वृहत ध्रुवीकरण संयोजन समिति गठन गरिएको छ । यो समूहले छिट्टै राष्ट्रिय भेला गरी राजनीतिक कार्यदिशासहितको प्रतिवेदन र घोषणा पत्र सार्वजनिक गर्ने बताएको छ ।

ध्रविकरणको पक्षमा लाग्नेहरुमा पौडेलसँगै बामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाली, वलालाती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईं, शर्मिली तामाङ, रत्न राना र सविन्द्र सुनुवार छन् । साथै ललित ठगुन्ना र कुलबहादुर मोक्तान पनि यो समूहमा छन् ।

तपाईको प्रतिक्रिया