शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – अधिकार सम्पन्न स्थानीय तहको एजेण्डा ल्याउने पार्टी ‘नेकपा माओवादी केन्द्र’ स्थानीय तह पहिलो र दोस्रो निर्वाचनमा तेस्रो भयो । संगठन कमजोर भएकै कारण पार्टीको एजेण्डा र सरकारका सकारात्मक काम जनताका बीचमा पुर्याउन नसक्दा नतिजा अपेक्षाकृत नआएको उसको ठहर छ । यसै सन्दर्भमा हामीले माघ ७ भित्र तीनवटै चुनाव गराउनुपर्ने समयसीमा, तेस्रो चुनावको तयारी र पार्टीले उठाएको कार्यकारी राष्ट्रपतिको औचित्यका विषयमा केन्द्रीत रहेर पार्टीका प्रवक्ता पम्फा भुषालसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, प्रवक्ता भुषालसँग नेपाली समाचारका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंशः

स्थानीय तहको निर्वाचनमा पार्टीले हासिल गरेको परिणामलाई कसरी समीक्षा गर्नुभएको छ ?
अपेक्षा भन्दा कम हो, पार्टीको एजेण्डा, सरकारले गरेको सकारात्मक काम र पार्टी एकताको शक्तिका कारण हामीले राम्रो परिणामको अपेक्षा गरेका थियौं, तर त्यो हुन सकेन । तै पनि यो निराशाजनक परिणाचाँही होईन । हाम्रो पार्टी एकता, पार्टीको एजेण्डा र सरकारले गरेको सकारात्मक कामका बाबजुद पनि अपेक्षित परिणाम किन आएन भनेर हामीले गम्भीर समीक्षा ग¥यौं । कुनै पनि कुरामा विजय र पराजयका आफ्नै कारणहरू हुन्छन्, त्यसैले हाम्रो संगठन व्यवस्थित चुस्तदुरुस्त हुन सकेन भन्ने हाम्रो निष्कर्ष रह्यो ।  मतपरिणामको हिसावले थोरै भए पनि राजनीतिक हिसावले चाँही हाम्रो पार्टी विजयी भएको छ । अधिकार सम्पन्न स्थानीय तह हामो पार्टीको एजेण्डा हो, समानुपातिक समावेशी जुन ढंगले बनेको छ त्यो हामो एजेण्डा हो, यसकारण हामी विजयी भएका छौं । एकथरि मान्छेहरू निर्वाचनको परिणामलाई हेरेर अब माओवादी सकियो भन्ने भ्रममा छन् त्यो गलत बुझाई हो, हाम्रो एजेण्डाहरू एकपछि अर्को स्थापित भईरहेका छन् । अहिले संसदवादी दलहरूको विकल्प भनेकै माओवादी हो भन्ने पुष्टी भएको छ ।

पार्टीको एजेण्डा अनुसार जनताले मत दिएनन नि, पार्टी कहाँनिर चुक्यो ?
मैले अघि नै भने, हाम्रो संगठन व्यवस्थित भएन र हाम्रा एजेण्डा जनता माझ बुझ्ने गरी पुग्न सकेन र सरकारले गरेका राम्रा काम पार्टीले जनता माझ पु¥याउन सकेन । एकतापछि पार्टी भद्दा बनेकोे छ र जनतातिर फर्किने कार्यशैली भन्दा माथितिर फर्किने कार्यशैली बनेको छ । अर्कोतिर पार्टी भित्र भावनात्मक एकता भईनसकेकोले पार्टी जनतामाझ पुग्न सकेन । अब पहिला चाँही पार्टीलाई व्यवस्थित बनाउने त्यसका लागि सानो संगठन बनाउने, हरेक मान्छे जनता माझ जाने र जनतासितको सम्बन्ध सृदृढ गर्दा एजेण्डा, एकता र सरकारले गरेको सकारात्मक कामलाई जनताको बीचमा लग्यौं भने पार्टी फेरि पहिलो बन्न सक्छ भन्ने हाम्रो निश्कर्ष हो ।

आगामी असोज २ गते दुई नम्बर प्रदेशको निर्वाचन हुँदैछ, पार्टीको तयारी कस्तो छ ?
मधेशको एजेण्डा, समानुपातिक, समावेशी संघीयता र गणतन्त्र हामो एजेण्डा हो, त्यसैले मधेशको जनता हामीप्रति आकर्षित छन् । बरु गएको चुनावमा कम ध्यान पुगेजस्तो भयो, तर परिणाम राम्रो छ मधेश बाहुल्यता भएको स्थानमा पार्टीले जितेको छ, त्यसले के देखाएको छ भने हाम्रो एजेण्डा जुन वर्ग समुदायमा केन्द्रीत थियो त्यसले बुझेको पाईयो । त्यसैले मधेशमा हामो परिणाम राम्रो आउनेमा बिश्वस्त छौं । पार्टीको जनवर्गिय संगठनहरू लागिपरेका छन् र पार्टी अध्यक्षसहित शीर्ष नेताहरू पनि दुई नम्बरमा केन्द्रीत हुनुभएको छ । सर्वसम्मत तरिकाले उम्मेदवार छान्ने, पार्टी एजेण्डा जनता माझ पु¥याउने, बुझाउने, र बढी भन्दा बढी सिट ल्याउने आधार तयार गरेका छौं ।

यसै प्रसंगमा तालमेलको कुरा पनि छ, कुन पार्टीसंग तालमेल हुन्छ ?
दुई नम्बरमा बढी सिट ल्याउने उद्देश्यसहित विचार र मुद्दा मिल्ने शक्तिहरूसँग तालमेल गर्ने हामीले निर्णय पनि गरेका छौं । आम रुपमा चाँही परिवर्तनका निम्ति आन्दोलन गरेका दलसँग मात्रै तालमेल गर्ने भन्ने थियो, अब दुई नम्बरको हकमा मुद्दा मिल्नेसँग तालमेल हुन्छ । समग्रमा भन्दा मधेशमा मुद्दा उठाउने र मधेशकेन्द्रीत दलहरूसँग ताममेल हुन सक्छ ।

हालै पार्टीको सचिवालय बैठकले पारित गरेको प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको लाइनको औचित्य के हो ?
यो त हामो एकदमै आधारभुत माग थियो, पहिलो संविधानसभामा कार्यकारी राष्ट्रपतिको प्रस्ताव गरेका थियौं तर राजनीतिक शक्ति सन्तुलन, सहमति र सम्झौता गर्दा त्यो भएन । संविधान पारित गर्ने बेला पनि पार्टीले यो एजेण्डामा नोट अफ डिसेन्टमा राखेको छ । अब आएर संविधानको कार्यान्वयनको प्रक्रिया माघ ७ भित्र सकिन्छ । तर राजनीतिक स्थिरता चाँही अन्त्य हुने देखिदैन । ९ महिना १० महिनामा सरकार परिर्वतन हुने, यो स्थितिले राजनीतिक अस्थिरता हुन्छ, साथै अहिलेसम्म नेपालमा कुनै प्रधानमन्त्रीले ५, ७ वर्षसम्म काम गर्न पाएका छैनन् । त्यसैले राजनैतिक अस्थिरताका बीचमा नेपाली जनता र नेपालको अबको कार्यभार भनेको आर्थिक सामाजिक विकास र आर्थिक समृद्धि हो, त्यसैले माओवादीले उठाउँदै आएको, आम जनताले समेत अनुभूत गरेको, राजनीतिक स्तिथरता होस् भन्ने अपेक्षाअनुसार यो एजेण्डा अगाडि ल्याईएको हो । त्यसैले अब हामीले राजनीतिक एजेण्डाका रुपमा त्यसलाई उठाउँछौं, राजनीतिक दल, बुद्धिजीवीहरूबीच छलफल चलाउँछौं र यो एजेण्डालाई स्थापित गरेर जाने प्रक्रियालाई हामी अगाडी बढाउँछौं ।

माओबादी पार्टीहरू बीचको एकताको कुरा बाहिर आईरहेको छ ? बैद्य, भट्टराई र बिप्लवहरू के केन्द्रमा फर्केलान् त ?
यसलाई हामीले दुई किसिमले लिएका छौं, पहिलो कुरा त पुरै नेतृत्वसहितलाई एकताका लागि आह्वान गरेका छौं भने अर्काे सानो सानो समुहमा अहिले पनि दिनहुँजसो पार्टी प्रवेश भईरहेको छ । चुनावमा सबै पार्टीले भाग लियो तर मुलधार भनेको माओवादी केन्द्र बनेको छ, त्यो वास्तविकतालाई स्वीकार गरेर सबै माओवादी एकजुट हुनु अहिलेको बस्तुगत आवश्यकता हो । त्यसले मात्र हिजोका जनयुद्धबाट प्राप्त उपलब्धीलाई हामी संस्थागत गर्ने, कार्यान्वयन गर्दै समाजवादतिर जाने मार्गप्रशस्त गर्दछ, यसका लागि एकता आवश्यक देखिएको हो । सबै माओबादीहरू एकठाउँमा हुनुपर्छ भन्ने हाम्रो अपिल हो, आग्रह हो । सोहीअनुसार परिणाम आउने गरी पहल भईरहेको छ ।

संबिधान संशोधनको मुद्दा कहाँनेर अल्झिएको छ ?
प्रमुख प्रतिपक्षी दलको समर्थन नहुने र उनीहरू बिना दुईतिहाइ पुग्ने कुराको सुनिश्चितता नभएर रोकिएको हो । कि त दुई तिहाइको सुनिश्चितताका लागि आगामी चुनाव भन्दा पछिसम्म कुर्नुप¥यो, होइन भने जे परिणाम आए पनि स्वीकार्य छ भन्यो भने राजपाले सहमति जनाएकै दिन संसदमा टेबल छँदैछ भोटिङमा जान्छ ।

नेपाली काँग्रेस र माओबादी केन्द्रसमेतको गठबन्धन सरकारले निर्धारित समयमै बाँकी निर्बाचन गराउन सक्ने आधारहरू के छन् ?
एकदमै ग्यारेण्टीका साथ सम्पन्न हुन्छ, पहिलो र दोस्रो चरणको उत्साहपूर्वक सम्पन्न भएको छ, अब असोज २ गतेको चुनाव पनि सम्पन्न हुन्छ । त्यसपछि अहिले क्षेत्र निर्धारण आयोग बनेको छ, त्यसको प्रतिबेदन आएलगत्तै प्रदेश र केन्द्रको चुनाव सकेसम्म एकै दिन हुन्छ । तर एकै दिन गर्ने भन्ने कुरा अझै टुंगिसकेको छैन, माघ ७ गते संविधानले दिएको समयसिमा हो । प्राकृतिक र भौगोलिक प्रतिकुलताले मंसिर भित्रै पनि दुईवटै निर्वाचन हुन सक्छ, यसमा सबै ढुक्क भए हुन्छ ।

एउटा जिम्मेवार पार्टीको प्रवक्ताको हैसियतले बताईदिनुस कि अब मुलुकको राजनैतिक कोर्स कसरी अगाडि बढ्ला ?
अब एउटा चाँही, संविधान बन्ने प्रक्रियादेखि यसको कार्यान्वयनको प्रक्रिया सुरु भएको छ, यो प्रदेश र केन्द्रको चुनाव भएपछि सम्पन्न हुन्छ । त्यसैले यसलाई संस्थागत र सुढृद गर्ने कुरा र कार्यान्वयन गर्ने कुरा नै मुख्य हुन्छ र राजनीतिक अस्थिरताको हल पनि आउने निर्वाचनसम्म त्यसको पक्षमा हुनेहरूले निर्वाचित भएर आउने हो भने हामी एउटा नयाँ ठाउँमा पुग्छौं । यसैबाट नेपालले अबको पाँच वर्षमा धेरै उपलब्धीमुलक कामहरू गर्न सक्छ । जनताको आकाँक्षा र राष्ट्रको आवश्यकता भनेको अब तिब्र आर्थिक विकास र समृद्धि हो । त्यसैले प्रणालीको पक्षमा त गयौंं अब शासकीय प्रणालीको पक्षमा आफ्नो अभिमत परिवर्तन गरी राष्ट्रिय एकताको पक्षमा वातावरण बनाउनुपर्छ भन्ने म ठान्छु ।

नेपाली युवाहरूको बिदेश मोहलाई मुलुकभित्रै कसरी आकर्षित गर्न सकिएला ?
राजनीतिक स्थिरता कायम हुने वित्तिकै हामीसँग पर्याप्त स्रोत र साधन छ, जनशक्ति पनि बाहिर जान नपर्ने हुन्छ, बाहिर गएको जो उर्वर शक्ति हो त्यो शक्तिलाई हामी देशभित्र फर्काउन सक्छौं । उद्योग कालकारखाना, जलविद्युत, पर्यटनको विकास, कृषिको आधुनिकिरण लगायतका आर्थिक गतिविधिबाट सबैलाई देशभित्र रोजगारीको सिर्जना गरी आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउने र जनताको जीवनस्तरलाई माथि उकास्ने हो भने नेपाली युवाहरू बिदेश जानुपर्दैन । यसका लागि मुलभुतरुपमा राजनीतिक स्थिरता आवश्यक छ । त्यसैले हामी कार्यकारी राष्ट्रपति भनिरहेका छौं ।

बिदेशमा बस्ने नेपालीहरूलाई मुलुकप्रति आशाको आँखाले हेर्ने बनाउन तपाईको पार्टीको नीति तथा योजना के छ ?
यो नीतिगत विषय हो, यो मुद्दा माओवादी केन्द्रले विगत देखिनै उठाउँदै आएको छ, माथि भनिएझैं देशमा राजनीतिक स्थिरता जरुरी छ । जबसम्म राजनीतिक स्थिरता देशमा कायम हुँदैन तबसम्म आर्थिक समृद्धि पनि हुन सक्दैैन, यसमा एउटा पार्टीले भन्दा पनि सबैले गम्भीर भएर सोच्नुपर्छ । माओवादी केन्द्र यसमा प्रतिवद्ध छ, हामीले पहिलेदेखि नै भन्दैआएका छौं, कि कसरी स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्न सकिन्छ भनेर ।

अन्तमा, जापानमा बस्ने नेपालीहरूलाई के भन्न चाहानुहुन्छ ?
जापान लगायत प्रवासमा रहेका नेपालीहरूले आफ्नो राष्ट्रको चिन्ता र चासो राख्नुपर्छ, राष्ट्रप्रतिको लगाव राख्ने कुरा निकै सह्रानीय छ । अरु देश भन्दा जापान आर्थिक रुपमा बलियो राष्ट्र हो । त्यहाँ रहेका नेपालीमा बौद्धिक क्षमता पनि धेरै छ । त्यसैले त्यहाँ सिकेको सीप र अनुभवलाई स्वदेशमा लागू गर्दै आर्थिक, सामाजिक क्षेत्रमा योगदान गर्न सक्नुपर्दछ । मुलुकबाहिर रहेका हरेक नेपालीले ‘देश बनेपछि जान्छु होइन, म देश बनाउन जान्छु’ भन्ने सोच बनाउनुहुन सबैमा मेरो अपिल छ । अन्तमा, जापानमा लामो समयदेखि नेपाली समुदायका लागि सूचनाको सेवामा अनवरत लागिपर्दै आएको लोकप्रिय अनलाईन ‘समुद्रपारि’ मार्फत म लगायत हाम्रो पार्टीको विचार ब्यक्त गर्ने अवसर दिनुभएकोमा आभार ब्यक्त गर्दछु ।

तपाईको प्रतिक्रिया