शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – अधिवेशन नजिकिदैं गर्दा एनआरएन जापानले मंगलवार निर्वाचन समिति र निर्वाचन कार्यतालिका एकैदिन सार्बजनिक गरेको छ ।
अधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्वसहितको कार्यसमिति गठन प्रक्रिया सम्पन्न गर्न एनआरएन जापानले आइसीसी सदस्य ओम गुरुङको संयोजकत्वमा डा. बेद काफ्ले, डा. भूपालमान श्रेष्ठ, मेघराज नेपाल र पुष्करजंग थापा रहेको ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिमा आवश्यकताअनुसार सदस्य थप्न सकिने बताईएको छ भने निर्बाचन विद्युतीय मतदान प्रणालीमा हुने बताईएको छ ।

निर्वाचन समितिको गठन संगै निर्वाचन कार्यतालिका पनि एकैदिन सार्बजनिक गरेको एनआरएनले उम्मेदवारी शुल्क पनि तोकेको छ ।
एक बिज्ञप्तीमार्फत जानकारी गराईएको निर्बाचन कार्यतालिकाअनुसार अगस्त १ तारिख मतदाता नामावली प्रकाशित, २ र ३ तारिख मतदाता नामावलीमा दाबी बिरोध, ४ तारिख अन्तिम नामावली प्रकाशित, ५ र ६ तारिख उम्मेदवारी दर्ता, ७ तारिख उम्मेदवारीको नामावली प्रकाशन, ८ तारिख उम्मेदवारीमा दावी बिरोध, ९ तारिख उम्मेदवारहरुको नामावली प्रकाशन, १०, ११ र १२ उम्मेदवारी फिर्ता र १३ तारिख उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ । सहमति हुन नसकेको खण्डमा सेप्टेम्वर ३ तारिख निर्वाचन र १० तारिख सपथ ग्रहण तथा हस्तान्तरण कार्यक्रम रहेको छ ।

एनआरएन जापानका अध्यक्ष सुदन थापाद्वारा जारी बिज्ञप्तीमा बिधानतः अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष २, महिला उपाध्यक्ष १, महासचिव १, सचिव १, कोषाध्यक्ष १, सहकोषाध्य १ र १ जना महिला अनिवार्य सहित सदस्य ६ गरी जम्मा १५ जनाको उम्मेदवारी आह्वान गरिएको छ ।

यसैगरी उम्मेदवारी शुल्कको हकमा सदस्यका लागि १ लाख येन, सहकोषाध्यक्षका लागि १ लाख ५० हजार येन, कोषाध्यक्षका लागि २ लाख येन, सचिवका लागि २ लाख ५० हजार येन, महासचिवका लागि ३ लाख येन, उपाध्यक्षका लागि ३ लाख ५० हजार येन, वरिष्ठ उपाध्यक्षका लागि ४ लाख येन, अध्यक्षका लागि ४ लाख ५० हजार येन र आइसीसी सदस्यका लागि ६ लाख येन तोकिएको छ । उम्मेदवारी फिर्ता लिएमा ५० हजार येन कट्टा गरी बाँकी फिर्ता गरिने बिज्ञप्तीमा उल्लेख छ ।
बिज्ञप्तीमा जापानबाट प्रतिनिधित्व हुने आइसीसीको सदस्य संख्या भने उल्लेख छैन ।
निर्वाचन समिति गठन, निर्वाचन कार्यतालिका र उम्मेदवारी शुल्क बारेको जानकारी एकैदिन तर अत्यन्त हतारमा सार्बजनिक गरिएको छ । तोकिएको उम्मेदवारी शुल्क भने अत्यन्त चर्को भएको भन्दै आलोचना हुन थालेको छ ।

निर्वाचन समितिको गठनभएलगत्तै उम्मेदवारी शुल्क निर्धारण सहित निर्वाचन तालिका समेत कार्यसमितिले नै सार्बजनिक गरिनुलाई पनि टिकाटिप्पणी हुन थालेको छ । हरेक दुई वर्षमा एनआरएन जापानको असाध्यै महंगो र सकसपूर्ण निर्वाचन हुने गर्दछ । यसलाई सरलीकरण एवं समयसापेक्ष बनाउन एनआरएन अभियानका अगुवाहरुको समयमै ध्यान जानुपर्ने यहाँका सर्बसाधारण नेपालीहरुको सुझाव छ ।***

तपाईको प्रतिक्रिया