बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

टोकियो – नेपाली जनप्रगतिशील मञ्च जापानले बाढी-पहिरो पीडितको सहयोगार्थ सहयोग राहत संकलन अभियान सुरु गरेको छ । मञ्चले नेपालको तराई क्षेत्रको बाढी र पहाडी क्षेत्रको पहिरोमा परि पीडित भएकाहरुको सहयोगार्थ राहत रकम संकलन अभियान सुरु गरेको हो ।

संकलित राहत रकम बिशेषगरी चितवन माडी क्षेत्रका बाढी पीडित परिवारलाई सहयोग गर्ने र बाँकि रकम अन्य क्षेत्रका पीडितलाई हस्तान्तरण गर्ने मञ्चले जनाएको छ । मञ्चले एक विज्ञाप्ति मार्फत मातृभुमी पीडामा परिरहेका बेला प्रवासबाट सबैले सहयोग गर्नुपर्ने उल्लेख गरेको छ । साथै विज्ञप्ति मार्फत नै बाढी पीडितका नाममा सहयोग उठाउने र दुरुपयोग गर्ने परम्परा रहेको भन्दै मञ्चले पीडितहरुलाई प्रत्यक्ष सहयोग रकम हस्तान्तरण गर्ने योजना बनाएको जनाएको छ ।

मञ्चले टोकियो भन्दा बाहिर नागोया, ओसाका, फुकुओकालगायतका क्षेत्रमा पनि सहयोग संकलनलाई अभियानकै रुपमा संचालन गरेको जनाएको छ । बाढी पहिरोमा परि मृत्यु भएकाप्रति श्रद्धान्जली व्यक्त गर्दै मञ्चले वेपत्ता भएकाहरुको खोजविन र पीडित परिवारलाई उचित राहत तथा पुनःस्थापनाको व्यवस्था मिलाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

अभियानमा सहयोग गर्न जापानवासी नेपालीहरुमा अनुरोध गर्दै मञ्चले सहयोग गर्न चाहनेहरुले जापान पोस्ट बैंकको खाता नं.१०१७०-४३०२९९११ मा सिधै रकम जम्मा गर्न सक्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया