मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

एनआरएन जापानको इतिहासमा पहिलोचोटी इ भोटिङ प्रणालीबाट निर्वाचन सम्पन्न भएको छ । समयको माग अनुसार नेपाली समाजलाई सूचना र प्रविधिमा अभ्यस्त बनाउनेतिर प्रयासको थालनी गरिनु आफैमा सह्रानीय कार्य हो । ढिलोचाँडो डिजिटल प्रविधिमा नगएसम्म हाम्रा सामाजिक गतिबिधिहरु स्मार्ट हुनै सक्दैनन् । पुरातनबादी सोचबाट ग्रसित हाम्रो नेपाली समाजमा पहिलोचोटी नयाँ प्रबिधिको प्रयोग आफैमा चुनौती र जोखिम दूवै हो । यसलाई सरलीकृत र अभ्यस्त हुन केही समय लाग्न सक्छ ।
सामाजिक सञ्जालको दुनियाँमा मात्र चकचक गर्न रमाउने हाम्रो समाज आफुलाई काम लाग्ने अन्य महत्वपूर्ण ज्ञान सीप हासिल गर्नमा खासै रुची राख्ने गरेको पाईदैन । इ भोटिङ हुने घोषणा धेरै पहिलेदेखि भएको भए पनि १० मिनेट समय निकालेर यसको पूर्वअभ्यास गर्न धेरैले आवश्यक ठानेनन् । अभ्यस्त नभएको कारण वा अन्य कारणले खसेको मत संख्या हेर्दा ठूलो संख्याका मतदाताहरुले आफ्नो मत आफै प्रयोग गरेको बिश्वास गर्न सकिने आधार देखिदैन । हाम्रो जस्तो कम्प्युटर साक्षरता प्रतिशत कम भएको समाजमा डिजिटल भोटिङको सबैभन्दा अवगुण पक्ष भनेकै नागरिकको मताधिकार अरुद्वारा दुरुपयोग हुने खतरा हो, जुन यसपालीको निर्वाचनमा प्रष्ट देखियो । यसबाट बच्न सबैभन्दा पहिले त हरेक मतदाता सचेत हुन आवश्यक हुन्छ, स्वेच्छाले मतदाता बन्नका लागि स्वतस्फुर्त सदस्यता ग्रहण गर्ने तहमा नेपाली समाज पुग्नैपर्छ । त्यसका लागि सदस्य के का लागि बन्ने भन्ने बिषयले ठूलो अर्थ राख्ने भएकोले एनआरएनले आफुतिर आकर्षित गर्न प्रभावकारी कार्यक्रम दिन सक्नुपर्दछ । अन्यथा अरुद्वारा बनाईएको बनिदिएको मतदाताको मताधिकार पनि अरुद्वारा नै उपयोग हुनु नौलो कुरा भएन । एनआरएनभित्र चल्दै आएको यो सँस्कारमा सुधार आउन जरुरी छ । अन्यथा खुल्ला प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनै सक्दैन र एउटा समुह बिशेषको सीमित घेराभित्र मात्र संस्था कैद हुन पुग्दछ । यसले संस्थालाई फाइदा गर्दैन, यो गम्भीर चिन्ताको बिषय हो ।

एनआरएन अभियानमा लामो समयदेखि जीवन खर्चिदैं आएका जापानका अग्रजहरुबाट यस बिषयमा चिन्ता र चासो कतै नदेखिनु अर्को उदेकलाग्दो कुरो हो । अभियानमा लागेको अहिलेको पुस्ता आजीवन हुनै सक्दैन उसको गहन जिम्मेवारी भनेको अभियानका लागि अझ सक्षम एवं सशक्त अर्को पुस्ता तयार गर्नु पनि हो । उनीहरुका लागि असल स्कुलिङ दिन सकिएन भने आफुले जतिसुकै राम्रा गरेर छोडे पनि त्यसले खासै अर्थ राख्दैन ।

सहमतिको नाममा महत्वपूर्ण पदहरु दलीय भागबण्डाको आधारमा टुंगो लगाई बाँकी रहेका अन्य पदहरुका लागि भएको इ भोटिङ अपेक्षित विवादरहित बन्न सकेन । इ भोटिङको बिश्वसनियता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाईएको छ । निर्बाचन परिणाम स्वीकार्य नहुने घोषणा गर्दै पुननिर्वाचनको मागसहित पराजित सम्पूर्ण उम्मेदवारहरुद्वारा हस्ताक्षरित संयुक्त बिज्ञप्ती जारी गरी बिरोध जनाईएको छ । एनआरएनको इतिहासमा पहिलोचोटी यो हदसम्मको स्थिति आउनु सुखद मान्न सकिदैन । सम्बन्धित पक्षबाट जिम्मेवार ढंगले यसको संबोधन गरिनुपर्ने देखिन्छ । संबेदनशील भएर कमीकमजोरी सच्याएर जाने सन्दर्भमा दुवै पक्ष जिम्मेवार हुन जरुरी छ । पराजित उम्मेदवारहरु पनि बिधि, पद्धती र मर्यादालाई ख्याल गर्दै संयमता अपनाउन जरुरी छ ।

यसरी बनाऔं, हाम्रो र राम्रो एनआरएन

झण्डै पौने लाख नेपालीहरु रहेको जापानमा साझा संस्थाको स्वामित्व लिन प्रयासरत एनआरएन जापान अहिले अधिवेशनपूर्वसन्ध्यामा छ । अधिवेशनबाट एनआरएन जापानको अब बन्ने नयाँ टिम राम्रो र हाम्रो भन्न सकिने अर्थात अपनत्व बोध गर्न सकिने होस् भन्ने धेरैको चाहना छ । अधिवेशन नजिकिदैं गर्दा अहिले विभिन्न पदमा उम्मेदवारीको घोषणा गरिरहेका छन् । दावी गरिएको पदमा आफु सबैभन्दा योग्य, सक्षम रहेको हवाला दिदैं उम्मेदवारीको घोषणा गरिएका छन् । नेतृत्वमा दावी गर्नेहरुले एनआरएन अभियान र यसको मुल उद्देश्य, विगतमा एनसीसी जापानको भूमिका, सहभागिता र योगदानलाई बुझेको हुनु वाञ्छनीय छ ।

एनआरएन जापानको गरिमालाई अरु उकास्न सके धेरै राम्रो, नसके थप खस्कन नदिनका लागि अबको नेतृत्व सबल, सक्षम र सचेत हुनैपर्दछ । अहिले सतहमा देखिएका उम्मेदवारी घोषणाको स्थितिलाई हेर्दा संगठनलाई सुदृढ बनाउन एउटा निश्चीत भिजन लिएर अगाडि बढाउने भन्दा पनि रहर पुरा गर्न घोषणा गरी हेरौं न त भन्ने खालको देखिन्छ । विगतबाट सिक्ने र कमीकमजोरीलाई सच्याउने अवसर पनि हो यसपालीको एनआरएन जापानको अधिवेशन । सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी समानुपातिक उपस्थिति र पदीय काम, कर्त्तब्य, अधिकार क्षेत्र र मर्यादालाई ख्याल गर्दै चुस्त समिति निर्माण गर्ने जिम्मेवारी अहिले जापानबासी सचेत नेपालीहरुको काँधमा आएको छ । यो जिम्मेवारीलाई बुद्धिमत्तापूर्ण ढंगले पुरा गर्न एनआरएन अभियानका अगुवाहरुको भूमिका अझ महत्वपूर्ण हुन्छ । यद्यपि उनीहरुबाट अपेक्षित भूमिका विगतदेखि नै सतहमा देखिन सकेका छैनन् ।

उसो त उम्मेदवारी घोषणा गर्नु नै सबैथोक भने होइन तथापि जिम्मेवारीका हिसाबले एनआरएन जापानको गहन पदहरुलाई हलुकासंग लिईनु विचारणीय पक्ष भने हो । उम्मेदवारीको घोषणा हेर्दा यस्तो लाग्छ एनआरएनको अधिवेशन अब चुनावी अभ्यास गर्ने थलोकोरुपमा परिणत हुँदै छ । प्रकारान्तरणमा यसले समाजलाई के कस्तो असर गर्छ भन्ने कुरो बेलैमा सबैले हेक्का राख्न जरुरी छ । प्रतिबद्धताका नाममा दर्जनौ बूँदाहरु संप्रेषित हुनु पनि कुनै नौलो कुरा भएनन् । यसअघि पनि यस्ता प्रतिबद्धता धेरैको हेरिएकै हो । उम्मेदवारहरुले खोक्रो आश्वासन र उधारो प्रतिबद्धताले जापानका नेपालीको भोट तान्ने प्रयास गर्नुभन्दा यहाँका नेपालीहरुको मन जित्ने काम गरेर देखाउन सके भोट माग्नै पर्दैन आफै दिन आउँछन् ।

जापानभरि छरिएर रहेका नेपालीहरुको मन जित्न एनआरएनले अझै धेरै मिहिनेत गर्न बाँकी छ । प्रथमतः यहाँका धेरैभन्दा धेरै नेपालीहरुलाई यस अभियानमा गोलबन्द गर्न आकर्षक कार्यक्रमहरु ल्याउन जरुरी छ । उनीहरुका साना भन्दा साना समस्या देखि लिएर दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म पुरयाई थप सुदृढ बनाउने खालका कार्य गर्न सक्ने हैसियतमा एनआरएनको कद र उचाई बढाउन जरुरी छ । सोहीअनुरुप एनआरएन जापानले अबको दुई बर्षको कार्यकालमा के गर्ने र के नगर्ने भन्ने बारेमा नयाँ टिमले स्पष्ट खाका ल्याउन जरुरी छ । यो खाका हचुवाको भरमा नभएर थोरै भए पनि पुरा गर्न सकिने तर अति आवश्यक र प्रभावकारी होस, यसका लागि एउटा छुट्टै बिशेष टोली नै बनाएर भए पनि अध्ययन गर्न सकिन्छ । दुई बर्षको कार्ययोजनामा समेटिनुपर्ने कार्यक्रमहरुका बारेमा आवश्यक परे एउटा सार्बजनिक बहस कार्यक्रम राख्न पनि सकिन्छ । त्यसैले अबको नेतृत्व कुशल होस्, समावेशी होस्, ऊर्जाशील होस, जसले गर्दा एनआरएन जापानको सिंगो अनुहारमा जापानबासी सबै नेपालीको अनुहार प्रतिविम्वित हुन सकोस् । ***

 

तपाईको प्रतिक्रिया