बाढी-पहिरोमा परी मुलुकभर कम्तीमा ६४ जनाको मृत्यु (अपडेट)

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले डुबान तथा बाढी पहिरोबाट विभिन्न जिल्लामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको जनाएको छ । गृहमन्त्रालय लगायत विभिन्न स्रोतबाट प्राप्त विवरण अनुसार अहिलेसम्म बाढी, पहिरो र डुबानमा परेर ४४ जना घाइते भएका छन् भने ३६ जना बेपत्ता भएका छन् ।

झण्डै १९ हजार घरपरिवार विस्थापित भएका, ७ सय २८ घरहरु पूर्णरुपमा क्षति भएका तथा २ हजार १ सय ५३ घरमा आंशिक क्षति भएको मानवअधिकार आयोगले जनाएको छ । बाढी, पहिरो तथा डुबानपछि सृजित अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राहत, उद्धारको लागि प्रभावकारी कार्य भएको नपाइएको भन्दै तत्काल जुट्न आग्रह समेत गरेको छ ।

प्राकृतिक प्रकोपपछि देखा पर्न सक्ने सरुवा रोगको प्रकोप तथा महामारीबाट संरक्षणका लागि चिकित्सकको अस्थायी टोली व्यवस्थापन गर्न, बाढी, पहिरो तथा डुबानबाट थप जनधनको क्षति हुन नदिन, पूर्व सावधानी अपनाउन, जोखिममा परेका सुत्केरी महिला, बालबालिका, जेष्ठ नागरिक तथा असहाय व्यक्तिलाई आवश्यकता अनुसार खोज, उद्धार र राहत कार्यमा अविलम्ब लाग्न आयोगले सबैमा विशेष आग्रह गरेको छ ।बाढीपहिरोले देशभरको जनजीवन कष्टपूर्ण
बिहीबारदेखि लगातार परेको पानीले पूर्वमा झापादेखि पश्चिम बर्दियासम्मको तराईको अधिकांश भूभाग जलमग्न भएका छन् । पहाडी क्षेत्रमा पहिरो जाँदा जनधनको क्षति भएको छ । तराईको लाइफलाइन पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

तराईका अधिकांश जिल्लामा सडक बगाउँदा यातायात अवरुद्ध भएको छ भने खानेपानी, बिजुली, टेलिफोन सेवाहरु अवरुद्ध भएका छन् । बाढीका कारण पुर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, धनुषा, बारा, नवलपरासी, दाङ लगायत जिल्लाका हजारौं घर डुबानमा परेको छन् ।

अधिकांश क्षेत्रमा हवाई सम्पर्क विच्छेद
मौसम खराब भएपछि देशभरका अधिकांश क्षेत्रमा हवाई उडान प्रभावित हुँदा राजधानीसँग हवाई सम्पर्क विच्छेद भएको छ । काठमाडौंबाट हुने ‘टंक रुट’ तथा दुर्गम रुटमासमेत हवाई उडान हुन नसकेपछि सबैजसो उडान प्रभावित भएका छन् ।

भारी वर्षाका कारण तराई क्षेत्रका विमानस्थल जलमग्न भएका छन्, जसका कारण शनिबारका २ सयभन्दा बढी उडानरअवतरण प्रभावित भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । मौसममा सुधार नआए आइतबारसमेत उडान नहुने भएको छ ।

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित