शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको नियमित साहित्यिक शृङ्खला यसै साता टोकियोमा हुने भएको छ ।
हरेक तीन तीन महिनामा हुने नियमित साहित्यिक कार्यक्रमको ४१ औं शृङ्खला यही १२ तारिख शनिवार  टोकियोमा हुने भएको हो ।

सो अवसरमा अनेसास जापानद्वारा प्रकाशित कविता संग्रह ’जापानमा नेपाली कवि र कविता’ को बिमोचन गरिने कार्यक्रम छ । जसमा जापानका १ सय ६ जना कविहरुको कविता संग्रहित छन् ।
शृङ्खलामा कृति विमोचनका साथै बिभिन्न सर्जकहरुद्वारा आ-आफ्ना साहित्यिक सिर्जना वाचन गरिने कार्यक्रम रहेको अनेसास जापानका अध्यक्ष विष्णुप्रसाद घिमिरेले समुद्रपारिलाई बताउनुभयो ।

उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित साहित्यकारहरुको पनि बिशेष सहभागिता रहने आयोजक स्रोतले जनाएको छ । जसअनुसार अनेसास नारायणीका सचिवसमेत रहनुभएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक साहित्यकार सुरेन्द्र अस्तफल जापान आईसक्नुभएको छ ।
अतिथि साहित्यकारहरुको बिशेष उपस्थितिमा जापानभरिका कविहरुको कविता संग्रहको विमोचन र साहित्यिक सिर्जना वाचन हुने सँधैको भन्दा पृथक शृङ्खलामा उपस्थिति भई शोभा बढाईदिन अनेसासका केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका कार्यक्रम संयोजक प्रकाश पौडेल ‘माइला’ ले जापानबासी नेपालीहरुमा अपील गर्नुभएको छ । कार्यक्रम शिनओकुबोस्थित आरएस आर्ट कोर्ट हल (टोकियो रोधी क्लवको पछाडि) मा अपरान्ह १ बजेदेखि हुने बताईएको छ ।
बिदेशमा रहेर पनि नेपाली भाषा, साहित्य, कला, सँस्कृति र वाङ्मयको श्रीबृद्धिका लागि अनेसास जापानले लामो समयदेखि निरन्तररुपमा साहित्यिक गतिबिधिहरु गर्दै आईरहेको छ । नेपाली भाषा र साहित्यको क्षेत्रमा योगदान पुर्‍याउँदै आएको बिश्वब्यापी साहित्यिक सञ्जाल अनेसासको साहित्यिक अभियानमा जापान कमिटीको भूमिका अग्रपंत्तिमा रहँदैं आएको छ ।***

तपाईको प्रतिक्रिया