बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – शुक्रबार नेपाली चलचित्र ‘भुईमान्छे’, र ‘ग्याङ्स्टर ब्लूज’ हलिउड चलचित्र ‘एनाबेल क्रियशन’ सँग प्रतिस्पर्धामा उत्रिएको छ ।

चलचित्र ‘वनफूल’ बाट चलचित्र निर्देशनमा डेब्यु गरेका नवराज बुढाथोकीले ‘भुइँमान्छे’ को निर्देशन गरेका हुन् । शवको चिरफार गर्ने अथवा पोस्टमार्टम गर्ने व्यक्तिको कथा समेटिएको यो चलचित्र सामाजिक मनोविज्ञानमा आधारित छ ।

चलचित्रमा चर्चित भलिबल खेलाडी सिपोरा गुरुङ मूख्य भूमिकामा रहेकी छन् । त्यस्तै कलाकारहरु रमेश बुढाथोकी, साहिन प्रजापती, रोहिणी भट्टराई, पुस्कर गुरुङ, तारा केसीलगायतको अभिनय रहेको छ । चलचित्रमा रहेका गीत महेश पौड्याल र दयाराम पाण्डेले लेखेका छन् । शिव परियार, प्रमोद खरेल, दौलत राई र टिमा प्रसाईँले गाएका छन् । नवराज बुढाथोकीको कथा रहेको यस चलचित्रको निर्माण निरुपा राज्य लक्ष्मी थापाले गरेकी हुन् ।

त्यस्तै शुक्रबारदेखि नै प्रदर्शनमा आएको बहुप्रतिक्षित चलचित्र ‘ग्याङ्स्टर ब्लूज’ अपराध र प्रेम कथामा आधारित छ । हेमराज जिसीको निर्देशन रहेको यस चलचित्रमा अभिनेता आयुष्मान देशराज जोशीका भाइ अशिरमान देशराज जोशीले डेब्यु गरेका छन् ।

चलचित्रमा अन्ना शर्मा, संयम पुरी, रोजिशा शाहीलगायतका कलाकारको अभिनय रहेको छ । कालीप्रसाद बास्कोटको संगीत रहेको यस चलचित्रका केही गीतहरु चर्चित भइसकेका छन् । चलचित्रको गीत ‘आधा कुरा’, ‘अजम्बरी’ र ‘अबला’ दर्शक तथा श्रोताले मन पराएका छन् । अपाराधिक दुनियामा प्रवेश गरेको एकजना व्यक्तिको पश्चातापलाई चलचित्रमा देखाउन खोजिएको छ । चलचित्रमा पैसा कमाउनका लागि जस्तो सुकै काम गर्न पनि तयार भएका व्यक्तिको कथा समेटिएको छ ।

शुक्रबारदेखि नै अंग्रेजी चलचित्र ‘एनाबेल क्रियशन’ प्रदर्शनमा आएको छ । डेभिड एफ स्यान्डबर्गद्वारा निर्देशित यो चलचित्र ‘सुपरनेचुरल हरर’ विधाको चलचित्र हो । स्टेफनी सिगम्यान, तलिथा बेटम्यान, टेलर बक, मिरान्डा ओटोलगायतका कलाकारको अभिनय रहेको ‘एनाबेल क्रियशन’ सन् २०१४ मा बनेको चलचित्र ‘एनाबेल’ कै प्रिक्वेल हो।

चलचित्रमा एनाबेलको मृत्युको कारण देखाइएको छ । आफ्नो मृत्युपश्चात एनाबेल आफ्नो आमाबुवाकोमा आउँदछिन् । उनका आमाबुवाले सुरुमा एनाबेललाई गुडियाका रुपमा पवेश गर्न दिन्छन् तर पछि मात्रै एनाबेलको प्रेतात्मा भएको थाहा हुन्छ । पिटर सफ्रान र जेम्स वानको निर्माण रहेको यो चलचित्रमा ग्यारी डाउबरम्यानको लेखन रहेको छ ।

तपाईको प्रतिक्रिया