शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

महोत्तरी  – महोत्तरीका बाढी प्रभावित क्षेत्रमा ज्वरो र झाडापखालाका बिरामी बढेका छन् । बाढी प्रभावित ठाउँमा चलाइएको स्वास्थ्य शिविरमा ज्वरो र झाडापखालाका बिरामी धेरै भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रभावित क्षेत्रमा खानेपानीको मुहान, ईनार, हाते कल दुषित भएकाले भाइरल ज्वरो र झाडापखालाको संक्रमण देखिएको कार्यालयले जनाएको छ । बाढीप्रभावित क्षेत्रमा चौविसै घण्टा स्वास्थ्य टोली परिचालन गरिएको र औषधी अभाव नरहेको कार्यालयका प्रमुख नागेन्द्रप्रसाद यादवले बताउनुभयो ।

सदरमुकाम जलेश्वरस्थित महेन्द्र माविमा गरिएको परिक्षणको क्रममा एक सय जनामा ज्वरो फेला परेको हो । त्यस्तै चार जनामा डाइरिया फेला परेको हो । महोत्तरीकै लोहरपट्टीमा संचालित स्वास्थ्य परिक्षणको क्रममा ८ जनामा भाइरल ज्वरो र २ जनामा डाइरिया फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख यादवले बताउनुभयो ।

अहिले बाढी प्रभावित क्षेत्रमा यस्ता रोगबाट बच्नका लागि पिउने पानी उमालेर सेवन गर्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया