बाढी-पहिरोमा परी मुलुकभर कम्तीमा ५१ जनाको मृत्यु (अपडेट)

अर्को सूचना नआएसम्म तटीय क्षेत्रवासीलाई सुरक्षित बस्न आग्रह

काठमाडौं – अविरल वर्षाका कारण मुलुकभर गएको पहिरो र बाढीका कारण ५१ जनाको मृत्यु भएको छ । मध्यान्नसम्ममा देशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानबाट ५१ को मृत्यु, २१ बेपत्ता र १६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयका अनुसार ३ हजार ५ सय ६१ परिवार विस्थापित भएका छन् ।

सुनसरीमा ८ जना, रौतहटमा ७ जना, मकवानपुरमा ६ जना, मोरङमा ५ जना, सिन्धुलीमा ४ जना, बाँकेमा ४ जना, सर्लाहीमा २ जना, झापामा ४ जना, सुर्खेतमा ३ जना, दाङमा २ जना, बारामा १ जना, धनुषामा १ र पाल्पामा १ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले जानकारी दिनुभयो । उहाका अनुसार अन्य जिल्लाको विवरण आइसकेको छैन ।

बाढीपहिरोले देशभरको जनजीवन कष्टपूर्ण
बिहीबारदेखि लगातार परेको पानीले पूर्वमा झापादेखि पश्चिम बर्दियासम्मको तराईको अधिकांश भूभाग जलमग्न भएका छन् । पहाडी क्षेत्रमा पहिरो जाँदा जनधनको क्षति भएको छ । तराईको लाइफलाइन पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

तराईका अधिकांश जिल्लामा सडक बगाउँदा यातायात अवरुद्ध भएको छ भने खानेपानी, बिजुली, टेलिफोन सेवाहरु अवरुद्ध भएका छन् । बाढीका कारण पुर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, धनुषा, बारा, नवलपरासी, दाङ लगायत जिल्लाका हजारौं घर डुबानमा परेको छन् ।

अधिकांश क्षेत्रमा हवाई सम्पर्क विच्छेद
मौसम खराब भएपछि देशभरका अधिकांश क्षेत्रमा हवाई उडान प्रभावित हुँदा राजधानीसँग हवाई सम्पर्क विच्छेद भएको छ । काठमाडौंबाट हुने ‘टंक रुट’ तथा दुर्गम रुटमासमेत हवाई उडान हुन नसकेपछि सबैजसो उडान प्रभावित भएका छन् ।

भारी वर्षाका कारण तराई क्षेत्रका विमानस्थल जलमग्न भएका छन्, जसका कारण शनिबारका २ सयभन्दा बढी उडानरअवतरण प्रभावित भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । मौसममा सुधार नआए आइतबारसमेत उडान नहुने भएको छ ।

अर्को सूचना नआएसम्म तटीय क्षेत्रवासीलाई सुरक्षित बस्न आग्रह
अर्को सूचना नआएसम्म नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा बस्न बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । आज पनि विभिन्न नदीमा पानीको सतहले खतराको तह पार गर्ने संभावना भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको हो ।

शाखाले बबई नदीमा पानीको सतह अहिलेसम्म कै उच्च पुगेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई आइतबार बेलुकासम्म नै सुरक्षित ठाउँमा बस्न आग्रह गरेको छ । यस्तै पूर्वी राप्तीको रजैया र चितवनको माडीको रिउखोलामा पानीको सतहले खतराको तह पार गरेको छ । रौतहट, सर्लाही, मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बागमती, पूर्वराप्ती, रिउ खोला, विनय खोला, अरुण खोला, तिनाउ, बाणगंगा लगायतका नदीमा उच्च जोखिम रहेकाले उच्च सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ ।

यस्तै पूर्वमा झापा, इलाम, सुनसरी, मोरङ, सप्तरी उदयपुर, जनकपुर, धनकुटाका मेची, निन्दा, बिरिङ, कन्काई, पथरी, त्रियुगा, बुढीखोला, रातु कमला लगायतमा भोली बिहानसम्म नै उच्च जोखिम छ । उता पश्चिममा कञ्चनपुर, कैलाली र बर्दियाका चुरे र महाभारतबाट प्रवाह हुने नदीमा पनि उच्च जोखिम भएकाले सुरक्षित ठाउँमा बस्न शाखाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित