शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

संभवत हामी नेपाली विश्वभरीबाट तेस्रो दर्जाको हौसियत बनाएर गुज्रिएको नेपालबाट विश्वका विभिन्न राष्ट्रहरुमा आफ्नो रोजीरोटीको लागि विदेशिन वाध्य भएका छौं । हामी अहिलेको अवस्थामा विश्व भरी नै छरिएर रहेका छौं र पछिल्ला समयहरुमा विदेशमा बसी व्यापार व्यावसाय र ठूला–ठूला उद्योग तथा कलकारखानाको उच्च पदमा रहेर काम गरेर राम्रो सफलता प्राप्त गर्ने नेपालीहरुको पनि संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । हामी नेपालीहरुले संसारका ठूला–ठूला देशहरु कसरी विकसित भइरहेका छन् र देशले ठूलो सफलता प्राप्त गर्नको लागि त्यस्ता देशमा बसोबास गर्ने नागरिकहरुको दैनिकी, उनीहरुको सभ्याता, मेहनत, इमान्दारिता र एउटा राष्ट्र आफ्नो देशमा आफूले बनाएको नियम, कानून र जनताप्रति कति जवाफदेही छ भन्ने पनि हामीले आफ्नो आँखा अगाडि दैनिक देखिरहेका छौं । यहाँ कुनै एउटा सरकार, जनता र नियमप्रति प्रतिवद्ध मात्र नभई जनता स्वयम विवेकशील, सभ्य र अनुशासित छन् । दैनिक तपाई हामी हिडडुल गर्दा लाग्छ सरकारले त यहाँ एउटा नियम बनाइदिएको छ, त्यस नियम र कानूनप्रति प्रत्येक जनता वफादार छन् । यसै भएर पनि यो जापान आज विश्वकै नमूना देश भईरहेको छ । विश्वको आँकडामा हेर्दा आज संसारका सुरक्षित देश जापान भैरहेको छ ।

अाज हामी तेस्रो मुलुकबाट प्रवेश गरेका नेपाली करीव ७० हजार नेपाली यही मुलुकमा बसोबास गरिरहेका छौं । हामीले यहाँको सभ्यता, संकार, नियम तथा कानून पालना गरिरहेका छौं । पछिल्लो समयमा नेपालीहरुले विभिन्न क्षेत्रबाट मनग्य आम्दानी गरी नेपालमा खाडी मुलुकपछिको रेमिटेन्स नेपालमा भित्राइरहेका छन् । हामी नेपालीहरुले जापानबाट धेरै कुराको ज्ञान हासिल पनि गरिसकेका छौं र आजका दिनहरुमा आफ्नो व्यापार व्यवसायलाई व्यवस्थापन गरी थोरै समय भएपनि विभिन्न संघसंस्थाहरुमा आवद्ध भई नेपाल र नेपालीहरुको हकहित र नेपालको समग्र विकासको लागि विदेशमा बसोबास गरेका नेपालीहरुले के गर्न सकिन्छ भनेर विभिन्न वहशहरु गरिरहेको र कतिपय जापानबाट आफ्नो सफलता प्राप्त गरी विभिन्न ज्ञान सीप र प्रविधि जापानबाट नेपालमा लगि व्यवसाय संचालन गरेको पनि समाचारहरु सुन्नमा आइरहेका छन् । विभिन्न क्षेत्रहरु जस्तै हाइड्रो पावर, रेष्टुरेन्ट, हाउजिङ्ग व्यवसायमा लगानी गरिरहेका छन् । यो विषय समग्र नेपालीहरुको लागि एउटा गौरवको विषय हो ।

वास्तवमा नेपालमा नयाँ संविधान र पुनरसंरचनाको माध्यमबाट अन्य विकसित राष्ट्रहरुले अवलम्बन गरेको विकासको बाटो पछ्याउने कार्यमा अघि बढिरहेको छ । यसै सन्दर्भमा देशको विभिन्न भागहरुमा प्राप्त स्रोत र साधनहरुको उचित परिचालन र सरकारी निकायहरुबाट सुपरिवेक्षण पनि भइरहेको अवस्था छ । तर अझै पनि नेपाल अशिक्षा, वेरोजगारी, भोकमरी जस्ता समस्याहरुबाट गुज्रिरहेको छ तर पनि विगतका केही वर्षयता देशमा विकासको लहर आईरहेको छ । तर त्यो कछुवाको हिडाई जस्तो भईरहेको छ । दैनिकजसो पन्ध्रसयदेखि दुईहजार देशका युवा जनशक्ति विदेश जानको लागि लाइन लागिरहेका छन् । देशमा विभिन्न ठाउँमा दैनिकजसो बाढी, पहिरो, महामारी तथा अन्धविश्वासले कैयौं मानिसहरुले अल्पायुमा नै आफ्नो जीवन गुमाईरहेका छन् । यसरी हामी विदेशमा बसेर नेपालको बारेमा केही वेर सोचौं त कस्तो परिस्थिति छ ? हो, हामी नेपाली जापानमा बसेर धेरै प्रविधि, ज्ञान र सुविधा सम्पन्न जीवनयापन गरिहेका छौं तर हामी जुन ठाउँमा जन्मियौं, जुन ठाउँबाट आज हामी यहाँसम्म आइपुगेका छौं त्यो देश, शिक्षादिक्षा सबै नेपाल आमाको स्रोत हो । हामी आज जापानमा बसेर प्रत्येक नेपालीले सोच्ने अवस्था आएको छ । के आज हामी एउटा ट्रेनमा यात्रा गर्दागर्दै मोवाइलमा हेर्याैं भने नेपालमा यात्राकै क्रममा मानिसहरु विभिन्न यातायातको साधन दुर्घटना भएका समाचारहरु हेरिरहेका हुन्छौं । यहाँका प्रविधियुक्त आकाशे पुलहरुमा गएर सेल्फी फोटो खिच्दाखिच्दै नेपालमा बाढीले झोलुङ्गे पुल बगाईरहेको हुन्छ र त्यो पनि हामीले मोवाइलबाट समाचारमा देख्छौं । अब हामी प्रत्येक नेपालीहरु जिम्मेवार बन्नुपर्दछ के हामी आकाशेपुलमा गएर सेल्फी फोटो खिचिरहँदा नेपालमा स्कुल पढन जाँदा वालवालिकाहरु तुईनबाट यात्रा गरिरहेका हुन्छन् । एकचोटी सोचौं त के हामी त्यसदेशमा जन्मियौं, हुर्कियौं र आज यहाँसम्म आयौं । संसार बुझेका छौं तर अबका दिनबाट नेपाल र नेपाली आमाप्रति एउटा नेपाली भएको हैसियतले जिम्मेवारी हुन र नेपालको लागि केही गर्न आवश्यक छ ।

जब देशमा शिक्षा, रोजगार र जीवन सुरक्षाको वातावरण बन्छ तब त्यस देशमा विकासको लहर सृजना हुन्छ । तर सबैभन्दा महत्वपूर्ण देश विकास गर्नका लागि आर्थिक स्रोत भनेको विदेशी रेमिट्यान्स नै हो तर यो आर्थिक स्रोत भनेको तत्कालको रुपमा राम्रो भए तापनि अन्तत यसको असर नकारात्मक नै रहेको हुन्छ किनकी धेरैजसो रेमिट्यान्स भित्रिने भनेको श्रमका रेमिट्यान्स हो जो आज हजारौं हजार युवाहरु खाडी मुलुकमा गई श्रम गरिरहेका छन् र यसको असर अन्तत नकारात्मक रहन्छ ।
अर्को दोस्रो आर्थिक स्रोत हो पर्यटन क्षेत्र जहाँ आज नेपालका हजारौं हजार मानिसहरु नेपालको पर्यटन व्यवसायमा निर्भर रहँदै आइरहेका छन् र अहिले आर्थिक स्रोतको मेरुदण्डका रुपमा पर्यटन व्यवसाय बढिरहेको छ । हालै प्रकाशित भएको ‘लोन्ली प्लानेट’को सर्वेक्षण अनुसार नेपालका ट्रेकिङ्ग क्षेत्रहरु संसारकै उत्कृष्टमध्येमा परिरहेका छन् । विश्वको अग्लो हिमाल माउन्ट एभरेष्ट नेपालमा नै छ । विश्वकै शान्तिदूत सिद्धार्थ गौतम वुद्धको जन्मथलो लुम्बिनी पनि नेपालमा नै छ । सामुद्रिक सतहदेखि सबभन्दा उच्च ठाउँमा रहेको तिलिचो ताल र हजारौं हजार प्राकृतिक सौदर्यताले भरिपूर्ण हाम्रो नेपाल अझै पनि विश्व सामु चिनिन नसक्नु विडम्बनाको कुरा हाे । हामी अझै पनि जापानबासीहरुमध्ये धेरै जनाले अनुभव गरेकाे कुरो हो, करीव ८५ प्रतिशत जापानी नागरिकहरुलाई नेपाल भन्ने देश नै थाहा छैन तर नगन्य मात्रमा थाहा भए तापनि जे-जसरी नेपाललाई चिन्नुपर्ने हो त्यो बारेमा जापानी नागरिकहरुलाई सम्पूर्ण जानकारी गराउन विभिन्न माध्यमहरुको खोजी गर्न तपाईहामी प्रत्येक जापानवासी नेपाली नागरिकहरुकाे जिम्मेवारी रहेको छ । किनकी तपाइँ हाम्रो एउटा सानो प्रयासले अनि थोरै समयले नेपालमा एकजना जापानी घुम्न जान तयार भए भने देशका १० जना युवाले रोजगार पाउनेछन् । सँधै तपाईहामी अरुले कहिलेसम्म गरेनन् भनेर बस्ने ? अब नेपाल राष्ट्र निर्माण गर्ने जिम्मेवारी तपाइँ हामी प्रति पनि छ । प्रायजसो जापानी नागरिकहरु आफ्नो छुट्टिको समयमा देश तथा विदेशमा घुम्न जाने गर्दछन् र प्रायजसो विदेश मध्ये अमेरिका, क्यानाडा, यूरोप, मलेसिया, फिलिपिन्स, सिंगापुर, ताइवानजस्ता देशहरु मुख्य जापानीका रोजाइमा रहेका छन् । प्राय जापानी नागरिकहरु आफ्नो देशमा मानव निर्मित वस्तुहरु धेरै देखेको र घुम्न योग्य ठाउँहरु भएको हुँदा यिनीहरु विदेशमा जाँदा प्राकृतिक सौन्दर्यताबाट बढी आनन्द लिने गर्दछन् । यस्ता ठाउँहरुमा घुम्न जान मन पराउँदछन र माथि उल्लेखित गरिएका देशहरुमध्ये नेपाल यस्तो देश हो जहाँ प्राकृतिक सौन्दर्यले सबैभन्दा अगाडि रहेको देश हो तर पनि जापानी नागरिकहरू नेपाल कमै मात्रमा घुम्न जाने गर्दछन् किनकी नेपालको बारेमा तपाइँ हामीले हाम्रै देशमा भएका प्राकृतिक सौन्दर्यको बारेमा जानकारी दिन सकिरहेका छैनौं । जापानको सबैभन्दा ठूला टुर प्याकेज सेल गर्ने कम्पनी एचआइएस जुन कम्पनीको वेभसाइट तथा कम्पनीमा गएर हेर्नुभयो भने माथि उल्लेख गरिएमा सम्पूर्ण देशहरुको टुर प्याकेज तथा टुरिजम गन्तव्यका बारेमा सबै जानकारी पाउन सकिन्छ तर आजका मितिसम्म नेपालको बारेमा केही जानकारीहरु पाउन सकिंदैन किनकी हामीसँग विज्ञापनको कमी छ, तपाइँहामी जुनजुन ठाउँमा छौं सबैले पहल गर्नुपर्दछ । नेपाल सरकार विशेषगरी नेपाल पर्यटन वोर्डले यहाँका राजदूतवाससँग हातेमालो गरी एनआरएन जापानको सक्रियतामा ठोसमूलक कार्यक्रमहरु संचालनमा ल्याउनुपर्दछ । जस्तै यहाँका ठूला टुर तथा ट्राभल कम्पनीहरुसँग सम्झौता गरेर नेपालको पर्यटन क्षेत्रको बारेमा जानकारी गराउँने सामग्रीहरु उपलब्ध गराउने र अर्को एउटा महत्वपूर्ण नेपालको विज्ञापन तपाइँहामी ७० हजार जना जापानबासीले ‘माउथ टु माउथ’ गर्न सकिन्छ । तपाइँ हामीले अाफ्नै दैनिकीबाट कसरी नेपालको बारेमा घुम्न जानको लागि सूचना दिन सकिन्छ भनेर साेच्न पनि अावश्यक छ ।

त्यसैगरी महत्वपूर्ण कुरा तपाइँ रेष्टुरेन्ट व्यवसाय गर्दै हुनुहुन्छ भने तपाइँको रेष्टुरेन्टको मेन्यूको अन्तिम पानामा थोरै भएपनि नेपालको पर्यटन क्षेत्र जस्तै माउण्ट एभरेष्ट, अन्नपूर्ण हिमाल, चितवन राष्ट्रिय निकुन्ज, लुम्वीनी लगायतका केही पर्यटनसँग सम्बन्धित तस्वीरहरु राखिदिनुस् । तपाइँको कम्पनी तथा रेष्टुरेन्टका कर्मचारीहरुको ड्रेस भए त्यसमा नेपालको पहिचान झल्किने खालको एउटा लोगो वा अक्षर राखिदिनुहोस् । यदि तपाइँको व्यवसायमा कुनै टेलिभिजन तथा प्रोजेक्टर छ भने नेपालको पर्यटकीय गतिविधीहरु झल्कने खालको सामग्रीहरु देखाउँदा अति उपयोगी हुने देखिन्छ । तपाइँलाई जति पर्यटकीय जनकारीहरु छन् त्यही आफ्नो ठाउँबाट जानकारी गराउनुहोस् । सकभर तपाइँका साथीहरुलाई नेपालको बारेमा यस्तो नराम्रो कुराहरुका विज्ञापन राख्नुभन्दा बढी सकारात्मक भएर राम्रा कुराहरु नै बढी जानकारी गराउनुहोस् जब कि नेपालमा अझै पनि सबैले पर्यटकलाई सम्मान सत्कार नै गर्ने गर्दछन् । ‘अतिथि देवो भवः’ भन्ने कुरा नेपालीले अझै विर्सेको छैन । आशा छ अब छिटै हुन गईरहेको नेपाल फेस्टिवलमा नेपाल पर्यटन वोर्डसँग सहकार्य गरी एनआरएनए जापानले सम्पूर्ण जापानबासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा एउटा आव्हान गरोस जुन एउटा अभियानले नेपालको समग्र पर्यटन विकासमा टेवा पुर्याइ सम्पूर्ण देशको सम्मुनत विकास हुनेछ र देशमा गरीवि, भोकमरी तथा वेरोजगारी समस्या न्यूनिकरणमा केही भूमिका खेल्नेछ ।
(लेखक नासा टुर्स एण्ड ट्राभल्स, सिनओकुवोमा कार्यरत छन्)

तपाईको प्रतिक्रिया