बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – आफूलाई स्वस्थ राख्नका लागि हामी धेरै काम गर्छौं । तर पनि कहिलेकाहीँ बिरामी हुन्छौँ । हामीले यदि साँच्चिकै आफूलाई स्वस्थ राख्ने हो भने केही त्यस्ता प्रण गर्न जरुरी छ, जसले निरोगी बन्न सकिन्छ ।

धेरैले नयाँ वर्षमा यस्ता खालका संकल्प गर्छन् । तर, शरीरलाई स्वस्थ राख्ने संकल्प गर्न नयाँ वर्ष कुर्नुपर्दैन, आजैदेखि सुरु गर्नुहोस् ।

तनाव भगाउनुहोस्
-आफ्नो करिअर, परिवारप्रतिको जिम्मेवारी, कामको बोझ, बढी महत्वाकांक्षालगायतका कुराले मानिस तनावमा पर्छ । यसले मानिसको शरीरमा नकारात्मक प्रभाव पार्छ । जस्तै, शारीरिक, मानसिक स्वास्थ्यलगायतमा प्रभाव पार्छ । यसका लागि आजैदेखि सामान्य विषयमा तनाव लिने काम नगर्नुहोस् । तनाव बढी लिने मान्छेको मुटुको धड्कन तीव्र हुने, पाचन क्रियाको गडबडी, रक्तप्रवाह प्रभावितलगायतका समस्या उत्पन्न हुन्छन् ।

मोटोपनदेखि बच्नुहोस्
-मानिस स्वस्थ रहनका लागि मोटोपनदेखि बच्न जरुरी छ । विश्व स्वास्थ्य संगठनले स्वस्थ शरीरका लागि हानिकारक १० खतरामध्ये मोटोपनलाई पनि सामेल गरेको छ । त्यसो त मोटोपन आफैँमा कुनै रोग होइन । तर, रोग उत्पन्न गर्ने कारणचाहिँ हो । यसले विशेषगरी डाइबेटिज, तनाव, अत्यधिक पसिना आउनेलगायत विभिन्न समस्या देखिन्छन् ।

नियमित दिनचर्याको ख्याल गर्नुहोस्
-आफ्नो नियमित दिनचर्यालाई एकदमै सही तरिकाले अपनाउन सक्नुभयो भने पनि स्वस्थ रहन केही हदसम्म सकिन्छ । निश्चित समयमा उठ्ने र सुत्ने गर्नुपर्छ । खाने समय निश्चित गर्नुहोस् । हामी धेरैको खाने समय निश्चित हुँदैन, न त सुत्ने समय नै निश्चित हुन्छ । स्वस्थ जीवनयापनका लागि खाने, सुत्ने, काम सबैको समय तोकेर गर्न जरुरी छ ।

एक्सरसाइज गर्नुहोस्
-आजको प्रतिस्पर्धात्मक जमानामा आफूलाई अरूभन्दा अझ प्रभावशाली बनाउन स्वस्थ र शरीरमा ऊर्जा हुन जरुरी छ । यसका लागि नियमित रूपमा एक्सरसाइज गर्न जरुरी छ । एक्सरसाइजले शारीरिक रूपमा स्वस्थ रहन मात्रै सहयोग गर्दैन कि मानसिक रूपमा पनि शान्ति मिल्छ । हरेक दिन १५ मिनेट गरिएको एक्सरसाइजले तपाईंको जीवनकाल अरू तीन वर्ष बढ्न सक्छ ।

नियमित सन्तुलित भोजन
-नियमित रूपमा सन्तुलित र पोषक भोजन सेवन गर्ने हो भने बिरामी हुनबाट बच्न सकिन्छ । तपाईंले सेवन गर्ने भोजनमा फलफूल, सागसब्जी र तरल पदार्थलाई उचित मात्रामा मिलाउन जरुरी छ ।

५ देखि ८ घन्टा निद्रा
चिकित्सकका अनुसार हरेक मान्छेले पाँचदेखि आठ घन्टा पूरा निद्रा लिन जरुरी छ । यदि आवश्यक मात्रामा निद्रा पुगेन भने दिनभरि तनाव उत्पन्न हुनुका साथै अस्वस्थ हुन सकिन्छ । निद्रा नपुग्ने मानिसमा शारीरिक, मानसिक समस्या देखापर्न सक्छ । त्यसैले नियमित रूपमा आवश्यक निद्रा पूरा गर्नुहोस्, अस्वस्थ हुनबाट बच्नुहोस् ।

नास्ता खाने बानीको विकास गर्नुस्
-हरेक दिन बिहान शरीरमा ऊर्जा हुन आवश्यक छ । त्यसका लागि खाना खानुअघि ब्रेकफास्ट लिन जरुरी छ । घरमा बिहान ब्रेकफास्ट गर्ने समय भएन भने बाहिर भए पनि सफा र ताजा ब्रेकफास्ट लिन जरुरी हुन्छ ।

ध्यान गर्नुस्
-ध्यानले मस्तिष्कलाई तेजिलो बनाउने काम गर्छ । ध्यान एक साधारण तर शक्तिशाली प्रविधि हो, जसले तपाईंको मस्तिष्कलाई शान्त र स्थिर राख्न सक्छ । तपाईं आफ्नो आँखा बन्द गरेर बस्नुस् र गहिरो आराम गर्नुस् । सुरुमा यो असहज भए पनि दृढ इक्षाशक्तिले आफ्नो मनलाई नियन्त्रणमा लिएर भए पनि ध्यान दिने बानीको विकास गर्नुहोस् । ध्यानले एलर्जी र उत्तेजित हुनबाट जोगाउँछ भने थकान कम गराउँछ । मुटुसम्बन्धी बिमारी, हाई ब्लडप्रेसर, अनिद्रामा आराम मिल्छ । हामी मनोवैज्ञानिक रूपमा पनि बिरामी हुन सक्छौँ, यसबाट जोगिन पनि ध्यान गर्न जरुरी छ ।

नियमित रूपमा स्वास्थ्य चेकअप
-हामी जबसम्म बिरामी हुँदैनौँ, त्यतिवेलासम्म अस्पताल पुग्दैनौँ । त्यसैले बिरामी नहुँदा पनि स्वास्थ्य चेकअप गर्न जरुरी छ । कुनै पनि समस्याका लक्षण देखिनुअघि नै समस्याबारे थाहा भयो भने केही हदसम्म बिरामी हुनबाट बच्न सकिन्छ । -एजेन्सी 

तपाईको प्रतिक्रिया