मकवानपुरमा बाढीका कारण दुईजनाको मृत्यु, ११ बेपत्ता

मकवानपुर – मकवानपुरमा बाढीका कारण अहिलेसम्म दुईजनाको ज्यान गएको छ । बाढी तथा पहिरोमा परि अन्य ११ जना बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी भइरहेको मकवानपुरका प्रमुख जिल्ला  अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले बताउनुभएको छ ।

मकवानपुरको बकैया गाउँपालिका–१० मंथलीमा सेरुखोलाले मंगलसिङ न्यासुरको घर पहिरोले बगाउँदा सातजना बेपत्ता भएका छन् ।आइतबार बिहानै आएको पहिरोले घर बगाउँदा एकै परिवारका सातजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकास खनालले बताउनुभयो ।

त्यसैगरी बकैया गाउँपालिका–६ मन्दुगाउँका ४२ वर्षका वीरबहादुर घलानलाई स्थानीय खोलाले बगाएर ज्यान गएको छ । त्यसैगरी बकैयाँ गाउँपालिका–४ मा पनि एकजनालाई खोलाले बगाएर बेपत्ता बनाएको स्थानीय बासिन्दाले बताएका छन् ।

यस्तै मकवानपुरको बागमती गाउँपालिका फापरबारी ज्यामिरेमा बाढीले एकजना बेपत्ता बनाएको खबर छ । बकैयाँ गाउँपालिका–३ मा पहिरोले चन्द्र खड्गीको घर पुर्दा दुईजना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी दुवाडीले जानकारी दिनुभयो ।

शनिबार मकवानपुरको भिमफेदी गाउँपालिका–८ ईपा पाखाटोलमा पहिरोले पुरेर स्थानीय बासिन्दा मिठु दानीको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित