शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

भाषानुबाद प्रमुख चुनौती 

टोकियो – जापानको समाज कल्याण तथा श्रम मन्त्रालयद्वारा गरिएको एक सर्बेक्षणबाट करिब ८० प्रतिशत अस्पतालहरुमा बिदेशी बिरामी जाने गरेको थाहा लागेको छ । जसमध्ये भर्ना नै गर्ने अस्पतालहरु ५८ दशमलव ५ प्रतिशत रहेको माइनिची अनलाइनले प्रकाशित गरेको छ ।

बिदेशी बिरामीहरु आउँदा भाषानुबाद सहितको सेवा दिएका अस्पतालहरुको संख्या भने नगण्य भएको र भाषाको समस्या यस्ता अस्पतालहरुका लागि प्रमुख चुनौतीको रुपमा देखिएको छ । सो मन्त्रालयले बिदेशी नागरिकहरुले पनि ढुक्क भएर औषधी उपचार गर्नसक्ने बातावरण बनाउने उद्देश्यका साथ अस्पताल, भाषानुबाद कम्पनी, स्थानिय निकाय लगायत ३ हजार ७ सय ६१ संस्थासंग र्सर्बेक्षण गरेको हो । यस प्रकारको सर्बेक्षण जापान सरकारद्वारा पहिलो पटक गरिएको पनि समाचारमा जनाईएको छ ।

सर्बेक्षणमा १ हजार ७ सय १० वटा अस्पताल मध्ये सन् २०१५ मा १ हजार ३ सय ६३ वटा अस्पतालले बिदेशी बिरामी जाँच गरेको र १ हजार १ ले भर्ना गरेको समाचारमा उल्लेख छ । संख्यात्मक आधारमा हेर्दा आधाभन्दा बढिमा २० जना भन्दा कम बिरामी आएको र बर्षमा ५ सय जना भन्दा बढि बिदेशी बिरामीलाई सेवा दिएको अस्पताल ९ दशमलव ८ प्रतिशत भएको बताईएको छ । सो अस्पताल मध्ये ३५ दशमलव ३ प्रतिशतको उपचार खर्च उठ्न नसकेको पनि समाचारमा उल्लेख छ ।

सर्बेक्षणमा सहभागी मध्ये ६५ दशमलव ३ प्रतिशत अस्पतालले बिरामीसंग जापानी भाषामा कुराकानी गर्न समस्या भएको बताए भने भाषानुबादक सहितको सेवा दिएका अस्पतालहरु १२ दशमलव ७ प्रतिशत छन् । अस्पतालहरुमा भाषानुबादकको अभाव भएको भएपनि भनेजस्तो म्यानपावर जम्मा गर्न नसकिएको भाषानुबाद कम्पनीहरुको अनुभव रहेको छ । जापानमा बिदेशीहरुको संख्या तिब्र गतिमा बृद्धि हुँदा यो समस्या थप बिकराल बन्ने जानकारहरु बताउँछन् ।***

तपाईको प्रतिक्रिया